Ad Area

मुक्त कमलरी सशक्तीकरण परियोजना बारे अन्तरक्रिया


घोराही, १४ फागुन । मुक्त कमलरी विकास मन्चले पालिका परियोजना सल्लाहकार समिति बैठक तथा परियोजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । आईएम नेपालसँगको साझेदारीमा घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ८ मा संचालित मुक्त कमलरी सशक्तीकरण परियोजनाले विगतमा गरेका काम र यो वर्ष संचालन गर्न लागेका कामलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ आईतबार घोराहीमा अन्तरक्रिया आयोजना गरेको हो ।

सन् २०२१ बाट शुरु भएको परियोजनाले २ वर्ष पूरा गरि यो वर्ष पनि संचालनको प्रकृयामा रहेको हुँदा समुदायमा कसरी अगाडि बढाउँदा प्रभावकारी हुन्छ भन्ने लक्ष्यका साथ अन्तरक्रिया गरिएको मुक्त कमलरी विकास मन्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले जानकारी दिनुभयो ।

लक्षित समुदायका लागि गर्न थालिएको कार्यक्रम प्रभावकारी बनाउन वडा, पालिका, सरोकार निकायसँग राय सुझावका आधार अघि बढ्न खोजेको हुँदा यस वर्षका लागि विनियोजित ६४ लाख २४ हजार बजेटमा ३३ बढी कार्यक्रम गर्न थालिएको बताउनुभयो । वडा नम्बर २,४ र ८ मा संस्थाले बालविवाह न्युनीकरण, हिंसा निवारण, उद्यमशीलता विकास, कृषि कार्यक्रमलगायत सीपमुलक कार्यक्रम गर्दै आएको छ ।

मुक्त कमलरीहरुको व्यक्तिगत जीवन र सामाजिक अवस्थामा सुधार ल्याउन पहल गर्दै आएको संस्थाले परियोजनामार्फत उनीहरुको हक अधिकारका बारेमा सचेत र जागरुक गराई सामाजिक र आर्थिक रूपमा शसक्तिकरण गर्ने, सिप सिकाई आत्मनिर्भर बन्न प्रेरित गर्ने, विभिन्न सिप तथा छलफलमा लगाउन सहयोग गर्ने, समाजमा रहेका नराम्रा कुरीति, कुसंस्कारलाई पहिचान गरी त्यस्ता कृयाकलाप नियन्त्रण गर्न सहयोग गर्ने, बालविवाह जस्ता जघन्य अपराध नगर्न र नगराउन अभिप्रेरित गर्ने, महिला माथि हुने विभिन्न विभेद र हिंसाका बारेमा सचेत गराई हिंसा मुक्त समाजको निर्माणमा जोड दिने, विभिन्न निकायहरुमा महिलाहरुको पहुँच बढाउने र उद्यमि बन्न हौसला प्रदान गर्ने, सरकारी निकाय जस्तै वडा कार्यालय, नगरपालिका, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, भुमिसुधार, साना तथा घरेलु उद्योग, कृषि तथा पशु कार्यालय आदिहरुमा महिला र नागरिकहरुको सहभागीता र पहुँच बढाउने तथा मुक्त कमलरी र विपन्न महिलाहरुको विकासका लागी स्थानिय निकायलाई उत्तरदायी बनाउने लगायत थुप्रै काममा संस्थाले भूमिका खेल्दै आएको छ ।

Blog Post Ad

कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संस्थाले गर्ने काम समाजको हीत हुने पक्षमा रहेको हुँदा यसलाई व्यक्तिवादी भन्दा समुदायको हीत उन्मुख बनाउन अब परिणाममुखी कार्यक्रममा ध्यान दिनुपर्ने बताउनुभयो । गैरसरकारी संस्थाको काम सचेतना जगाउने काम भएको हुँदा यसलाई सम्बन्धित निकायसम्म जोड्न आवश्यक रहेको हुँदा कमलरी शब्द भन्दा समग्र नागरिकका लागि काम भएको छ की छैन भन्ने कुरामा पनि समावेशी रुपमा अघि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङका प्रमुख घनश्याम चौधरीले परियोजनामार्फत उद्यमशील तालिम र बजारीकरणको सीप सम्बन्धि तालिम प्रदान गर्ने कार्यमा ध्यान दिन सुझाव दिनुभयो । सबै क्षेत्रमा हात हाल्ने भन्दा कुन क्षेत्रमा काम प्रभावकारी बन्न सक्छ भन्ने पहिचान गरि काम गर्न उहाँको अपिल थियो । यसैगरी, वडा नम्बर ४ की वडा सदस्य रमला चौधरी, वडा नम्बर २ का अध्यक्ष चित्रबहादुर चौधरी, विडा नम्बर ८ का वडा सदस्य चुरामणि चौधरी, घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका मोतीराम न्यौपाने, प्रकृति मैनालीले लगायतले मुक्त कमलरी विकास मन्चले स्थानीय सरकारसँगको समन्वयमा विगतदेखि नै गर्दै आएको कामले थुप्रै राम्रा अभ्यासको थालनी भएको बताउनुभयो । सकारात्मक काममा सहयोग रहने उहाँहरुको प्रतिवद्धता थियो ।

ग्रामीण महिला उत्थान केन्द्रका एचबि थापाले पुनस्थापनाको बारेमा नसोची हठाटमा गरिएको मुक्त कमलरी घोषणाले अहिलेसम्म समस्या भईरहेको हुँदा अब मुक्त कमलरीहरुको बारेमा सरकारले गम्भीर रुपमा चासो लिनुपर्ने बताउनुभयो । सामाजिक सहजकर्ता सुनिता चौधरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत सुलोचना चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad