उद्यमशीलतामा महिलाको आकर्षण
दाङ, १० फागुन ।समुन्नत र सभ्य समाजको आधारभूत पहिचान हो, लैङ्गिक समानता । नेपालमा भएका राजनीतिक आन्दोलनको निचोड २०७२ को संविधानलाई मान्ने हो भने त्यसको मुख्य विशेषता हो, लैङ्गिक समानता । जसले राज्यका हरेक तह र तप्कामा महिला नेतृत्व अनिवार्य गरेको छ । संवैधानिक अभ्यास सन्तोषजनक छैन । सरकारी, गैरसरकारी र निजी क्षेत्रमा जस्तै राजनीतिमा पनि महिला प्रतिनिधित्व अपर्याप्त छ तर पछिल्नो समयमा विभिन्न क्षेत्रमा महिलाहरू विभिन्न क्षेत्रमा जोडिँदै आफनो दैनिकी सहज मात्र बनाएका छैनन् आर्थिक पाटोलाई समेत बलियो बनाउँदै लगेका छन् । गोरक्षकर्मी अमरराज आचार्यले तयार पारेको रिपोर्ट ।
एकदशक अघि महिलालाई धेरैले ऋण पत्याउँदैनथे । महिलाले कहाँबाट कमाउँछ, पछि तिर्न सक्दैनन् होला भन्ने मानसिकताले महिलालाई आर्थिक कारोबार गर्न कठिन नै थियो । महिलाहरू पनि घरमा चुलोचौकामा सीमित नै थिए तर समयको विकाससँंगै अन्तरनिहित क्षमता र चेतनाले सुगम तथा दुर्गमका महिलाको जीवनशैली भने फेरिँदै गएको छ । अहिले सहजै बैठक भेलामा महिलाहरू खुलेर बोल्नसक्ने, आफ्ना कुरा निर्धक्क राख्नसक्ने मात्र नभइ आर्थिक रूपमा पनि पुरुषसरह सक्षम हुन थालेका छन् । सरकारी तथा गैसरकारी निकायको क्षमता विकास कार्यक्रम, महिला सशक्तिकरणका नीति र समूह सहकारीका जनचेतनाले महिलाको जीवनशैली नै फेरिन थालेको छ ।
राप्ती गाउँपालिका वडा नं ६ बगरापुर गेदराज चौधरीको बिहानदेखि साँझसम्म तरकारी खेतीमै व्यस्त हुने गरेकी छिन् । विगत लामो समयदेखि उनी तरकारी खेती गदै आएकी हुन् । उनीसँगै उनका श्रीमान समेत तरकारी खेती गदै आएका छन् । ‘घरमा खाली बस्नुभन्दा केही गर्नुपर्छ भनेर तरकारी खेतीमा जाने गरेको छु’, उनले भनिन्, ‘तरकारी खेती गरेको आम्दानीले नै घरव्यवहार चलाउने गरेको छु ।’ उनकाअनुसार आम्दानीको स्रोत भनेकै तरकारी खेती हो ।
आम्दानी नहुँदा धेरै समस्या हुने तर तरकारी खेतीबाट आम्दानी हुँदा घरव्यवहार चलाउन समेत सहज हुने गरेको उनले बताइन् । तरकारी खेतीबाट भएको आम्दानीले घरव्यवहार सञ्चालनदेखि शिक्षामा समेत खर्च गर्ने गरेको उनले बताइन् । खेती गर्न धेरै समस्या भए पनि आप्mनै भएकाले तरकारी खेतीमा रमाउने गरेको उनको भनाइ छ । ‘अरूको काम गर्न जानुभन्दा आप्mनै काम गर्नुपर्छ भनेर तरकारी खेतीमा लागेका हौँ’, उनले भनिन्, ‘एक विगाह जग्गामा टमाटर, आलु, गोभी, काउली, भिन्डी, बोडी, करेला, लौकालगायत सिजनअनुसारका तरकारी छ ।’
