Ad Area

युद्ध भुल्दै, पर्यटक तान्दै जेलवाङ


जेलवाङ, १३ कार्तिक । तात्कालीन सरकार र माओवादी विद्रोहीबीच दशवर्षे सशस्त्र युद्धमा सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको बस्ती हो रोल्पाको जेलवाङ । रोल्पाको सुनछाहारी गाउँपालिका वडा नं. ७ मा पर्ने जेलवाङ साविकको एउटा गाउँ विकास समितिका रूपमा थियो ।

देश संघीय संरचनामा जाँदा तत्कालीन जेलवाङ गाविस अहिले एउटा वडामा सीमित बनेको छ । सशस्त्र द्वन्द्वमा सरकार र नेकपा माओवादी पक्षबाट जेलवाङका ७३ जनाले ज्यान गुमाएका थिए ।

जसमा माओवादी तर्फबाट दश जना र सरकार पक्षबाट ६३ जना मारिएका हुुन् । ज्यान गुमाउनेमा चार वर्षीय बालकदेखि बोल्न नसक्ने अपाङ्ग, महिलाहरूसहित निर्दोष नागरिक मारिनुपरेको थियो । देशको परिवर्तनका लागि ठूलो क्षति व्यहोरेका जेलवाङबासीले भने क्षति अनुसारको परिवर्तनको अनुभूति गर्न नपाएको बताउँछन् । परिवर्तनका निम्ति सबैभन्दा धेरै क्षति व्यहोरेको गाउँलाई परिवर्तनका लागि लड्नेहरूले नै भुलेको स्थानीयको आरोप छ ।

अहिले त्यही ऐतिहासिक जेलवाङ गाउँलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने काम भइरहेको छ । सशस्त्रमा धेरैले बलिदानी गर्ने गाउँको अध्ययन अनुसन्धानसँगै स्थानीय भाषा, संस्कृति, फलामखानीलाई रोल्पाको प्रसिद्ध पर्यटकीय केन्द्र जलजलासँग जोडेर विकासका लागि काम भइरहेको छ । जसले गर्दा जेलबाङको अध्ययनसँगै जलजला पुग्नका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू जेलवाङ पुग्ने गरेका छन् ।

जेलवाङ गाउँको विकाससँगै परिवर्तनका लागि ज्यान गुमाउनेहरूको सम्झनामा गाउँमा केही देखिने काम गरिदिए हुन्थ्यो भन्ने स्थानीयले माग गर्दै आए पनि सुनुवाई नभएको बताउँछन् । लामो समय द्वन्द्वको पीडा खेपेको जेलवाङ पहिलेको तुलनामा अहिले परिवर्तन भए पनि अपेक्षा गरिएअनुसार विकास हुन नसकेको स्थानीय मनप्रसाद रोका बताउँछन् । ‘दश वर्ष अघिको तुलनामा अहिले गाउँमा केही परिवर्तन भएको छ’, उनले भने, ‘तर स्थानीयले परिवर्तनको अनुभूति भने हुन सकेन ।’ गाउँ पुग्नका लागि कच्ची बाटो बनेको छ । गाउँमै उत्पादन भएको बिजुली बत्तीले गाउँ झिलिमिली हुने गरेको छ । प्राथमिक तह पढाइ हुने विद्यालय स्तरोन्नति हुँदै माध्यमिक तहसम्म पढाइ हुने भएको छ । गाउँमै प्राथमिक उपचार स्थानीयले पाउने व्यवस्था भए पनि बाटोको अवस्था अहिले राम्रो नभएको स्थानीय मनप्रसाद रोका बताउँछन् ।

Blog Post Ad

स्थानीयबासीको अहिलेको आवश्यकता बाह्रै महिना मोटर चल्ने बाटो भए पनि त्यो बन्न नसकेको उनले बताए । ‘बाटो त बनेको छ तर खोलामा पुल नहुँदा गाडीहरू गाउँसम्म आउन सक्दैनन्’, उनले भने, ‘जेलवाङ र नयाँ बस्तीलाई जोड्ने खोलामा पक्की पुलसँगै बाटो निर्माण भए गाउँसम्म मोटर आउने थिए तर त्यो हुन सकेको छैन ।’ सशस्त्र द्वन्द्वका दृष्टिले ऐतिहासिक गाउँलाई मोटरबाटोसँग जोडिदिए हुन्थ्यो भन्ने स्थानीयको चाहना छ । त्यसो त जेलबाङबासीका राज्य तथा माओवादी नेताहरूसँग धेरै गुनासाहरू छन् । सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेहरूको सम्झनामा गाउँमा सम्झन लायक केही गरिदिए हुन्थ्यो भन्ने छ ।

गाउँमा मोटर बाटोका लागि खोलामा पुल, गाउँमै उच्च शिक्षा, स्तरीय स्वास्थ्य सेवालगायतका सेवाहरू स्थानीयले गाउँमै पाउनसके राम्रो हुने मनप्रसाद बताउँछन् । तर द्वन्द्व सकिएर शान्ति प्रक्रियामा सुरु भएपछि तत्कालीन विद्रोही पक्ष पटक–पटक सरकारमा पुगिसक्दा पनि नेताहरूले जनयुद्धको ऐतिहासिक गाउँलाई भुलेको स्थानीयको गुनासो छ । राज्यले मृतकको नाममा दश लाख रूपैयाँभन्दा अरु केही दिन नसकेको उनीहरूको दुःखेसो छ ।

पर्यटन प्रर्वद्धनका लागि होम–स्टे जेलबाङका दलबहादुर सुनार साढे आठ वर्ष विदेश बसे । गरिबीसँगै सशस्त्र द्वन्द्वका क्रममा गाउँघरमा बस्ने वातावरण नभएपछि उनी रोजगारीका लागि भारतसँगै साउदी अरब र दुबईमा गरी करिब साढे आठ वर्ष श्रम गरे । घरको कमजोर आर्थिक अवस्थाका कारण लामो समय विदेशमा श्रम गरेका दलबहादुर अहिले भने आफ्नै गाउँमा केही गरौँ भन्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याएका छन् । विदेशबाट फर्किएर चार वर्ष पहिले गाउँमा होटेल सञ्चालन गरेका उनले विदेशमा अनेकौँ दुःख पाएपछि स्वदेश फर्किएर आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच अनुरूप सुरुमा होटेल सञ्चालन गरे पनि दुई वर्ष यता होम–स्टे सुरु गरेको उनी बताउँछन् ।

दुई वर्ष अघि सुरु गरेको होमस्टेबाट राम्रो आम्दानी समेत गर्न थालेका छन् । ‘विदेशमा धेरै दुःख पाएपछि चार वर्ष अघि स्वदेश फकिएँ, त्यसपछि गाउँमा रहेको सहकारीबाट ऋण लिएर सुरुमा होटेल सञ्चालन गरेको थिए’, दलबहादुर भने, ‘तर पछि स्थानीयको सल्लाह सुझावअनुसार होमस्टेका रूपमा अघि बढाएको छु ।’ घुमफिरसँगै अध्ययनका लागि जेलबाङमा मानिसहरू आउने क्रम बढ्दै गर्दा कोरोना संक्रमण देखिएपछि दुई वर्ष करिब–करिब सुनसान नै भएको उनी बताउँछन् । तर केही मानिसहरू जेलबाङसँगै जलजला पुग्नका लागि आउने गरेको बताए । अब भने फेरि जेलबाङले पाहुनाका लागि निम्तो दिएको छ । किनकि कोरोनाको कहर अब समाप्तप्रायः भएको छ ।

जेलबाङ होमस्टेमा आउने पाहुनाहरूलाई स्थानीय परिकारका रूपमा ढिडो, लोकल भाले, सिस्नुको सागलगायतका पाहुनाको इच्छाअनुसार व्यवस्था गरिने बताए । ‘सानो लगानीबाट सुरु गरेको होमस्टे विस्तारै बढ्दै गएको छ, आफ्नै ठाउँमा काम गर्न पाउँदा खुशी छु’, उनले भने, ‘होमस्टेमा पाहुनाको चाहनाअनुसारको स्थानीय परिकारको व्यवस्था गर्ने गरेका छौँ ।’ उनले बाटोको समस्याका कारण पनि जेलवाङ पुग्नका लागि वर्षातको समयमा समस्या हुने गरेको बताए । उनी मात्र होइन जेलबाङलाई पर्यटकीय क्षेत्रका रूपमा अघि बढाउनका लागि सातवटा होमस्ते सञ्चालन गरिएको पर्यटन प्रबद्र्धन तथा गेमी होमस्टे संस्थाका अध्यक्ष पृथ्वी पुनले बताए ।

दश वर्षीय सशस्त्र द्वन्द्वका क्रममा सबैभन्दा मानवीय क्षति पुगेको गाउँलाई विकाससँगै जेलवाङको मौलिक सस्कृति र पहिचानको संरक्षण गर्दै जलजला र थवाङसँग जोड्ने गरी संस्थाले काम गरिरहेको उनी बताउँछन् । त्यससँगै जेलवाङको ऐतिहासिक अर्काे विशेष भनेको फलाम खानी समेत रहेकाले फलाम खानीलाई समेत पर्यटनसँग जोडेर विकास गर्न सकिने उनले बताए । जलजलासँगै थवाङ र रुकुमको तक्सेरा र बाग्लुङको ढोरपाटन पुग्ने आधार शिविरका रूपमा समेत जेलवाङलाई विकास गर्न सकिने अध्यक्ष पुन बताउँछन् । ‘जेलवाङ रोल्पाको मात्र नभएर सशस्त्र द्वन्द्वका क्रममा धेरै जनताले बलिदानी गर्ने ऐतिहासिक थलो हो । युद्ध पर्यटनका हिसाबले यहाँ धेरै अध्ययनका विषयहरू छन्’, अध्यक्ष पुनले भने, ‘जेलवाङका ऐतिहासिकतासँगै धार्मिक पर्यटनका रूपमा चर्चित जलजला, थवाङ र ढोरपाटनलाई जोडेर विकास गर्न सकिन्छ ।’

त्यसका लागि रोल्पाका जनप्रतिनिधिसँगै तीनै तहका सरकारहरूले ध्यान दिन आवश्यक रहेको उनले बताए । सशस्त्र द्वन्द्वका क्रममा गाउँबाट विस्थापित भएर लामो समय भारतमा माउण्टेन गाइडका रूपमा काम गरेका अध्यक्ष पुनले अहिले माओवादी सशस्त्र द्वन्द्वका क्रममा ठूलो मानवीय क्षति व्यहोरेको जेलवाङ गाउँलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न अघि बढेका छन् । उनकाअनुसार नेपालका पहाडी क्षेत्रको अध्ययन गर्दै जेलवाङलाई जलजला–भावाङ–तकसेरा–ढोरपाटन हुँदै म्याग्दीसम्म रुट बनाएर काम गर्न सकिने बताए ।

‘सशस्त्र द्वन्द्वमा सबैभन्दा मानवीय क्षति भएको गाउँ, मगर र दलित समुदायको मात्र बस्ती, फलाम खानीको गाउँ, सरकार र विद्रोही पक्षहरू लडेका र हिडेको गुरिल्ला ट्रयाकसँगै जेलवाङका धेरै आफ्नै मौलिक तथा सांस्कृतिक विशेषताहरू रहेका छन्’, अध्यक्ष पुनले भने, ‘जेलवाङका यी विशेषताहरूसँगै यसलाई अन्य रोल्पाका धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलहरूसँग जोडेर अघि बढाउन आवश्यक छ ।’ त्यसका लागि स्थानीय सरकार सकारात्मक रहेको र होमस्टे सञ्चालनका लागि सहयोग समेत गरेको उनले बताए । तर सानो बजेटका कारण पहाडी क्षेत्रमा काम गर्न अप्ठेरो रहेको उनी बताउँछन् ।

त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने र यो क्षेत्रमा स्थानीय, प्रदेश र संघीय सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूले ध्यान दिनुपर्ने उनी बताउँछन् । जेलवाङमा पर्यटक ल्याउनका लागि आवश्यक भौतिक पूर्वाधारको विकाससँगै प्रचारप्रसार गर्नसके यस क्षेत्रसँगै जलजला, थवाङ, पूर्वी रुकुमको तकसेरासम्म पुग्ने आन्तरिक तथा वाह्य पर्यटकहरूलाई तान्न सकिने स्थानीय बताउँछन् ।

Blog Post Ad Blog Post Ad