Ad Area

बढ्दो महंगी, भ्रष्टाचार विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको विरोध प्रदर्शन


घोराही, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ जिल्ला समितिले महंगी, भ्रष्टाचार, चर्को ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध विरोध प्रदर्शन गरेको छ । सो पार्टीले सोमबार घोेराहीमा र्यालीसहितको विरोध कार्यक्रम गरेको हो ।

देशमा बढ्दो आर्थिक संकटका कारण नागरिकले दुख पाउने मात्रै नभई अनाहकमा आत्महत्याको बाटोमा अग्रसर हुने अवस्था सिर्जना भएको भन्दै राज्य संचालकलाई गम्भीर बन्न चेतावनी दिएका छन् ।

घोराहीको तुलसीपुर चोकमा आयोजित विरोध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य सीता बिक सम्झनाले देश बनाउछु भन्ने भ्रष्ट नेताहरुबाट जनताले सुख पाउन सक्ने अवस्था नरहेको हुँदा जनदवाव आवश्यक रहेको बताउनुभयो । वैज्ञानिक समाजवादसहितको समावेशी व्यवस्था नआएसम्म देश र जनताले मुक्तिको सास फेर्न नपाउने हुँदा दलाल पूँजीवादका विरुद्ध जनता एक ठाउँमा उभिनु पर्ने बेला आएको बताउनुभयो ।

पार्टीका पोलिट व्युरो सदस्य बलबहादुर वलीले देशमा शान्ति, विकास र स्थायित्वका लागि लामो समय देश बन्दी बनेको हुँदा अब एकीकृत जनक्रान्तिको माध्यमबाट जनताको आवाज सुन्ने र देश बनाउने अभियानमा सबै लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बैंक तथा वित्तिय संस्थाहरुको ज्यादतिले व्यवसायीहरु पलायन हुनेक्रम बढेको बताउँदै व्यवसायीलाई जिउँदै मार्ने खेलमा सरकार नै लागेको आरोप लगाउनुभयो । नेपाल कम्युनिस्ट पार्टीले दाङसहित देशैभर विरोध कार्यक्रम गरेको थियो । बढ्दो बैंक ब्याजदर, लघुवित्त संस्थाको ज्यादति र मिटर ब्याज विरुद्धको आन्दोलनलाई कमजोर नठान्न उहाँको चेतावनी थियो ।

संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले जनता उपाय नलागेर सडकमा आउँदासम्म पनि सरकार मुकदर्शक भएर बसेको भन्दै अब वृहत जनदवाव आवश्यक रहेकोमा जोड दिनुभयो । विरोध सभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङ जिल्ला समिति सचिव जनक बिकले गर्नुभएको थियो । गत ५ गते पनि दाङमा विरोध कार्यक्रम भएको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad