Ad Area

तेश्राे उपमेयर कप छात्रा भलिबलको उपाधि जयशेर माविलाई


घोराही, ११ माघ । घोराही उपमहानगरपालिकाले संचालन गरेको तेश्रो संस्करणको उपमेयर कप छात्रा भलिबल प्रतियोगिता २०७९ को उपाधि जयशेर मावि रावतगाउँले जितेको छ । माघ ६ गतेबाट शुरु भएको विद्यालय स्तरीय छात्रा भलिबलको बुधबार भएको फाईनल खेलमा साविक विजेता पद्मोदय पब्लिक नमुना मावि भरतपुरलाई ३–१ को सेटमा हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
फाईनल खेलमा जयशेरले पद्मोदय माविलाई २५–१४, १५–२५, २७–२५ र २५–२२ को सेटमा पराजित गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलमा जयशेर माविले उपाधि दावेदार पद्मोदयलाई स्तब्ध पारेको हो । प्रतियोगितामा बलियो मानिएको पद्मोदयले फाईनल खेलमा जयशेर माविसँग भने अपेक्षा गरिए अनुसार प्रदर्शन गर्न सकेन ।
कुल १६ विद्यालय सहभागी प्रतियोगितामा समूह ए बाट पद्मोदय र समूह बी बाट जयशेर मावि फाईनल प्रवेश गरेका थिए । यसअघि पद्मोदय माविले पहिलो र दोश्रो संस्करणको उपाधि जितेको थियो । लगातार तीन पटक जित्दै ह्याट्रिक पूरा गर्ने लक्ष्यमा जयशेर माविले यो पटक रोकेको छ । सो विद्यालय गत मंसीर २७ गते सम्पन्न पालिका स्तरीय राष्ट्रपति रनिङ शील्डमा भलिबलतर्फ च्याम्पियन टीम हो ।

समुह ए मा पद्मोदय पब्लिक नमूना मावि भरतपुर, मावि रतनपुर, गंगा मावि रामपुर, महेन्द्र मावि धर्ना, गोरक्ष रत्ननाथ मावि चौघेरा, स्टार बोर्डिङ स्कुल, हापुर मावि निघुवार र मनकामना बोर्डिङ स्कुल रहेका थिए । यस्तै, समुह बी मा ज्ञानसिन्धु मावि घोराही, मावि हापुर बिजौरी, सरस्वती मावि भरतपुर, बालविकास मावि घोराही, मावि रझेना, जयशेर मावि रावतगाउँ र सिद्धरत्ननाथ मावि नारायणपुर रहेका थिए ।
यसअघि पनि पद्मोदय मावि भरतपुरले पहिलो र दोश्रो संस्करणको प्रतियोगिता जितेको थियो । पहिलो संस्करण २०७६ मा गोरखा मावि घोराही र दोश्रो संस्करण २०७७ मा ज्ञानसिन्धु मावि घोराहीलाई फाईनलमा हराउँदै पद्मोदयले उपाधि जितेको थियो ।
विद्यालय तहबाटै छात्राहरुलाई खेल क्षेत्रमा प्रेरित गर्ने लक्ष्यका साथ घोराही उपमहानगरले प्रतियोगिता संचालन गर्दै आएको छ । प्रतियोगिताको उपाधि विजेता जयशेर माविले नगद ५० हजारसहित शील्ड मेडल पाउनेछ । उक्त पुरस्कार नगर स्थापना दिवसको अवसरमा माघ १५ गते एक समारोहबीच हस्तान्तरण गरिने प्रतियोगिता आयोजक कमिटी संयोजक एवम् नगर प्रवक्ता राममणि पाण्डेले जानकारी दिनुभयो ।
उक्त दिन पुस २० गतेदेखि माघ ५ गतेसम्म संचालित पाँचौं संस्करणको मेयर कप फुटबल प्रतियोगिताको विजेता टीमसहित उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत तथा सम्मान गरिने कार्यक्रम तय भएको घोराही उपमहानगरपालिकाले जनाएको छ । पाँचौँ संस्करणको मेयर कपको उपाधि वडा नम्बर १३ ले जितेको छ भने वडा नम्बर १४ उपविजेता बनेको छ ।

Blog Post Ad Blog Post Ad