Ad Area

कुसुन्डा भाषा बचाउन जुर्मुराउँदै नयाँ पुस्ता


घोराही, २० माघ । अति संकटापन्न अवस्थामा पुगेको कुसन्डा जातिको भाषा संरक्षणका लागि अनेकन प्रयास भईरहेका छन् । भाषा आयोग र कुसुन्डा भाषा संरक्षणका अध्येयताहरुको निरन्तरको प्रयासपछि पछिल्लो समय कुसुन्डा जाति र गैर जाति भाषा सिक्न उत्साहित बनेका छन् ।
नेपालमा कुनै पनि परिवारमा नपर्ने कुसुन्डा भाषाको इतिहास निकै लामो रहेको यसका अनुसन्धानकर्ताहरुको भनाई छ । वन जंगलमा फिरन्ते जीवन बाँचेका कुसुन्डा जातिको जनसंख्या पनि निकै कम रहेको बेलामा समयसँगै सामाजिक परिवेशमा बाँधिएपछि उनीहरुको भाषा, कला, संस्कृति, रहनसहन पनि बिस्तारै लोप हुँदै गयो । जसले गर्दा कुसुन्डा जातिको पहिचान नासिने अवस्थामा पुगेको हो ।

कुसुन्डा विकास समाज दाङका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार, देशभर कुसुन्डा जातिको संख्या १ सय ६१ जना मात्रै छ । तर, नेपालको जनसंख्या २०६८ को प्रतिवेदनले देशभर २ सय ७३ जना रहेको देखाएको छ । यसमा पनि मातृभाषि वक्ता २८ जना मात्रै रहेका छन् । भाषा संरक्षणका लागि निरन्तर सहयोग चाहिने हुँदा यसको उचित व्यवस्थापन हुन जरुरी रहेको उहाँ बताउनुहुन्छ । नयाँ पुस्तामा उत्साह थपिएको बेलामा सबै तह तप्काबाट सहकार्य हुनुपर्ने कुुसुन्डा समुदायको माग छ ।

गोरखा, तनहुँ, कपिलवस्तु, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ देउखुरीमा खास बसोबास रहेको कुसुन्डा समुदाय संख्याका हिसावले पनि निकै कम र भाषा पनि लोप हुने अवस्थामा पुगेको बेला यो समुदायबाट पूर्व वक्ताका रुपमा कमला कुसुन्डा सेन मात्रै हुनुहुन्छ । उहाँकी दिदी ज्ञानीमैयाँ कुसुन्डाको निधन पछि उहाँ कुसुन्डा भाषा पूर्ण रुपमा बोल्न सक्ने एक्लो व्यक्ति हुनुहुन्छ ।

‘ऊ बेलामा कुसुन्डा भाषा ९खाम० बोल्न कसैले मन पराएनन् । धन्न मैले बुवा आमाबाट सिकेर फाईदा भयो, यसको कति महत्व रहेछ भन्ने बुझ्दैछु’, कमलाले भन्नुभयो, ‘अहिले देशभर कुसुन्डा भाषा बोल्न सक्ने म मात्रै हो, अरु त पछि सिक्दै गरेका हुन् । अब भाषा बचाउन सबै जाग्नु पर्ने बेला छ ।’

उहाँ आफुले जानेको भाषा नयाँ पुस्तामा जोड्न पाउँदा खुशी लागेको बताउनुहुन्छ । लोप हुन लागेको कुसुन्डा भाषालाई जोगाउन भाषा आयोगले थालेको अभियानले कुसुन्डा जातिलाई चिनाउन सहज बनाएको उहाँको भनाई छ । ‘हाम्रो समुदायको बारेमा समय मै सरकारको नजर पर्यो भन्नुपर्छ, नत्रभने म पनि मरेको भए भाषा र हाम्रो पहिचान पनि सँगै मरेर जाने रहेछ’, उहाँले भन्नुभयो, ‘यसको महत्वलाई सबैले बुझ्न सक्ने हो भने यो देशको पहिचानसँग पनि जोडिएर आउँछ होला जस्तो लाग्छ, किनभने विश्वमा यो निकै दुर्लभ भाषा पनि पनि हो । ’

पछिल्ला केही वर्षहरुमा कुसुन्डा जाति र उनीहरुको भाषाको निकै चर्चा हुने गरेको छ । आफैमा लोपोन्मुख अवस्थामा पुगेको यो समुदायको भाषा पनि कुनै पनि परिवारसँग नमिल्ने हुँदा भाषा आयोगले यसको संरक्षण र पुस्ता हस्तान्तरणमा निकै चासो लिएको छ ।
जसका लागि बालबालिकाहरुलाई औपचारिक कक्षा दिएर र प्रौढहरुलाई भाषा र संचारको माध्यमबाट सिकाउने कामको थालनी गरेको छ । कुसुन्डा भाषाका अध्येयता उदयराज आलेका अनुसार, कुसुन्डा जातिको भाषा बचाउन गरिएको प्रयास सार्थक बन्दै गएको छ ।

भाषिक पुस्ता हस्तान्तरणका लागि अहिले चौथो चरणको कुसुन्डा भाषाको पाठ्यक्रमलाई प्रयोगमा ल्याउन लागिएको छ । करीव पाँच वर्षको अवधिमा कुसुन्डा तथा गैर कुसुन्डा समुदायका विद्यार्थीले कुसुन्डा भाषा कक्षा लिएर यसको बारेमा जानकारी लिने तथा एकआपसमा बोलचाल गर्न सक्ने भईसकेका छन् ।

२०७५ सालमा लमहीको कुलमोडमा बस्दै आउनुभएकी ज्ञानीमैयाँ कुसुन्डाको घरमै पहिलो पटक दाङ, सुर्खेत, प्युठान र अर्घाखाँचीका २० जना विद्यार्थीलाई आवासीय रुपमा राखेर कुसुन्डा भाषा पढाउने काम भएको थियो । यसको सहजीकरण उदयराज आलेले गर्नुभएको थियो । ज्ञानीमैयाँको निधन भएपछि समस्या भयो ।

‘कुसुन्डा भाषाको शब्द नै थाहा नभएको बेला थालनी गरिएको थियो । त्यो बेला देशका विभिन्न ठाउँमा रहेका कुसुन्डाहरुको भाषाको भेदलाई आधार मानेर शुरु गर्यो, ज्ञानीमैयाँ पूर्ण वक्ता भएकाले सजिलो पनि भयो’, उहाँले भन्नुभयो, ‘शुरुवात गर्न गाह्रो थियो अहिले यसले केही हदसम्म लय समाति सकेको छ ।’

९० घण्टाको पाठ्यक्रम तयार पारेर थालनी गरिएको कुसुन्डा भाषा कक्षा २०७६ मा कोरोनाले सम्भव भएन । त्यपछि दोश्रो चरणमा घोराहीको सुपैलाखुटी धर्नामा उपमहानगरसँगको सहकार्यमा शुरु भयो । कुुुसुन्डा भाषा बुझेर बोल्न सकुन् भनेर कक्षा चलाएकोमा लाभदायी हुँदैगएपछि तेश्रो चरणको भाषा कक्षा गत वर्ष पनि संचालन गरिएको उहाँले बताउनुभयो ।

अब चौथो चरणको कक्षाबाट लेखनमा जोड दिने लक्ष्य राखिएको उहाँको भनाई छ । यसका लागि सबै तयारी पूरा भएको उहाँले बताउनुभयो । ‘९० घण्टाको पाठ्यक्रममा ६० घण्टाको कक्षा र ३० घण्टा स्वअध्ययन रहेको छ’, उहाँले भन्नुभयो, ‘अहिले नानीबाबुहरुले भाषा सिकेर राम्रो गरिरहेका छन् ।अब बोल्न पनि उत्तिकै ध्यान दिनुपर्नेछ यसका लागि हामीले पठन सामग्री सहज रुपमा उपलब्ध गराउने र उनीहरुको कुसुन्डा भाषा सीपको विकासमा टेवा पुग्नेछ ।’

महेन्द्र माविमा कुसुन्डा भाषा अध्ययनरत १२ जनामा ३ जना गैर कुसुन्डा रहनुभएको छ । जसमा गैर कुसुन्डा समुदायका खम्बा रोकाय, सुनिता देवकोटा, अस्मिता वादी हुनुहुन्छ भने मनबहादुर कुसुन्डा, प्रेमी कुसुन्डा, फाली कुसुन्डा, निर्मला कुसुन्डा, पीमा कुुसुन्डा, हीमा कुसुन्डा, रमेश कुसुन्डा, अनिल कुसुन्डा, श्याम कुसुन्डा आवासीय रुपमा बस्दै कुसुन्डा भाषा कक्षा लिईरहनुभएको छ । अहिले उहाँहरु एकआपसमा कुुसुन्डा भाषामै कुराकानी गर्न सक्ने भईसक्नुभएको छ ।

आफ्नो भाषा संरक्षणसँगै पहिचान स्थापित गराउन राज्यले लिएको चासो प्रति उनीहरु उत्साहित छन् । अब यसको निरन्तरताका लागि राज्यले आगामी दिनमा पनि साथ सहयोग र समन्वय गरी दिएमा थप प्रभावकारी हुने हीमा कुसुन्डाको भनाई छ । ‘आफुले सिकेको भाषालाई गैर कुसुन्डा समुदायमा पुर्याउन सकियो भने यसको जीवन्ततामा टेवा पुग्नेछ, यसका लागि सबैको साथ चाहिन्छ, किनभने हिजो आफ्नो पहिचान बोकेको भाषा केही नजान्ने मैले धेरै कुरा सिक्न पाएको छु, यसले हाम्रो आत्मविश्वास बढाएको छ’ उहाँले भन्नुभयो, ‘अब यसको दिगो व्यवस्थापन गरेर अघि बढ्ने भन्ने बारेमा गहन रुपमा सोँच्नुपर्छ जस्तो लाग्छ ।’

कुसुन्डा भाषाको चौथो चरणको भाषा कक्षा संचालनका लागि बिहीबार घोराही ५ धर्नास्थित महेन्द्र माविमा भाषा आयोगले अभिमुखीकरण कार्यक्रम पनि गर्यो । कार्यक्रम भाषा आयोगका सदस्य डा। अमर गिरीको अध्यक्षतामा भयो । नेपाल कुसुन्डा विकास समाजको समन्वय र भाषा आयोगको आयोजनामा भएको कार्यक्रममा अमृत योन्जन तामाङले भाषा पहिचानसँगै ज्ञानको भण्डार रहेको बताउनुभयो । कुसुन्डा सुमदायको भाषा इतिहास बोकेको भाषा भएकाले यो यहाँको पहिचानसँग पनि जोडिएको तर्क गर्नुभयो ।

‘यो भाषा नेपालमा मात्र छ । मौलिकता बोकेको कुसुन्डा भाषा प्राचीन भाषा हो । भाषाले इतिहास पत्ता लगाउन मद्दत गर्छ’ उहाँले भन्नुभयो ‘यसलाई सम्बन्धित समुदायले मात्रै होईन राज्यले पनि चासोका साथ लिन सक्नुपर्छ ।’ भाषा आयोगका उपसचिव माधवप्रसाद दाहालले पूर्णवक्ता २ जना रहेकोमा १ जना मात्रै जीवित रहेको बेला अति संकटापन्न अवस्थामा पुगेको कुसुन्डा भाषा संरक्षण गर्न भाषा कक्षा संचालन गर्दै पुस्ताहस्तान्तरण गरेर भाषा जीवित राख्ने लक्ष्य राखिएको बताउनुभयो ।

बोल्ने, लेख्ने र भाषा संचारबाट समाजमा यसको प्रभाव बढाउने काममा भाषा आयोग गम्भीर रहेको बताउँदै भाषा बचाउन स्थानीय सरकारको भुमिका अहम् हुने हुँदा यसमा सबै तहले महत्व बुझ्न आवश्यक रहेको जिकिर गर्नुभयो । आयोगकी सदस्य कमला भण्डारी पाण्डेले सङ्कटापन्न अवस्थामा पुगेका भाषा संरक्षण गरिनुपर्छ भन्ने लक्ष्यका साथ भाषा कक्षा संचालन हुने गरेको बताउनुभयो ।