Ad Area

हातेमालो सहकारीमा सहकारी शिक्षा, वचत गर्ने बानी बसालौँ


घोराही, २१ फागुन । फजुल खर्च कटाएर दैनिक रुपमा थोरै थोरै वचत गर्ने बानीको विकास गर्न सके भविष्यका लागि संचित रकम निकै उपयोगी हुने सहकारी क्षेत्रका जानकारहरुको सुझाव छ । हातेमालो वचत तथा ऋण सहकारी संस्था लिमिटेडको समीक्षा गोष्ठी तथा सहकारी शिक्षा विषयक प्रशिक्षण कार्यक्रममा सहकारी क्षेत्रमा लामो समयदेखि कृयाशील रहनु भएका होमलाल भुसालले वचत गर्ने बानीको विकास अझैसम्म हुन नसकेको तर्फ ध्यानाकर्षण गराउँदै दैनिक रुपमा अनावश्यक खर्च गर्ने बानी सुधार्न सके भविष्यमा त्यही रकमले ठुलो काम गर्ने बताउनुभयो ।

संस्थाकी कार्यवाहक अध्यक्ष भगवती शर्माको अध्यक्षतामा शनिबार घोराहीमा भएको कार्यक्रममा उहाँले संस्थाको अधिकांश सुचक राम्रो भएको हुँदा आगामि कार्ययोजना, कार्य विभाजन, समिति, उपसमितिले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । यसैगरी, शेयर सदस्यहरुमा सहकारी शिक्षा जगाउन तथा सहकारी ऐन २०७४ मा स्थिरीकरण कोषले सरकारले अघि सारेको योजनालाई सही ढंगले व्यवस्थापन गर्न सकेमा बिमाको सेवा लिन सकिने बारे जानकारी गराउनुभयो ।

सहकारीको दीर्घकालीन व्यवस्थापनका लागि नीतिमा रहेर मात्रै काम गर्न, कार्य क्षेत्रभित्रको सदस्य र उनीहरुबाट कारोबार गर्न प्रेरित गर्नुपर्ने, तीन महिना वा सो भन्दा बढी वचत गरेका सदस्य पहिचान गरेर काम गर्नुपर्ने, सहकारी संस्था नाफामुखी भन्दा पनि सेवामूलक संस्था भएको हुँदा सन्दर्भ ब्याज दर, सहज सेवा प्रवाहलगायत सामाजिक सेवामा पनि ध्यान दिनुपर्ने, सहकारीमा निशर्त र निस्वार्थ भावका साथ समर्पित हुनुपर्ने प्रशिक्षक भुसालको सुझाव थियो । संस्थामा जोडिएर १३ वर्षसम्म गरेको वचत निकै थोरै रहेको हुँदा आगामी दिनमा वचतको विकासमा जोड दिन पनि सबैमा उहाँको सुझाव थियो ।

प्रेस काउन्सिल सदस्य एवम् संस्थाका सदस्य शरद अधिकारीले संस्था स्थापना भएको १३ वर्षको वृहत समिक्षा गर्दै वर्तमान समयमा सहकारी क्षेत्रमा देखा परेका समस्या चिर्दै नवीन प्रविधि र प्रयोगमा जोडिन आग्रह गर्नुभयो । सहकारी शिक्षाको चेतनास्तर हरेक शेयर सदस्यसँगै वचतकर्तासम्म पुर्याउन सकेमा मात्रै वचतको विकास हुने र भविष्यको सही योजनामा काम लाग्ने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा संस्थाका सचिव केशवदिपक न्यौपानेले संस्थागत प्रगति विवरण प्रस्तुत गर्दै शेयर सदस्यहरुबाट उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो । उहाँले सामाजिक उत्तरदायित्व अन्तरगत पाण्डवेश्वर मन्दिर परिसरमा प्रतिक्षालय बनाउने काम हुन थालेको, आगामि दिनमा माग र आवश्यकतालाई ध्यानमा राखेर अरु क्षेत्रमा पनि काम गर्ने संस्थाको विकासका लागि सुझाव दिन पनि अपिल गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुबाट आएका जिज्ञासाहरुको जवाफ दिँदै सचिव न्यौपानेले संस्थाले विभिन्न वचत शीर्षकबाट बचत संकलन, ऋण लगानी, कर्मचारी व्यवस्थापन, १८ प्रतिशतसम्मको आकर्षक लाभांश तथा करिव ३६ लाख बराबरको संरक्षित पूंजी फिर्ताकोष रकम वितरण लगायतका कार्य गर्न सफल भएको बताउनुभयो । यसैगरी, शेयर सदस्य संख्या २ हजार ६ सय ९७ बाट ३ हजार ४७ पुर्याउने लक्ष्य रहेकोमा हाल सम्म २ हजार ८ सय ५५ पुगेको जानकारी गराउनुभयो ।

Blog Post Ad

समिक्षा कार्यक्रममा सल्लाहकार बेगमबहादुर भण्डारी, डा. लोकराज पराजुली, युवराज थपलियालगायतले बोल्नुभएको थियो । शिक्षा तथा प्रशासन उपसमिति छमा पराजुलीको स्वागत मन्तव्यबाट शुरुभएको समीक्षा कार्यक्रमको सहजीकरण ऋषिराम रिजालले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad