Ad Area

घोराहीबाट चार लाख बढी नगदसहित २० ‘माडे जुवाडे’ पक्राउ !


घोराही १५, कार्तिक । दाङको घोराहीबाट प्रहरीले चार लाख बढी नगदसहित २० जना जुवाडे पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका रझेनामा आइतबार राती एक घरमा छापा मारेर जुवाको खालबाट २० जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा मारेर २० जना जुवाडेसहित चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

रझेनास्थित खड्काको घरमा छापा मारेर प्रहरीले साढे चार लाख नगद र जुवाडेले प्रयोग गरेका चारवटा कारहरु समेत नियन्त्रणमा लिएको उनले बताएका छन् । ‘जुवाडेले प्रहरीलाई पनि झुक्याएको पाइएको छ,’ प्रहरी उपरीक्षक काफ्लेले भने ‘बाहिरै गाडीमा बसेको एक जना व्यक्तिले लाखौं रुपैयाँ लिएर भाग्न सफल भएको हामीलाई सूचना आएको छ, थप अनुसन्धान गरिरहेका छौँ ।’

सो घटनामा जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रुपलाल बिक, दाङको घोराही उपमहानगरपालिका १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वलीलाई नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता प्रहरीनायव उपरक्षिक मुकुन्दस्रशाद रिजालले जनाएका छन् ।

त्यस्तै घोराही ४ गोग्लीका ६२ वर्षीय श्रीधर अधिकारी, घोराही ५ का ५७ वर्षीय नवीन पछाँँई, घोराही १५ का ५७ वर्षीय महावीर वली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षीय विकास खत्री, ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ का रवी गिरी, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती रहेको उनले बताए । पछिल्लो समय तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले जुवा खालहरुमा छापा मारेर दिनहुँजसो जुवाडेहरु पक्राउ गर्दे आएको छ।

उता, ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएका ८ जनालाई थप अनुसन्धानका लागि ४ दिन म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुसन्धान गर्नका लागि चार दिनको म्याद थप गरिदिएको हो ।
जुवाको ठूलो खालबाट समातिएका हुँदा वृहत रुपमा अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।

प्रहरीले कौडा र एक लाख ९८ हजार २ सय रुपैयाँ सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । परेकाहरुलाई तुलसीपुर ६ रजौराबाट कौडा खेलिरहेका बेलामा पक्राउ गरिएको प्रहरीको भनाई छ । ​पक्राउ परेकाविरूद्ध जुवा ऐन अन्तर्गत मुद्दा दायर गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ।