Ad Area

हाँसीपुरवासीका समस्यै समस्या


घोराही, ११ फागुन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि दाङको विकट बस्तीका रूपमा परिचित हाँसीपुरमा केही विकास भएका छन् । जसले गर्दा जिल्लाको विकट बस्तीका रुपमा रहेको हाँसीपुरलाई विकासका पूर्वाधारका रुपमा रहेका सडक, विद्युत, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारले जोड्ने प्रयास गरेका छन् ।

दाङको घोराहीदेखि करिव २७ किलोमिटर पूर्व–दक्षिणमा रहेको हाँसीपुर बंगलाचुली गाउँपालिकाको वडा नं। ८ मा पर्ने विकट र पहाडी बस्ती हो । भौगोलिक विकटताका केही वर्ष अघिसम्म सडक, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीलगायतका विकासका पूर्वाधारबाट टाढा रहेको हाँसीपुरलाई पछिल्लो समय विकासका आधारभूत आवश्यकता सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतले जोडेपनि नियमित सेवा नहुँदा हाँसीपुरवासीले अहिलेपनि उस्तै दःख पाउने गरेको बताउँन् ।

हाँसीपुरका लागि विकास निर्माणको पहिलो आवश्यकताका रूपमा रहेको सडक सञ्जालले जोडेपछि केही सहजता भएपनि नियमित नियमित सेवा नहुँदा समस्या भएको कमल विश्वकर्मा बताउनुहुन्छ । बीपी लोकमार्ग अन्तर्गत घोराही–रामपुर–सुर्केडाँगी–बुका–सिमतारा–गहतेरा–मुलावारी–हाँसीपुर हुँदै जबरकोट–बिर्खे– चैतेबाट दाङ–प्यूठानको सीमा क्षेत्र गनाहाखोला जोड्ने सडकको ट्याक खोल्ने काम पुरा भएपछि केही बर्षअघि मात्रै हाँसीपुर सडक संञ्जालमा जोडिएको थियो ।

जसअन्तर्गत घोराहीको चौघेरादेखि सीमलताराम्मको करिब १० किलोमिटर कालोपत्रे भइरहेको छ भने मुलाबारीसम्मको सडक नालासहित ग्राभेलको लागि काम भइरहेको छ । ‘भौगोलिक विकटताका कारण बाटो सहज छैन, एक झरी पानी पर्नेबित्तिकै बाटो बिग्रिने हुँदा गाडी चल्दैनन्’, उहाँले भन्नुभयो,‘पानी प¥यो भने सिमलतारासम्म मात्रै बस आउँछ, यता आउँदैन ।’

गाउँमा हाँसीपुर स्वास्थ चौकी भएपनि जनशक्ति र औषधिको अभावमा अधिकांस मानिसहरु घोराही नै पुग्ने गरेको अर्का स्थानीय गोपाल गाहामगर बताउनुहुन्छ । ‘सामान्य बिरामी हुँदा जाँचसँगै औषधीका लागि स्वास्थ्यचौकी जाने हो, तर कहिले औषधी तँ कहिले कर्मचारी हुनुहुदैन’, उहाँले भन्नुभयो,‘जस्ले गर्दा चोटपटकसँगै केही समस्या भयो उपचारका लागि घोराही जानुपर्ने बाध्यता छ ।’ उहाँका अनुसार गाउँका अहिलेपनि खानेपानी,नमस्ते फोनले काम नगर्ने, कृषिका लागि सिचाई सुविधा छैन ।

Blog Post Ad

‘खानेपानीको धारा बनेको छ, अब गर्मी मौसम सुरु भएसँगै धारामा पानी आउँदैन । जसले गर्दा खोलामा पानी ल्याउन जानुपर्छ । विद्यार्थीलाई दशभन्दामाथि पढ्ने विद्यालय छैन’, गाहामगरले भन्नुभयो,‘स्थानीय समस्याहरु वडा कार्यालयमा भन्दा ठुला समस्या छन्, वडाबाट हुँदैन नेतालाई भन्नुपर्छ भन्नुहुन्छ । तर प्रदेश र प्रतिनिधिसभाका नेताहरु चुनाव जितेपछि भेट्नै गाह्रो हुन्छ ।’

पानीकै कारण दुई ठाउँमा बसोवास

हाँसीपुरका अधिकांस स्थानीयबासीका दुई ठाउँमा घरहरु छन् । हाँसीपुर पहाडी क्षेत्र हो । यहाँ पानीको मुख्य समस्या छ । जसले गर्दा पशुपालन तथा अन्नपात उत्पादन हुँदैन । त्यसैले खानेपानी, अन्नपात उत्पादनसँगै पशुपालनका लागि अधिकांस स्थानीयहरु पहिलेदेखि नै दुई ठाँउमा बस्ने गर्दै आएका छन् । अहिलेपनि अधिकांस घरको दुई पायक रहेको स्थानीय सर्मीला गाहामगर बताउनुहुन्छ ।

उहाँका अनुसार हाँसीपुरलाई बस्नलाई मुल थलो बनाएपनि पशुपालन, खेती र घाँस दाउराका लागि सोही वडाका सालबास, गुराँसे र भुल्के भन्ने ठाँउहरूमा बस्ने गर्नुहुन्छ । सालबास, गुराँसे र भुल्के भन्ने ठाउँमा बसेर सिजन अनुसार खोलाका किनारामा खेतीपातीसँगै गाई, भैसी, बाख्रालगायतका पशुपालन गर्ने गरेको बताउनुहुन्छ । उहाँका अनुसार हासीपुरमा रहेका करिव ७० घरहरु मध्य ८५ प्रतिशत मगर समुदाय रहेका छन् भने बाँकी क्षेत्री र दलित समुदाय बसोवास गर्दछन् ।

Blog Post Ad Blog Post Ad