Ad Area

घोराहीको प्रशासनिक भवन अलपत्र, साढे चार करोड बढी खर्च


घोराही,१५ फागुन । निर्माण व्यवसायीसँगको सम्झौताअनुसार घोराही उपमहानगरपालिकाको अण्डरग्राउण्ड पार्किङ सहितको प्रशासनिक भवन निर्माण सकिन अब करिव साढ दुई महिना बाँकी छ ।

२० करोडको लागतमा दुई वर्षभित्र निर्माण सक्ने गरी अण्डरग्राउण्ड पार्किङ र लिफ्ट सहितको सुविधासम्पन्न पाँचतले भवन निर्माणका लागि २०७८ बैशाख ६ गते गौरी–पार्वती÷भुसाल बस्नेत जेभीसँग सम्झौता भएको थियो । तर निर्माण व्यवसायीको चरम लापरबाहीका कारण सम्झौता मिति सकिन करिव साढ दुई महिना बाँकी रहेपनि गत असोज महिनादेखि काम ठप्प छ । जस्ले गर्दा भवनको भौतिक प्रगति २० प्रतिशत मात्रै रहेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

निर्माण व्यवसायीको लापरबाहीका कारण भवन निर्माण कार्यमा ढिलाइ भइरहेको उपमहानगरपालिका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर युवराज पौडेलले बताए । प्रशासनिक भवन अहिलेको निर्माण व्यवसायीबाट नबन्ने भएकाले सम्झौता मिति सकिएपछि सम्झौता तोड्नका लागि पखाइमा रहेको पूर्वाधार महाशाखा प्रमुख इञ्जिनियर पौडेलले बताए ।

‘अहिलेको अवस्थामा यही ठेकेदारबाट भवन निर्माणको काम हुनसक्ने अवस्था देखिँदैन’, महाशाखा प्रमुख इन्जिनियर पौडेलले भने, ‘यो निर्माण कम्पनीसँग सम्झौता तोड्नुको विकल्प छैन तर त्यसका लागि पनि सम्झौता सकिने मिति पर्खिनुपर्ने अवस्था रहेको छ ।’ निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा समेत निर्माण व्यवसायीको अटेरीका कारण समयमा भवन निर्माणको काम हुन नसकेको बताए । ठेक्का सम्झौता अनुसार २०८० बैशाख ३० गतेसम्म भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने छ तर भवन निर्माणको काम भने गत असोज महिनादेखि ठप्प छ ।

निर्माण कम्पनीले भवन निर्माणका लागि भनेर हालसम्म करिब साढे ४ करोड बढी भुक्तानी लिइसकेको छ । ‘सुरुमा काम गर्दा र पछि काम गरिरहेको अवस्थामा गरेर निर्माण व्यवसायीले साढे चार करोड बढी रकम भुक्तानी लिइसकेको छ’, इन्जिनियर पौडेलले भने, ‘तर काम भने हुन सकेको छैन ।’ जसका कारण उपमहानगरपालिकाको आलोचना समेत हुने गरेको छ ।

Blog Post Ad

सम्झौता सकिन लाग्दा ठेकेदार सम्पर्कमा

प्रशासनिक भवनको सम्झौता म्याद सकिन करिब अढाई महिना बाँकी रहँदा भवन निर्माणको कामलाई अलपत्र बनाउने निर्माण व्यवसायी सम्पर्कमा आएको घोराही उपमहानगरपालिकाले जनाएको छ । सम्पर्कमा आएका निर्माण व्यवसायीले यही अवस्थामा भवन निर्माणको कामलाई अघि बढाउने बताए पनि उपमहानगरपालिकाले भवन निर्माणका लागि खनेको खाडलमा पानी जम्मा भएर पिलर तथा बिममा प्रयोग भएका छडमा खिया लागेका कारण अब ती छडहरू प्रयोगयोग्य छन् कि छैनन् भन्ने जाँच गरेर मात्रै भवन निर्माणको कामलाई अघि बढाउने पक्षमा रहेको पूर्वाधार महाशाखाका इन्जिनियर सन्दीप घिमिरेले बताए ।

‘म्याद सकिनै लाग्दा ठेकेदार सम्पर्कमा आएर काम गर्छु भनिरहेको छ तर प्राविधिक पक्षको जाँच गरेर मात्रै काम अघि बढाउनुपर्ने भएकाले अहिले काम हुनसकेको छैन’, इन्जिनियर घिमिरेले भने, ‘प्राविधिक जाँचका लागि भवन निर्माणसम्बन्धी काम गर्ने एनसेटको टिमलाई काठमाडौंबाट बोलाएका छौँ । २÷४ दिनमा प्राविधिक टिम आउने कुरा भएको छ । लामो समयसम्म खाडलमा पानी जम्मा भएर खिया लागेका छडहरू र अलपत्र परेको ढलानमा नयाँ काम गर्दा जडान गर्न उपयुक्त हुन्छ या हुन्न भनेर जाँच गरिसकेपछि के गर्ने भन्ने निष्कर्षमा पुगिने अवस्था छ ।’

Blog Post Ad Blog Post Ad