Ad Area

सिडिओलाई सुझाव : बोर्डर सुरक्षादेखि आरक्षण सिटसम्म


दाङ, २०माघ । भर्खरै सरुवा भएर कार्यभार सम्हाल्न दाङ आएका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यलाई सञ्चारकर्मीहरूले सुझावै सुझावका चाङ पस्किएका छन् । प्रमुख जिल्ला अधिकारी वैद्यले जिम्मेवारी सम्हालेपछिको पहिलो पत्रकार भेटघाट कार्यक्रममा दाङ जिल्लाका पत्रकारहरूले दाङ जिल्लाको सीमा सुरक्षादेखि सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई आरक्षण सिट कार्यान्वयनसम्मका सुझाव दिएका छन् ।

दाङ जिल्लाको कम्तिमा ७० किमीभन्दा बढी भू–भाग भारतीय सीमासँग जोडिएको छ । यसबीचमा कोइलाबास नाका बाहेकका २१ वटा नाका सुरक्षाविहीन छन् । ‘सीमा क्षेत्रमा भइरहने आपराधिक घटना नियन्त्रण निकै ठूलो सीमा सुरक्षाको चुनौती बनेको छ’, पत्रकार भेटघाट कार्यक्रममा पत्रकार महासंघ दाङका सहसचिव तथा पत्रकार दशरथ घिमिरेले भने । सीमा सुरक्षा बल भने नाकाभन्दा करिब ३० किमी टाढा लमहीमा बस्छ । साथै उनले नदीजन्य पदार्थको अनियन्त्रित दोहन वर्षातको मौसममा मात्रै बढी हुने भएकाले समयमै नदीजन्य पदार्थको व्यवस्थापनका लागि सहजीकरण गरिदिन पनि उनले आग्रह गरे । साथै कोइलाबास नाका पक्की सडक बनेर पनि व्यापारिक नाका बन्न नसकेको भन्दै उनले दुईदेशीय पहलका लागि सुझाव दिए ।

प्रमुख जिल्ला अधिकारी कानुनको कार्यान्वयन गराउने एक मात्र सरकारको प्रतिनिधि भएकाले सार्वजनिक यातायातमा आरक्षण सिट उल्लेख भएर पनि कार्यान्वयन हुन नसकेको भन्दै ज्येष्ठ नागरिक, महिला, अपाङ्ग तथा आमा बच्चा सिटको कार्यान्वयनका लागि सम्बन्धित व्यावसायिक संस्थासँग सहजीकरण गरिदिन वरिष्ठ पत्रकार तथा स्वतन्त्रताका सेनानी सुशील गौतमको सुझाव थियो । यसैगरी घोराहीको स्वास्थ्योपचारको भरोसाको केन्द्रविन्दु रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिनको १२ बजे मात्रै बिरामीले ओपिडी टिकट काट्न पाउने भएकाले त्यसलाई बढाएर दिउँसो २ बजेसम्म लैजाने व्यवस्थापनका लागि पनि उनको सुझाव थियो ।

पत्रकार तथा नागरिक समाजका संयोजक केबी मसालले यस अघिका प्रमुख जिल्ला अधिकारीले सातामा एक÷एक दिन लमही ईलाका प्रशासन कार्यालय तथा तुलसीपुर ईलाका प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीले दिँदै आएको सेवालाई निरन्तरता दिन आग्रह गरेका थिए । साथै उनले देखिने गरी सुशासन कायम गर्न पनि सुझाव दिए । पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको सुझाव पनि बोर्डर सुरक्षामा केन्द्रित थियो । साथै केसीले पश्चिम दाङको सुरक्षा संवेदनशीलतालाई विशेष ध्यान दिन आग्रह गर्दै दाङमा पत्रकारिताको आचारसंहिता उलङ्घनको अवस्था न्यून रहेको स्पष्ट पारे ।

पत्रकार गणेश आचार्यले क्रसर राजनीतिमा यस अघिका प्रमुख जिल्ला अधिकारी अल्झेको बताउँदै कार्यान्वयन गर्न नसक्ने क्षेत्रमा प्रवेश नै नगर्न सुझाव दिए । क्रसर उद्योग र बालुवा वासिङ उद्योगको अनुगमनको प्रसङ्ग उठाउँदै उनले वासिङ मेसिन र क्रसर बीचको भिन्नता पहिचान गर्नसके मात्रै अनुगमनको अर्थ रहने बताए । युगबोध राष्ट्रिय दैनिकका प्रकाशक प्रताप रेग्मीले विशेष गरी तुलसीपुर क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिन सुझाव दिए भने राप्तीपोष्ट दैनिकका सम्पादक शरद अधिकारीले मिडिया रेस्पोन्स गर्नसक्ने सिडिओ चाहिएको भन्दै पत्रकारले लेखेका गतिविधिलाई आवश्यक रूपमा सम्बोधन गर्ने वातावरण मिलाउन सुझाव दिए ।

सो अवसरमा जनपत्रकार संघका केन्द्रीय अध्यक्ष हेमन्त वलीले आफूलाई विप्लव पार्टीका नेतालाईजस्तै व्यवहार नगर्न सुझाव दिए । साथै चारलेन सडकको अलपत्र हुँदा यसमा राज्यबाट अपराध भएको बताए । यति धेरै नागरिकको ज्यान जाँदा पनि सरकार मुकदर्शक बनेर आयोजनाको म्याद थपिरहेको उनको भनाइ थियो । पत्रकार सम्मेलनमा विद्युतको अघोषित लोडसेडिङ र मनोमानीलाई सम्बोधन गर्न पनि सुझाव दिइएको थियो । पत्रकार जेएन सागरको सुझाव नागरिकलाई प्रत्याभूति हुने गरी सुशासन कायम गर्नमा केन्द्रित थियो । पत्रकार जीवन नेपालीले बंगलाचुली क्षेत्रमा अनियन्त्रित रूपमा भएको उत्खनन्का सन्दर्भमा गम्भीर बन्न प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएका थिए ।

Blog Post Ad

पहिलो भेट हो, सँगसँगै हिडौँला : प्रजिअ बैद्य

यसैबीच कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले पत्रकारहरूले दिएका सुझावलाई आफूले सकारात्मकसँगै मार्गनिर्देशका रूपमा लिएको बताए । आफू नेपाल सरकारको प्रतिनिधि भएकाले विशेष गरी हरेक क्षेत्रमा देखिने गरी सुशासनको अवस्था बनाउने प्रतिबद्धता व्यक्त गरे । विकास निर्माण होस् वा सेवा प्रवाह आफूले दुवैतर्फ चासो लिने भन्दै उनले यो पहिलो भेटलाई अर्थपूर्ण रूपमा लिने बताए । ‘यो हाम्रो पहिलो भेट हो, तपाईँहरूका सुझावलाई मार्गनिर्देशनका रूपमा लिनेछु, तपार्इँ–हामी सँगसँगै हिडौँला’, प्रजिअ बैद्यले भने । पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले गरेकी थिइन् ।

Blog Post Ad Blog Post Ad