राप्ती गाउपालिका वडा नं ६ निवासी विष्णु चौधरी विगत ५ वर्ष कुखुरा पालन गर्दै आएकी छिन् । उनले अहिले एक हजार लेस कुखुरा पालन गर्दै आएकी छिन् । उनलाई उनका श्रीमान्ले पनि सहयोग गर्दै आएका छन् । जसले गर्दा काम गर्न समेत सहज भएको छ । कुखुरापालन व्यवसाय सुरु गर्नुभन्दा पहिले उनी जागिर गर्दै आएकी थिइन् । घरायसी कारणले जागिर छोडेकी उनी घरमा खाली बस्नुभन्दा केही गर्नु पर्दछ भनेर व्यावसायिक रूपमा कुखुरा पालन गर्दै आएको उनको भनाइ छ । ‘अरूको भर पर्नुभन्दा आत्मनिर्भर हुनुपर्दछ’ उनले भनिन् । व्यवसायबाट आम्दानी भएपछि आफ्नो दैनिकी सहज हुने गरेको समेत उनले बताइन् ।
‘आफैले केही गरेपछि एक÷दुई रूपैयाँका लागि कसैसँग हात थाप्नु पर्दैन’, उनले भनिन् । अहिले पनि धेरै घरमा सीमित हुँदा अरूमा निर्भर हुनुपर्ने अवस्था रहेको उनले बताइन् । कुखुरापालनसम्बन्धी तालिम प्राप्त गरेपछि काम गर्न केही सहज भएको उनको भनाइ छ । कोभिड–१९ ले आप्mनो व्यावसायमा पनि समस्या पारेको उनी बताउँछिन् । ‘कोभिडको समयमा अण्डा तथा खुकुरा विक्री नहुँदा धेरै समस्या भयो’, उनले भनिन्, ‘अहिले भने त्यस प्रकारको समस्या छैन ।’ महिलाहरू पनि घरमा सीमित नभइ केही न केही व्यवसाय, उद्यमशीलतामा जोडिनुपर्ने उनी बताउँछिन् । ‘महिलाहरू पनि परनिर्भर नभइ आत्मनिर्भर हुनुपर्छ’, उनले भनिन् ।
व्यवसायी सचेतनाले महिलाहरूलाई उद्यमशीलतामा जोडिन सहयोग पुगेको ग्रामीण महिला उत्थान केन्द्रका प्रशिक्षण सहजकर्ता माधवा पोख्रेलले जानकारी दिइन् । महिलाहरूलाई व्यावसायिक सचेतना तथा वित्तीय अभिमुखीकरणले उनीहरूलाई प्रोत्सान मिल्ने गरेको उनको भनाइ रहेको छ । केन्द्रले महिलाहरूलाई कसरी उद्यशील व्यवसायमा जोडिने, व्यवसाय, उद्यम गर्दा हुने समस्या, कसरी आम्दानी गर्न सकिन्छ, खर्च कसरी कम गर्ने, बचत कसरी बढाउनेलगायतका विषयमा सचेतना दिने गरेको उनले बताइन् ।
‘हामीले महिलाहरूलाई कसरी आत्मनिर्भर बन्न सकिन्छ भनेर प्रोत्साहन गर्ने गरेका छौँ’, उनले भनिन्, ‘जसले गर्दा धेरै महिलाहरू कुनै न कुनै व्यवसाय तथा उद्यममा जोडिनुभएको छ, सचेतना प्राप्त गरेपछि घरभित्र सीमित रहेका महिला पनि उद्यमशीलतामा जोडिएको पाएका छौँ । केन्द्रले वित्तीय पहुँच पुग्न नसकेकालाई समूहमार्फत् ऋण समेत प्रदान गर्ने गरेको छ । जिल्लामा सयौँको संख्यामा महिलाहरू उद्यमी तथा व्यवसायीमा जोडिएका छन् ।