Ad Area

रहरमा सिकेको चित्रकला,आम्दानीको माध्यम


चित्रकार मिठ्ठु थारूको चित्रकला तथा मूर्तिकलामोह लोभलाग्दो छ । ३४ वर्षीय मिठ्ठुले हिडडुल गर्दा कुनै अवस्था अथवा दृश्यले छोयो भने त्यसलाई दुरुस्त चित्रमा उतारिदिन्छन् । उनमा भएको त्यही कलाको खुविले चित्रकला तथा मूर्तिकलामा लागेको छोटो समयमै सयौँ चित्रसँगै मूर्तिहरू बनाउने गरेका छन् । पछिल्लो समय चर्चा मात्रै होइन राम्रो आम्दानी समेत गरिरहेका छन् । थारू कला, संस्कृति र जीवनशैलीमा आधारित चित्र तथा मूर्तिकलामा विशेष दख्खल राख्ने कैलाली जिल्ला जानकी नगरपालिका–३ भगतपुर निवासी मिठ्ठु पश्चिम तराईका जिल्लामा पछिल्लो समय लोकप्रिय चित्रकारका रूपमा चिनिने गरेका छन् ।

घरको कमजोर आर्थिक अवस्थाका कारण भक्तपुरमा साहुको घरमा कामदारका रूपमा बसेर अध्ययन गरेका थिए । १२÷१३ वर्षको उमेरमा भक्तपुर पुगेपछि त्यहाँ अध्ययनसँगै चित्र तथा मूर्तिकलासम्बन्धी ज्ञान लिन पाएको बताउँछन् । सानैदेखि चित्रकलामा रुचि राख्ने गरेका मिठ्ठुलाई घरपरिवार र आफन्तको साथ भने भएन । जसका कारण उनी करिब ७–८ वर्ष मनभित्रको कलालाई लुकाउन बाध्य भए । एलएलसी पास भएपछि उनी चित्रकलासम्बन्धी अध्ययन गर्न चाहन्थे तर घरपविार र आफन्तको दबाबमा पढ्न पाएनन् । घरको कमजोर आर्थिक अवस्थाका कारण बुबासँगै घरपरिवारले उनलाई क्रमशः पढाएर राम्रो जागिर खुवाउन चाहन्थे ।

जसका कारण उनले कोटेश्वर स्थित सरस्वती माविबाट २०६४ मा एसएलसी पास गरेपछि कोटेश्वर क्याम्पसमा व्यवस्थापन संकाय पढ्न थाले तर उनको रहर भने चित्रकलामा थियो । जसले गर्दा दुई वर्ष कमर्श अध्ययन गरे पनि १२ पास गर्न सकेनन् । उनले पटक–पटक व्याक विषयको जाँच दिए तर कटाउन सकेनन् । अन्ततः उनको करिब ७ वर्ष पढाइ छुट्न पुग्यो । पढाइ छुटेपछि भएको खाली समयमा उनले चित्रकलामा ध्यान दिए । घरको काम गरेपछि साँझ–बिहान फुर्सतको समय निकाले उनी चित्र बनाउँथे । केही नयाँ सिक्नका लागि घरनजिकै रहेको आर्ट ग्यालरीमा पुगेर अरूले बनाएका चित्रहरू हेर्ने गर्थे, घरमा आएर आपूmले पनि चित्रहरू बनाउने गर्थे ।

तर उनीसँग न चित्र बनाउनका लागि ग्यालरीमा भएको जस्तो कलर हुन्थ्यो न राम्रो कागज । जसले गर्दा खाली कागजमा पेन्सिलले स्केच कोरेर कतिपटक भाँडा माझ्ने निलो तथा हरियो रँगका सावुनलाई भिजाएर घरमा चित्रहरूमा रँग भर्ने गर्थे । ‘चित्र बनाउनका लागि पत्रिका सहारा हुन्थ्यो । बाहिर जाने वातावरण थिएन, त्यसैले घरमै बस्ने गर्थे । त्यो समयमा घरमा पत्रिका आउने गर्थे । ती पत्रिकामा छापिएका कलासम्बन्धी चित्रहरूले मलाई आकर्षण गर्थे’, उनी भन्छन्, ‘त्यसपछि तिनै चित्रहरूलाई कापीमा उतार्थेँ र, रँग भर्थे । चित्रहरू बनाउँथे, कतिपय च्यात्थे । राम्रा चित्रहरू राख्थे ।

एक दिन तिनै राम्रा चित्रहरू लगेर भक्तपुरको एउटा ग्यालरीमा विक्रीका लागि पुगे । त्यहाँ आपूmले बनाएका चित्रहरू साहुलाई देखाए । उहाँलाई मन परेपछि ठूलो चित्र चार हजार र साना चित्रहरू दुई–दुई हजार रूपैयाँमा किनिदिनुभयो, त्यो क्षण आफ्नो जीवनको खुसीको महत्वपूर्ण दिन भएको उनी बताउँछन् । ‘चित्रकलामा आफ्नो रहर भए पनि देखाउने अवसर पाएको थिएन, उहाँ चित्रको महत्व बुझेका व्यक्ति भएकाले मैले बनाएका हिमालका चित्रहरू मनपराएर किनिदिनुभयो’, मिठ्ठु भन्छन, ‘आफ्ना सिर्जनालाई कसैले मन पराएर किनिदिँदाको क्षण मेरो जीवनको त्यो ठूलो खुसीको क्षण हो ।’

पहिलो पटक विक्री भएका चित्रहरूले उनलाई कमाई मात्रै दिएनन्, चित्रकला अध्ययन गर्नका लागि थप हौसला दिए । त्यसपछि करिब सात वर्षपछि २०७२ सालमा उनी आपूmले चाहेको विषय चित्रकला अध्ययनका लागि विजेश्वरी फाइन आर्टमा कक्षा ११ र १२ पढे । त्यहाँ चित्रकलासँगै मूर्तिकलासम्बन्धी ज्ञान सिक्ने अवसर प्राप्त गरे । उक्त कलेजमा उनलाई चित्रकला तथा मूर्तिकलामा अघि बढ्नका लागि गुरुहरू अनिल महर्जन र रविन महर्जनले चित्रकला र पूर्णकाजी शाक्यले मूर्तिकलासम्बन्धी ज्ञान सिकाए । गुरुहरूको सहयोगमा मिठ्ठुले आफूमा भएको सीपलाई निखारेर आफ्नो क्षमतालाई आम जनतालाई देखाउनका लागि अहिले लुम्बिनी तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूका पार्क, दरबार तथा होमस्टेहरूमा आफ्नो कला देखाउने कामसँगै आम्दानी गर्दै आएका छन् ।

चित्रकलामा नेपाल ललितकला क्याम्पसबाट स्नातक तह (व्याचलर) अध्यापन गरिरहेका मिठ्ठु आपूmलाई मन लागेको विषय पढ्न पाउनुलाई पनि खुसीको क्षण बताउँछन् । ‘आपूmलाई पढ्न मन नलागेको विषय पढ्दा ध्यान नै जाने रहेनछ । जसले गर्दा कमर्श विषयमा प्लस टु पास गर्न सकिनँ’, उनले भने, ‘तर पछि आपैmले चाहेको विषय पढ्न थाले, त्यहाँ फेल नभएरै व्याचलरसम्म पढेँ । अहिले अन्तिम वर्षमा अध्ययन गरिरहेको छु, यो पनि मेरो जीवनको खुसीको क्षण हो ।’ पढाइसँगै मागअनुसार देशका विभिन्न जिल्लामा पुगेर चित्रकला तथा मूर्तिकलासम्बन्धी आफूमा भएको क्षमता देखाइरहेका छन् । चित्रकला प्रतिको मोहका कारण आपूm सफल भएको भन्दै मिठ्ठुले केही काम गर्नका लागि सबैभन्दा पहिले आपूmमा दृढ इच्छाशक्ति हुुनुपर्ने बताउँछन् ।

‘चित्रकलाप्रति सानैदेखि रहर थियोे तर सुरुमा कसैले मेरो चाहनालाई बुझ्नुभएन’, उनी भन्छन्, ‘सबैले चित्र बनाएर केही हुँदैन । चित्रकलामा भविष्य छैन । अरु विषय पढ्नुपर्छ भन्नुहुन्थो तर मलाई चित्रकलामै रहर भएकाले त्यही पढेँ । अहिले घरपरिवार पनि खुसी हुनुहुन्छ ।’ गाउँमा छँदा थारु जातिको जीवनशैलीसँगै चराचुरुङ्गी, जनावरसँगै घर वरपरको वातावरणको चित्र बनाउने गर्थे । त्यो समयमा उनका प्रायः चित्रहरू घरको आगन र भित्ताहरूमा बनाउँथे ।

धुलोमा घर, खेतबारी, गाई, चरा, फूललगायतका चित्रहरू साथीहरूसँग बनाउँथे । कहिले साथीहरूबीच प्रतिष्पर्धा हुन्थ्यो, त्यो प्रतिष्पर्धामा उनको राम्रो चित्र हुन्थ्यो । साथीहरूले तेरो राम्रो चित्र छ भनेर भन्दा सानोमा खुसी लाग्ने गरेको मिठ्ठु सम्झन्छन् । जे गर्छु कलामै गर्छु भन्ने दृढ संकल्पका साथ अघि बढेका मिठ्ठुलाई दंगीशरण राजाको मूर्ति पहिलो पटक आपूmले बनाउन पाउँदाको अवसरलाई समेत आफ्नो खुसीको क्षणका रूपमा लिन्छन् ।

‘दंगीशरण राजाको चर्चा सुनेको थिएँ तर कतै फोटो समेत रहेनछ । मलाई चखौरामा उहाँको मूर्ति बनाउने अवसर प्राप्त भयो’, उनी भन्छन्, ‘तर उहाँको मूर्ति बनाउनका लागि हेर्ने एउटा फोटो पनि थिएन । त्यसैले थारु समुदायका अग्रजहरूको कुरा सुनेर दंगीशरण राजाको जीवनशैली बारेमा अध्ययन गरेर मूर्ति बनाएको हुँ । पछि धेरै मन पराइदिनुभयो । खुसी लागेको छ ।’

२०७३ सालमा थारू राजा दंगीशरणको मूर्ति बनाएका थिए । चखौरामा दंगीशरण राजासँगै सम्पूर्ण तस्वीर उनले समूहमा गरेका थिए । त्यससँगै उनले पाल्पाको रानी महल दरबार, दाङको चखौरा सांस्कृतिक संग्रहालय, बाँकेको गाभर होमस्टे, बर्दिया बर्काभौँरा र बाँसगडीचोक र कैलालीको थापापुरलगायतका विभिन्न ठाउँमा २ सय ५० बढी चित्र तथा करिब एक सयको हाराहारीमा मूतिहरू निर्माण गरिसकेका छन् । मूर्तिकलाभन्दा चित्रकलालाई प्राथमिकतामा राखेका मिठ्ठु, थारू जातिको जीवनशैली तथा संस्कृतिमा आधारित चित्रकलामा बढी दख्खल राख्ने गर्दछन् ।

कला साधनाका रूपमा लिने मिठ्ठु चित्र तथा मूर्तिकलामा कमाउने पेसाभन्दा पनि सेवाको भावनाबाट अघि बढेको बताउँछन् । त्यस क्रममा लागत खर्च भने लिने गरेको बताउँछन् । खुशीराम थारू र आमा अँगनी थारूको कोखबाट जन्मिएका मिठ्ठु माइला छोरा हुन् । उनी कैलालीमा नवयुग आर्ट स्टुडियो कम्पनी दर्ता गरेर चित्रकला तथा मूर्तिकलासम्वन्धी काम गर्दै आएका छन् ।