Ad Area

साना तथा घरलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी, उपभोक्ताको रोजाइमा हस्तकलाका सामग्री


दाङ, १० फागुन । सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७ सिसहनिया निवासी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समयमा बदलिएको छ । घरको भान्सालगायतको काम गर्दै बित्ने राजकुमारीको दैनिकी पछिल्लो समय हस्तकलाका सामग्री गुन्द्री, पूजादानी, टोपी, हटकेस, पेनहोल्डर, खुत्रुक्के, ढकिया, चटकी र गमलालगायतका हस्तकला सामग्री बनाउने र बनाएका सामग्री विक्री गर्ने काममा बित्ने गरेको छ ।

यसै क्रममा घोराहीमा जारी लुम्बिनी प्रदेश स्तरीय साना तथा घरलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनीमा स्टल राखेकी राजकुमारीले हस्ताकलाका सामग्रीको व्यापार राम्रो भइरहेको बताइन् । ‘महोत्सवमा प्रायः फेन्सीको व्यापार राम्रो हुने गर्छ तर घोराहीमा हस्तकलाका सामग्रीको पनि राम्रो व्यापार भइरहेका छन्’, लगनशील मुन्स उत्पादन समूहकी उपाध्यक्ष समेत रहेकी चौधरीले भनिन्, ‘हस्तकलाको महत्व बुझ्नेहरूले सामग्री खरिद गरेर लग्ने गर्नुभएको छ ।’

समूह गठन गरेर उत्पादन गरेका सामग्रीहरू लामो समय काठमाडौं र पोखरालगायतका ठाउँहरूमा पठाउने गरेका समूहका महिलाहरूले पछिल्लो समय आप्mनै जिल्लामा लाग्ने विभिन्न मेला तथा महोत्सवमा विक्रिका लागि पुग्ने गरेको राजकुमारीले बताइन् । उत्पादित सामग्री मेला तथा महोत्सवमा विक्री गरेर आर्थिक आम्दानी लिनुका साथै सामग्रीको प्रचारप्रसार हुने भए पनि यसरी हिड्ने गरेको उनी बताउँछिन् ।

‘पहिले घरमा हस्तकलाका सामग्री उत्पादन गरेर काठमाडौं पठाउँथ्यौँ’, उनले भनिन्, ‘बाहिर मात्रै पठाउनु भन्दा आफै विक्री गरौँ भनेर पछिल्लो समय लागेका छौँ ।’ पहिले घरको काम गरेर दिनभरि खेर जाने समय सीप सिकेर हस्तकलाका सामग्री बनाउन थालेपछि समयको बचतसँगै आर्थिक आम्दानी हुने गरेको उनी बताउँछिन् । अर्काेतिर थारू समुदायको परम्परागत सीप समेत संरक्षण भइरहेको राजकुमारीले बताइन् ।

उनकाअनुसार गाउँका ३० जना महिलाको समूहले हस्तकलाका सामग्री उत्पादन गर्दै आएका छन् । ‘घरको काम हँुदा घरको काम गर्छौँ, फुर्सदको समयमा काँस र मुञ्जबाट हस्तकलाका सामग्री बनाउँछौँ’, उनले भनिन्, ‘यसका लागि आवश्यक कच्चा पदार्थ देउखुरीको राप्ती नदीमा पनि पाइन्छ । जिल्लामा अपुग भएपछि कच्चा पदार्थ छिमेकी जिल्ला कपिलवस्तुबाट मगाउने गरेका छौँ ।’ उनले कपिलवस्तुबाट पाँच सय रूपैयाँ प्रतिकेजी मुञ्ज ल्याउने गरेको बताइन् ।

हस्तकलाका सामग्रीहरू धेरैले मन पराउने गरे पनि महँगो भन्ने गरेको उनी बताउँछिन् । ‘हस्तकलाका सामग्री आकर्षक हुने भएकाले धेरैले मन पराउनु हुन्छ तर ती सामग्री महँगो भएको गुनासो गर्नुहुन्छ’, उनले भनिन्, ‘हस्तकलाका सामग्री बनाउँदा लागेको मिहिनेतअनुसार मूल्य महँगो होइन तर बजारमा पाइने प्लास्टिकका सामग्रीको मूल्य भन्दा केही महँगो भने हो ।’ उनले हस्ताकलाका सामग्री आकर्षक, बलिया र हलुका हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको बताइन् ।

Blog Post Ad

उनीहरू मात्रै होइन करिब दुई वर्ष अघि स्वच्छ व्यवसायी समूह नेपाल र स्वान नेपाल संस्थाले थारू समुदायका महिलाहरूलाई काँस र मुञ्जबाट विभिन्न हस्तकलाका सामग्री बनाउनसँगै बजारीकरणमा सहयोग गर्न थालेपछि देउखुरी राप्ती गाउँपालिकाकै वडा नं. ६ मिलिजुली मुञ्ज उत्पादन समूह र गढवा गाउँपालिका थारू समुदायका महिलाहरू मनकामना मुञ्ज उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा हस्तकलाका सामग्री उत्पादनमा लागेका छन् । तीन गाउँका करिव ९० बढी महिलाहरू हस्तकला सीपको संरक्षणसँगै उत्पादनमा जोडिएका हुन् । यसले एकातिर महिलाहरू सीप सिकेर क्षमतावान् भएका छन् भने अर्काेतिर हस्ताकलाका सामग्री विक्री गरेर आर्थिक आम्दानी समेत गर्दै आएका छन् ।

Blog Post Ad Blog Post Ad