Ad Area

सुनचाँदी व्यवसायीको गुनासो, राज्यले हामीलाई गलत नजरले हेर्यो


घोराही, २१ फागुन । सुनचाँदी व्यवसायीलाई राज्यले गलत नजरले हेर्दा व्यवसाय संचालनमा अनेकौं समस्या सिर्जना भएको वक्ताहरुले गुनासो गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीको शनिबार घोराहीमा सम्पन्न २१ औँ साधारणसभामा बोल्ने वक्ताहरुले देशको आर्थिक विकासमा योगदान दिँदै आएका सुनचाँदी व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण बदलिन आवश्यक रहेको बताउनुभयो ।

संघका अध्यक्ष विनोद रसाईलीको अध्यक्षतामा तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष मोहन सुनारको प्रमुख आतिथ्यमा भएको साधारणसभामा सुनचाँदी व्यवसायीलाई राज्यले चोरको नजरबाट हेर्ने, विभिन्न बहानामा दुख दिने, व्यवसायीहरुलाई अनेकन आरोप खेप्नुपर्ने जस्ता समस्याले व्यवसाय धान्न धौधौ भएको हुँदा विद्यमान समस्या समाधानका लागि व्यवसायीहरु अब अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।

वक्ताहरुले बहुमुल्य बस्तुको कारोबार गरेर नेपालको अर्थतन्त्रमा भुमिका खेल्दै आएको सुनचाँदी व्यवसायलाई प्रोत्साहन गर्नुको साटो चोरको दर्जा दिएर अनेकन दुख दिने काम गरेको आरोप लगाउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली भन्नुभयो, ‘दिगो सरकार नहुने, बारम्बार हेरफेर हुने कारणले पनि हामीले उठाउँदै आएका मागहरु समाधान हुन सकेका छैनन्, त्यसमा पनि सुनचाँदी व्यवसायीको समस्यामा चासो कम हुँदा विभिन्न खालका व्यवहारिक कठिनाई भईरहेको छ ।’

तत्कालीन समयमा तयार पारिएको मस्यौदामा पचास ग्रामसम्मको सुनमा बिल बिजक नचाहिने, विदेशबाट खरिद गरि ल्याएका सिमित मात्राको सुनलाई आधिकारिता दिनुपर्ने विषय सम्बोधन गर्नेलगायत कुरा समावेश गरिएको हुँदा मस्यौदा पारितका लागि देशभरबाट दवाव सिर्जना हुन लागेको उहाँले बताउनुभयो ।

कार्यक्रममा महासंघको केन्द्रीय कोषाध्यक्ष सुदीप श्रेष्ठले सुन वितरणमा विभेद भएको हुँदा माग र आवश्यकतालाई ध्यानमा राखेर उचित व्यवस्थापन गर्न अपिल गर्नुभयो । अरु जिल्लाले पाउने कोटाभन्दा दाङलगायत यस क्षेत्रका व्यवसायीले पाउने सुनको कोटा कम रहेको तर्फ ध्यानाकर्षण गराउँदै २०७६ बाट शुरु भएको कोटा प्रणालीको वितरणलाई समय अनुसार व्यवस्थापन गर्न सुझाव दिनुभयो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले सुनचाँदी व्यवसायीलाई राज्यले हेय दृष्टिले हेरिनु दुखद रहेको बताउनुभयो । बहुमुल्य बस्तुको कारोबार गर्ने, मौद्रिक व्यवस्थापनमा भुमिका खेल्ने निकायको ध्यानाकर्षण गराउँदै प्रहरी प्रशासनले सुनचाँदी व्यवसायीलाई पटक पटक दुख दिनेकाम गरेको बताउनुभयो ।

Blog Post Ad

कार्यक्रममा संस्थापक कोषाध्यक्ष टेकबहादुर स्वर्णकार, सुनचाँदी महिला व्यवसायी निर्मला बिक, लुम्बिनी प्रदेश अध्यक्ष बुद्धिबहादुर दियाले, केन्द्रीय सदस्य ध्रुवकुमार गहतराज, बर्दिया जिल्ला अध्यक्ष हर्कमान सुनार, तुलसीपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष हरिकृष्ण बिक, सल्यान अध्यक्ष मेघराज बिक, संघका पूर्व अध्यक्ष खड्गबहादुर विश्वकर्मालगायतले सुनचाँदी व्यवसायीको पेशागत हकहितका पक्षमा राज्य उदार बन्न अपिल गर्नुभयो । महासचिव मानबहादुर सेर्पाईलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जनक नेपालीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad