Ad Area

नातिनीको जन्मदिनमा वृद्धाश्रम र अपांग संघमा अक्षयकोष स्थापना


घोराही, १५ फागुन । आफ्नी नातिनी आशिका पुनको पहिलो जन्मदिनको अवसरमा हजुरबुवा मेघबहादुर पुन र हजुरआमा लालपुरी पुनले जेष्ठ नागरिक र अपांगता भएकाहरु बस्दै आएका दुई वटा सामाजिक संस्थालाई १ लाख बढी नगद सहयोग गरेका छन् ।

घोराही १४ स्वर्गद्वारी टोलमा बस्दै आएका पुन परिवारले आफ्नी नातिनीको जन्मदिनको अवसरमा सोमबार घोराही १६ स्थित जेष्ठ नागरिक सरोकार केन्द्र, वृद्धाश्रममा बस्दै आउनुभएका जेष्ठ नागरिकहरुलाई खाना खुवाउनेदेखि न्यायो कपडा सहयोग गर्नुभएको छ भने नातिनी आशिकाको नाममा ५५ हजार ५ सय ५५ रुपैयाँको आशिका पुन मानव सेवा अक्षय कोष स्थापना गर्नुभएको छ । प्रेस काउन्सिल सदस्य शरद अधिकारीको विशेष उपस्थितीमा केन्द्रकी कार्यालय प्रमुख हिरा शाहलाई सोरकम हस्तान्तरण गरिएको हो । सो अवसरमा अधिकारीले सामाजिक सेवा नै मानव सेवाको सबैभन्दा उत्तम कार्य भएको हुँदा पुन परिवारले गरेको पुन्य कामले जेष्ठ नागरिकको आशिर्वाद रही रहने बताउनुभयो ।

यसैगरी, नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी शाखामा बस्दै आएका अपांगता भएकाहरुका लागि पनि पुन परिवारले अक्षयकोष स्थापना गरेको छ । संघका उपसचिव बसन्तराज भट्टको विशेष उपस्थितीमा आशिका अपांग कल्याण अक्षयकोष नाममा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।

फजुल खर्च कटाएर मानव सेवाभावका साथ गरिएको सहयोगले लक्षितव्यक्तिहरुलाई राहत होस् भन्ने उद्देश्यका साथ सहयोग गरिएको पुन परिवारको भनाई छ । जन्मदिनमा गरिने अनावश्यक खर्चले क्षणिक मनोरन्जन भएपनि मानव सेवासहित गरिएको सहयोगले मनमा धेरै खुशी मिलेको उहाँहरुको भनाई थियो ।

लिनेभन्दा दिनेको हात सँधै माथि भए जस्तै गरिएको सहयोगले धेरै ठूलो काम हुने संस्थाको भनाई छ । नातिनीको जन्मदिन जेष्ठ नागरिक र अपांगता भएकाहरुसँग मनाउँदै अक्षयकोष स्थापना गरी मानव सेवा गरेको भन्दै दुवै संस्थाले धन्यवाद दिएको छ । कार्यक्रमको सहजीकरण डाक्टर लोकराज पराजुलीले गनुभएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad