Ad Area

प्रदेश राजधानी सार्ने होईन, कार्यान्वयन हुन्छ : मुख्यमन्त्री गिरी


घोराही, १५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ की भन्ने भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभएको छ । दाङको घोराही उपमहानगरपालिकाको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री गिरीले राजधानी फर्किनेभन्दा पनि उचित कार्यान्वयनको प्रक्रिया अघि बढेको बताउनुभएको हो ।

मुख्यमन्त्री गिरीले दाङको देउखुरीस्थीत राप्ती उपत्यकामा प्रदेश राजधानी कार्यान्वयनको प्रक्रिया अघि बढेको भन्दै अव फेरी बुटवल नसर्नेमा सबैलाई ढुक्क हुन आग्रह गर्नुभएको थियो । ‘कसैकसैलाई अझै पनि भ्रम छ । कि फेरी राजधानी बुटवलमै फर्कन्छ कि भनेर’,मुख्यमन्त्री गिरीले भन्नुभयोे,‘स्थायी केन्द्रमा आइसकेको प्रदेश राजधानी अब फर्कदैन । तपाईहरु ढुक्क हुनुस् । अब राजधानी दाङमा हुन्छ ।’ प्रदेशको स्थायी केन्द्रमा आइसकेको राजधानीलाई कार्यान्वयनका लागि सवैले मिलेर सहयोग गर्नुपर्ने समेत उहाँको भनाई थियो ।

विगतमा प्रदेशसभाले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राप्ती उपत्यकामा स्थापना गर्ने निर्णयलाई भौतिक रुपमा कार्यान्वयन गर्नका लागि भौतिक पूर्वाधारहरु निर्माणका लागि केही समय लागेपनि विस्तारै पुरा हुने मुख्यमन्त्री गिरीले बताउनुभएको थियो । ‘हिजो बुटवलमा बसेर देउखुरीमा काम गर्ने अवस्था थियो । तर हामीलाई बुटवलमा बसेर यहाँको राजधानी निर्माण गर्न सकिँदैन भन्ने लाग्यो’, मुख्यमन्त्री गिरीले भन्नुभयो,‘त्यसैले अहिले हामी देउखुरीबाट प्रदेश सरकारले प्रदान गरेको सबै खाले कामकारवाहीदेखि लिएर राजधानी निर्माणलगायत प्रदेश सरकारको कामकाज शुरु गर्न सबै मन्त्रालय देउखुरीमै राख्ने गरी संयोजन गर्न थालेका छौँ ।’

त्यसैगरी मुख्यमन्त्री गिरीले घोराही–तुलसीपुर चारलेन सडक पूर्वाधार विकासको कामलाई पूर्णता दिन प्रदेश सरकार गम्भीर रुपमा अघि बढेको बताउनु भएको थियो । ‘जिल्लाकै प्रमुख बाटोले निम्त्याएको समस्याका बारेमा हामीले नजिकबाट बुझेका छौँ’, मुख्यमन्त्री गिरीले भन्नुभयोे,‘बाटोका लागि प्रदेश सरकारको आफै पहल गरिरहेको छ । संघीय सरकारसँग बजेटको व्यवस्थापन गरेर स्थानीय सरकारसँग समन्वय गरेर निर्माण कार्यलाई पूर्णता दिने छौ ।’ संघीयताको स्थायी कार्यान्वयनका लागि नयाँ ठाउँमा ल्याइएको राजधानीको कार्यान्वयनका लागि सवैलाई सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योदान पुर्याएको भन्दै दर्जनौ व्यक्ति तथा संस्थालाई पनि सम्मान गरिएको थियो । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको सभाअध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमखु एवम् प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उपप्रमु्ख हुमा डिसीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad