Ad Area

जिल्लामा उत्पादित तरकारी बाहिर निकासा हुँदा आकाशियो तरकारीको भाउ


घोराही १३, कार्तिक । दाङमा अहिले तरकारीको मुल्य निकै आकाशिएको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा हरियो तरकारीसहित प्याज, आलुलगायतका तरकारीको भाउ बढ्दै गएको थियो । धेरैले दशैंका बेलामा व्यवसायीले तरकारीको मुल्य बढाएका हुनसक्ने अनुमान गरेका थिए । तर, दशैं सकिएर तिहार आँगनमा आईसकेको बेलामा मुल्य बढ्ने सिलसिला रोकिएको छैन ।

शुक्रबार समानान्तर डटकमले घोराहीमा रहेका तरकारी पसलहरुको स्थलगत अनुगमन गर्दा थोकको तुलनामा खुद्रा बजार भाउ तेब्बरसम्म बढेको भेटाएको छ । छिमेकी मुलुक भारतबाट आयात हुने गरेको आलु, प्याजलगायत हरियो तरकारी आउने क्रममा पातलिएपछि अहिले स्थानीय उत्पादनले बजारको माग धान्न नसकेको तरकारी व्यवसायीहरुले बताएका छन् ।

घोराहीस्थित कृषि उपज बजार संचालक समितिको तरकारी बजारमा शुक्रबार हरियो केराउ ३ सय रुपैयाँ प्रतिकेजी, करेला १ सय रुपैयाँ प्रतिकेजी, खुर्सानी १२० रुपैयाँ प्रतिकेजी, प्याज १ सय देखि १२० रुपैयाँ प्रतिकेजीमा बिक्रि भईरहेको थियो । यसैगरी निकै चासोका साथ लिइएको टमाटरको मुल्य अहिले अस्वाभाविक रुपमा बढेको छ । शुक्रबार घोराहीमा १ सय देखि १२० रुपैयाँ प्रतिकेजीमा टमाटर बिक्रि भएको छ । स्थानीय बजारमा गौरव र हेमसोना जातका टमाटर बिक्रि हुने गरेको छ । गौरव भन्दा हेमसोना नामक टमाटर महंगोमा बिक्रि भईरहेको तरकारी व्यवसायी समिति अध्यक्ष विष्णुप्रसाद रिजालले जानकारी दिए।

थोक तरकारीको व्यापार गर्दै आएका रिजालका अनुसार आलु पुरानोतर्फ सेतो आलु ६० रुपैयाँ प्रतिकेजी र रातो आलु ८० रुपैयाँ प्रतिकेजीमा बिक्रि भईरहेको छ । यसैगरी, नयाँ आलु १२० रुपैयाँ प्रतिकेजी, घिउ करेली ७० देखि ८० रुपैयाँ प्रतिकेजी, सिमि १४० रुपैयाँ प्रतिकेजी, कांक्रा सय रुपैयाँ प्रतिकेजी, बन्दागोभी ६० रुपैयाँ प्रतिकेजी, फूलगोभी १२० देखि १४० रुपैयाँ प्रतिकेजी, भान्टा ६० देखि ८० रुपैयाँ प्रतिकेजीमा बिक्रि भईरहेको रिजालको भनाई छ । यो मुल्य दशैँभन्दा अझ बढेको उनी स्वयं स्वीकार गर्छन् ।

तरकारीको मुल्य दिनानुदिन बढ्दै जानुमा स्थानीय उत्पादनको तुलनामा खपत धेरै भएको तरकारी व्यवसायीहरुको भनाई छ । ‘ गाउँबाट तरकारी आउँदा नै बढेको मुल्यमा आउँछ । यसैपनि गाउँबाट भने जति तरकारी आएको छैन, महंगोमा खरिद गरेर बिक्रि गर्नु पर्ने बाध्यता छ, तरकारी व्यवसायी मञ्जु जिसीले भनिन् । उनका अनुसार दशैँको बेलाबाट तरकारीको मुल्य उकालो लागेको हो । ‘धेरैले तरकारी व्यापारीले धेरै नाफा खाए भन्ने ठाने तर त्यसो होईन, खरीद नै महंगो परेपछि बिक्रि पनि महंगोमा गर्नु परेको हो,’ भनिन् । उनका अनुसार कतिपय थोक व्यापारीले आफुले धेरै नाफा जोडेर महंगोमा फुटकरमा बिक्रि गर्ने हुँदा त्यसको असर उपभोक्तामा पर्ने गरेको छ । निम्न आय भएका उपभोक्तालाई तरकारीको मुल्य बढेपछि बढी असर गरेको छ । भारतबाट आउने गरेको तरकारी केही दिनयता प्रसस्त मात्रा आउन पाएको छैन । नेपालमा पहाडी जिल्लाको तरकारी उत्पादन केही दिनयता सकिएको छ । जिल्लामा उत्पादित तरकारीले माग धान्न सकेको छैन ।

Blog Post Ad

खपत अनुसार उत्पादन कम भएपछि माग अनुसारको आपूर्ति नमिल्दा मुल्य बढेको व्यापारीले बताएपनि ग्राहक भने यो मान्न तयार छैनन् । तरकारीको मूल्यमा एक रुपता नहुनु, उही तरकारीको स्टकको दैनिक रुपमा भाउ बढ्नुमा तरकारी व्यापारीबाटै बदमासी हुने गरेको बताउँछन् । यो बेलामा बिचौलिया बढी सलबलाउने हुन्छ । श्रोत केन्द्रबाट सस्तोमा खरीद गरेर ल्याउने र उपभोक्तालाई ढाड सेक्ने गरी मुनाफा जोडेर बिक्रि गर्ने प्रबल सम्भावना हुन्छ । यो बेलामा केही बिचौलियाले यसैगरी गैर ढंगले कारोबार गरिरहेको नाम नबताउने शर्तमा एक खुद्रा व्यापारीले भने ।

हरियो तरकारीको मुल्य छोई सक्नु छैन, अस्तिभन्दा हिजो, हिजोभन्दा आज दिनप्रतिदिन मुल्य आकाशिएको छ । किन यसरी मूल्य बढेको हो भन्ने बारे सरोकार निकायले बेलैमा चासो नलिँदा उपभोक्ता मारमा परेको तरकारी खरीद गर्न पुगेकी घोराही १४ की माया केसीले दुखेसो पोखिन् । यस्तै, अर्का घोराही १८ का मुकेश शर्माले पनि तरकारीको मुल्य दैनिक रुपमा बढ्दै जाँदा पनि स्थानीय सरकार, उद्योग वाणिज्य संघ, नियामक निकायले चासो नलिएको आरोप लगाए । ‘अरु सबै चल्छ तर भान्सामा एक दिन खाना पाकेन भने समस्या पर्छ, जहाँ अत्यावश्यक रुपमा तरकारी चाहिन्छ अक त्यहीँ कालो बजारी भएको छ । यो त जनताको ढाड सेक्ने काम भयो,’ तरकारी किन्दै गरेका अर्का रमेश बस्नेतले आक्रोश हुँदै भने ।

स्थानीय बजारले दैनिक कति मात्रामा तरकारी खपत गर्छ भन्ने विवरण कुनै निकायसँग छैन । माग अनुसारको आपूर्ति सन्तुलन मिलाउने जिम्मा कसको हो ? चाडपर्वका बेला उपभोग्य बस्तुको खपत बढेपनि अन्य समयमा सरदर खपदको अवस्था यकिन गर्नुपर्ने उपभोक्ता बताउँछन् । स्थानीयको माग अनुसार तरकारीको खपत बढेर गएको छ, जिल्लामै तरकारी उत्पादनमा केही समययता ह्रास आएको छ । जसले गर्दा तरकारीको मुल्य आकाशिँदै गएको कृषि उपज बजार संचालक समितिका अध्यक्ष गुलाम रसुलले जानकारी दिए । उनले दशैँभन्दा अहिले तरकारीको मुल्य निकै बढेको स्वीकार गरे । यसो हुनुमा तरकारी व्यापारीले मुनाफा धेरै गरे भन्ने होईन, खरीद मुल्य बढेर आउँदा स्वाभाविक रुपमा ग्राहकलाई आर्थिक भार परेको बताए । अब यसको असर तिहारपछि सम्मपनि जारी रहन सक्ने उनको अनुमान छ ।

केही दिन अघि बेमौसमी वर्षाले तरकारी खेतीमा गरेको क्षति र असर अहिले बजारमा देखा परेको तरकारी व्यवसायी बताउँछन् । तरकारी उत्पादनमा बेमौसमी वर्षाले धक्का लाग्दा बजारमा यसको असर प्रत्यक्ष देखिएको हो । जसका कारण माग अनुसार तरकारी आपूर्ति हुन सकेको छैन । गाउँबाट दैनिक रुपमा खुुद्रा रुपमा बिक्रीका लागि आउनेहरुले घुमुवा तरकारी बिक्रेताले पनि चर्को मुल्य लगाउने गरेका स्थानीयको गुनासो छ । सबैभन्दा महंगो कहिले बिक्री भएको हो त्यही मुल्य आफु खुशी तोकेर घरघरमा पुगेर तरकारी बेच्ने गरेका छन् । केही दिनअघिसम्म मुठाको ३ देखि ५ रुपैयाँ पर्ने सागको मुल्य अहिले १० रुपैयाँमा पनि पाउन गाह्रो भएको उपभोक्ताको दुखेसो छ ।

अहिले सबैले निकै चासोका साथ लिएको तरकारी हो, टमाटर । जिल्लामा उत्पादित टमाटरको माग अनुसार उत्पादन भईरहेको बताउने गरेका कृषकले यहाँको बजारलाई प्राथमिकता दिएका छैनन् । उनीहरुले बाहिरी जिल्लामा राम्रो मुल्य पाएको भन्दै यहाँको मागलाई बेवास्ता गर्दै धमाधम बाहिर निर्यात गर्ने गरेको पाइएको छ । पहाडी जिल्लाबाट अहिले दाङमा तरकारी आउन छाडेको छ । उत्पादन सकिएकाले अहिले तरकारी नआएको थोक व्यापारी बताउँछन् । जिल्लाको घोराही १८ स्थित मसिना, २ को रामपुरलगायतका स्थानमा उत्पादित टमाटर र तरकारीले घोराहीभन्दा बाहिरी जिल्लालाई प्राथमिकता दिएको छ ।

अहिले दैनिक जसो ठूलो मात्रामा पोखरा, बुटवल, चितवनलगायतका ठाउँमा दाङबाट तरकारी निर्यात हुने गरेको छ । यहाँको स्थानीय बजारलाई खासै चासो नदिएको हुँदा बजारमा तरकारीको अभाव देखा पर्दै गएकाले दैनिक रुपमा मुल्य आकाशिँदै गएको हो । ‘वर्षाका कारण भारतमा उत्पादन प्रभावित भयो, जिल्लामा खपत बढ्यो, यहाँका तरकारी उत्पादकले बढी नाफा कमाउने लोभमा स्थानीय बजारलाई प्राथमिकता दिएनन्, यसले पनि अहिलेको असन्तुलनको असर उपभोक्ताको भान्सासम्म आईपुगेको हो ।

तर, उपभोक्ता अधिकारकर्मी भने सरकारका नियमनकारी निकायले बजार हस्तक्षेप गर्न नसक्ने र बजार व्यापारी नियन्त्रित हुँदा उपभोक्ता मारमा परेको बताउँछन् । तरकारी मात्र नभई यहाँ खाद्यान्न, तरकारी, फलफूल, निर्माण सामग्री, लत्ताकपडा लगायतको भाउमा मनपरी बढेको उनीहरुको ठहर छ । नियमनकारी निकायहरू मिडियामा समाचार आएपछि मात्रै बजारको औपचारिक अवलोकनमा जाने, कैफियत भेटिएमा सानातिनालाई जरिवाना गर्ने र ठूलामा जाँदै नजाने परिपाटीले पनि समस्या हुने गरेको छ । बजारमा तरकारीको आपूर्तिमा देखिएको असन्तुलनको प्रभाव लामो समयसम्म पर्ने तरकारी व्यवसायीले बताई रहँदा अब यसको निकासका लागि बेलैमा सरोकार निकायले तदारुकता नदेखाउने हो भने तरकारी खरीद गर्नै नसक्ने गरी महंगिने धेरैले उपभोक्ताले अनुमान गरेका छन् ।

बेमौसमी वर्षाका कारण तरकारी उत्पादनमा ह्रास आएको कारण देखाउँदै बिचौलिया सलबलाउने सम्भावना पनि उच्च रहेको हुँदा बेलैमा उपभोक्ता अधिकारकर्मी, नागरिक समाज, स्थानीय सरकारले समस्या समाधानमा चासो देखाउन स्थानीयको अपिल छ । मुखैमा आएको तिहारका बेलामा तरकारी, फलफूल, खाद्यान्नको खपत बढ्ने हुँदा माग र आपूर्तिको सन्तुलन मिलाउन जिल्लाबासीले सम्वद्ध निकायलाई आग्रह गरेका छन् ।

Blog Post Ad Blog Post Ad