Ad Area

गुरुकुल एकेडेमीमा मिनि ओलम्पिक शुरु


घोराही, १६ माघ । विद्यालय स्थापनाकालबााटै शिक्षा क्षेत्रमा प्रभाव जमाउन सफल गुरुकुल एकेडेमी घोराहीले आठौ वार्षिकोत्सवको अवसरमा पाँच दिने मिनि ओलम्पिक आयोजना शुरु गरेको छ ।

एकेडेमीका प्रिन्सिपल डा कृष्णराज डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकि उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा आज सोमबार एक कार्यक्रम गरि पाँच दिने खेलकुद गतिविधिसहित मिनि ओलम्पिक शुरु गरिएको हो ।

सो अवसरमा, प्रमुख अतिथि डिसीले विद्यालय स्तरबाट नियमित शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराउन सकेमा स्वस्थ नागरिक उत्पादन मात्रै नभई व्यवहारिक शिक्षामा पनि योगदान पुग्ने बताउनुभयो ।

शिक्षा क्षेत्रको विकासमा संस्थागत विद्यालयले खेल्दै आएको भुमिकाका कारण थुप्रै दक्ष जनशक्ति उत्पादन हुन सम्भव भएको बताउँदै उपप्रमुख डिसीले गुरुकुल एकेडेमीले दाङको शिक्षा क्षेत्रमा पहिचान स्थापित गर्न सफल विद्यालयका रुपमा रहेको विश्वास व्यक्त गर्नुभयो । बालबालिकाको सर्वाङ्गिण विकासका लागि अतिरिक्त कृयाकलाप अत्यन्तै आवश्यक रहेको हुँदा मिनि ओलम्पिक कार्यक्रमले उनीहरुको आत्मविश्वास बढाउन भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सविन प्रियासनले शिक्षासँगै अतिरिक्त कृयाकलापमा बालबालिकालाई सहभागी गराएर उनीहरुको चौतर्फी विकासमा गुरुकुलले गर्दै आएको प्रयास निकै सराहनीय रहेको बताउनुभयो । विद्यालय स्थापनाको छोटो समयमा बालबालिका र अभिभावकको मन जित्दै गुणस्तरीय एवम् व्यवहारिक शिक्षामा जोड दिएको एकेडेमीले जिल्ला स्तरमा आफुलाई अब्बल बनाउँदै लगेको हुँदा आगामी दिनमा देशकै प्रतिष्ठित शिक्षालय बनाउन तर्फ विद्यालय प्रशासनलाई सुझाव दिनुभयो ।

भरतपुर खेल मैदानमा आयोजित औपचारिक कार्यक्रम पश्चात् खेल शुरुभएको हो । औपचारिक कार्यक्रमको सहजीकरण प्रवक्ता तथा नेपाली विषय विभागीय प्रमुख विवेक देवकोटाले गर्नुभएको थियो ।

Blog Post Ad

आगामी २० गतेसम्म हुने मिनि ओलम्पिकमा ज्याभलिङ थ्रो, लङ जम्प, सटपुट, १०० र २०० मिटर दौड, चेस, फुटसल, बास्केट बल, भलिबल, टेबल टेनिस, क्रिकेटलगायत खेल भईरहेको छ ।

आज पहिलो दिन ज्याभलिङ थ्रो, लङ जम्प, सटपुट, १०० र २०० मिटर दौड, चेस खेल हुने खेल तथा अनुशासन संयोजक वाङ्डी भुटीयाले जानकारी दिनुभयो । गुरुकुल एकेडेमीमा आफ्नो ८ औँ वार्षिकोत्सव माघ २२ गते मनाउने तयारी गरेको छ ।

Blog Post Ad Blog Post Ad