Ad Area

‘मातृभाषा संरक्षणमा समुदायकै चासो’


दाङ, १९ माघ । मातृभाषा संरक्षणका लागि स्वयम् समुदायका मानिसहरू नै जागरुक हुनुपर्ने वक्ताहरूले जोड दिएका छन् । भाषा आयोगको आयोजनामा घोराहीमा भएको लुम्बिनी प्रदेशमा बोलिने थारू भाषाका भौगोलिक भेदहरूसम्बन्धी अध्ययनका लागि गरिएको अन्तत्र्रिmया कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरूले भातृभाषा संरक्षण र विकासका लागि सम्बन्धित समुदाय मानिसहरू जागरुक हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले सम्बन्धित समुदायको अग्रसरता बिना मातृभाषाको संरक्षण र विकास हुन नसक्ने बताइन् । नेपाली भाषासँगै बाह्य भाषाको प्रभावका कारण मातृभाषा संकटमा परेको उनले बताइन् ।

‘भातृभाषाका रूपमा रहेको थारू भाषाको संरक्षणसँगै विकास गर्नुपर्ने अवस्था आएको छ तर हिन्दी भाषा कार्टुनका माध्यमबाट बच्चाहरूले आफै सिकिरहेका छन्’, डिसीले भनिन्, ‘यस्तो चुनौतीपूर्ण अवस्थामा मातृभााषाको संरक्षणका लागि सम्बन्धित समुदाय जागरुक हुन आवश्यक छ ।’ उपप्रमुख डिसीले अंग्रेजी भाषा सिकाउने अभिभावकको चाहना र सामाजिक सञ्जालमा हिन्दी कार्टुनलगायत सिरियल हेर्ने बालबालिकाको चाहनाअनुसार भातृभाषा थप संकटमा पर्ने गरेको बताइन् ।

थारू भाषाको संरक्षण र विकासका लागि घोराही उपमहानगरपालिकाले थारू भाषाको संरक्षणका लागि विद्यालयमा पठनपाठनका लागि पहल गरिरहेको बताइन् । ‘घोराही उपमहानगरपालिका बहुसंख्यक थारू भाषा बोलिने ठाउँ हो । त्यसैले यहाँ थारू भाषाको पठनपाठन हुनुपर्छ भनेर पठनपाठनका लागि प्रक्रिया अघि बढाएका छौँ’, उनले भनिन्, ‘त्यसका लागि अहिले पाठ्यपुस्तक बन्ने काम भइरहेको छ ।’

कार्यक्रममा थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले मातृभाषा संरक्षण र विकासका लागि सरकारले चासो दिनुपर्ने बताए । उनले बहुसंख्यक थारू समुदाय रहेको लुम्बिनी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने भए पनि सरकारले नै चासो नदिएको बताएका थिए । ‘भाषा आयोगले सिफारिस गरेपछि प्रदेश सरकारले थारू र अवधि भाषालाई कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउन चासो दिनुपर्छ’, अध्यक्ष चौधरीले भने, ‘तर भाषाले भौगोलिक भेदहरूलगायतका विभिन्न कारण देखाएर अलमलाउने काम गर्नु हुँदैन ।’

कार्यक्रममा थारू भाषाका बुद्धिजीवी अशोक चौधरीले मातृभाषाका रूपमा रहेको थारू भाषा संरक्षण र विकासका लागि सरकारसँगै सम्बन्धित समुदायको चासो हुनुपर्ने बताए । भाषा आयोगले लामो समय अध्ययन र छलफलका माध्यमबाट प्रदेशमा कामकाजी भाषाका रूपमा थारूसँगै अवधि भाषालाई सिफारिस गरेको भन्दै सरकाले त्यसलाई कार्यान्वयन गरेर भाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताएका थिए । भाषा आयोगका सदस्य डा. अमर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, छविलाल कोपीलालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।

भाषा आयोगका उपसचिव माधव दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भाषा आयोगका अर्का उपसचिव कमला भण्डारीले गरेकी थिइन् । कार्यक्रममा लुम्बिनी प्रदेशमा थारू भाषाको भौगोलिक भेदका बारेमा भाषाविज्ञ तथा अनुसन्धानकर्ता डा तारामणि राई, दिवस राई र अमृत योञ्जनतामाङले सहजीकरण गरेका थिए ।