Ad Area

‘कुष्ठरोग संक्रमणको जोखिम धेरै, सावधानी कम’


७०औं कुष्ठरोग दिवस
दाङ, १६ माघ । राज्यको बेवास्ताका कारण कृष्ठरोगको संक्रमण बढ्नसक्ने धेरै जोखिम रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । ७०औँ कुष्ठरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले दाङमा कुष्ठरोगको संक्रमणको जोखिम धेरै भए पनि रोग नियन्त्रणका लागि सावधानी अन्त्य कम भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका छाला, चर्म तथा यौन रोग विशेषज्ञ डा नारायण झाले जिल्लामा कुष्ठरोग फैलन सक्ने संक्रमणको जोखिम धेरै रहेको बताए । ‘सामाजिक विभेद र लान्छनाका कारण बिरामीहरू खुल्नसक्ने अवस्था छैन’, डा झाले भने, ‘अस्पतालमा आएका बिरामीहरूको मात्रै चेकजाँच हुने गरेको छ ।’

नेपालमा कुष्ठरोग उन्मुलन भए पनि भारतसँगको खुल्ला सीमाना र दाङसँग सीमा जोडिएका अन्य जिल्लाहरूमा संक्रमणको संख्या रहेकाले दाङमा पनि जोखिम उच्च रहेको बताए । कुष्ठरोग नियन्त्रणका लागि सचेतनासँगै राज्यका तीन तहकै सरकारले बिरामी रहेका बस्तीहरूका अन्य मानिससँग स्वास्थ्य जाँच गर्न आवश्यक रहेको बताए । ‘सरकारले रोग उन्मुलन भइसकाले खासै रोग नियन्त्रणका लागि लगानी गरेको देखिँदैन’, उनले भने, ‘तर बिरामीहरूको संख्या देखिरहेको छ ।’

जिल्लामा कुष्ठरोग बिरामी २० जना

चालु आर्थिक वर्षको हालसम्म जिल्लाका कुष्ठरोगको औषधी सेवन गर्ने नियमित बिरामीको संख्या २० जना रहेको छ । गत आर्थिक वर्षको तथ्याङ्कअनुसार जिल्लामा बिरामीहरूको संख्या २२ जना रहेको थियो । नियमित औषधी खाए बिरामीहरू निको हुने भएकाले बिरामीको संख्या थपघट हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । औषधी सेवन गरिरहेका २० जना बिरामीहरू मध्य करिब आधा बिरामी नयाँ रहेका स्वास्थ्य कार्यालय दाङ क्षय तथा कुष्ठरोगका फोकल फर्सन डम्बर कुँवरले जानकारी दिएका छन् ।

कुँवरकाअनुसार कुष्ठरोगका घोराही उपमहानगरपालिकामा ८ जना, गढवा र दंगीशरण गाउँपालिकामा ३÷३ जना, राजपुर गाउँपालिकामा २ जना, तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र राजपुर गाउँपालिकामा १÷२ जना बिरामीले नियमित औषधी खाइरहेका छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार देशभर कुष्ठरोगको उपचार गराइरहेका बिरामीको संख्या २ हजार ३ सय ७३ रहेको छ । उनीहरूमध्ये २ हजार २ सय ८५ जना नयाँ बिरामीहरू छन् ।

Blog Post Ad

उनीहरू बिरामी भएपछि अस्पताल आएर चेक गराउँदा देखिएका बिरामीहरूको संख्या भएको भन्दै फोकल पर्सन कुँवरले सामाजिक विभेद र लाच्छनाका कारण खुल्न नसक्ने बिरामीको संख्या धेरै हुन नसक्ने जोखिम रहेको बताए । घोराहीका ८ जना बिरामीमध्ये राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नियमित औषधी सेवन गरिरहेका बिरामीहरू हुन् ।

उनकाअनुसार जिल्लामा कुष्ठरोगको संक्रमण जोखिम धेरै रहे पनि रोगलाई नियन्त्रणका लागि सावधानी अत्यन्त कम रहेको बताए । ‘जिल्लामा कुष्ठरोगको संक्रमणको जोखिम धेरै छ । बिरामीहरू पनि भेटिरहेका छन्’, निमित्त कार्यालय प्रमुख समेत रहेका कुँवरले भने, ‘तर रोग नियन्त्रणका लागि सावधानीको कमी छ ।’

नियमित्त औषधी खाएर निको भएका बिरामीहरूलाई जिल्ला स्वास्थ्य कार्यालयले सम्मान सहित एक हजार रूपैयाँ यातायात खर्चका रूपमा बिरामीलाई दिँदै आएको कुँवरले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले गरेका थिए ।

Blog Post Ad Blog Post Ad