व्याडमिन्टनमा भविष्य खोज्दै सुरज,भन्छन् खेलकै माध्यमबाट नाम लेखाउन मन छ
दाङ, २० फागुन । व्याडमिन्टनका खेलाडी सुरज गुप्ता ‘लडडु’लाई सुरुमा खेलाडीका रूपमा अघि बढूँला भनेर कहिल्यै लागेन । सुरुमा उनलाई न व्याडमिन्टन खेलको बारेमा थाहा थियो न त उनले खेल देख्ने अवसर प्राप्त गरेका थिए । फुटबल, भलिबललगायतका खेलबारे अध्ययनसँगै स्कूल पढ्दा खेलेको देख्ने गरे पनि व्याडमिन्टन खेलेको देखेका थिएनन् ।
तर संयोग नै भन्नुपर्छ सुरजले जुन खेल देखेका थिएनन्, उनको घर नजिकै घोराही उपमहानगरपालिका–१४ अन्तर्गत गणेश मन्दिर अगाडिको खानेपानी ट्याङ्कीको खुल्ला जमिनमा त्यही खेल व्याडमिन्टनको कोर्ड निर्माण गरियो, त्यही ठाउँमा खेल्न व्याटमिन्टन खेल खेल्न थालेपछि उनको ध्यान व्याटमिन्टन खेलतिर तानियो । सुरुमा ब्याटले ककलाई हानेर खेलेको देख्दा रमाइलो लाग्थ्यो र त्यहीले गर्दा खेलाडीहरू बिहान खेल्न आएपछि उनी उठेर खेल नसकिँदासम्म नजिकै बसेर हेरिरहन्थे । आफ्नै घर अगाडि खेलिने उक्त खेल बुझ्नसँगै कोर्डमा प्रवेश गर्नका लागि उनलाई करिब ६ महिनासम्म खेललाई हेरेरै बस्नुप¥यो । विगतलाई सम्झँदै उनी भन्छन्, ‘घरमा टिभी थिएन, अहिलेजस्तो इन्टरनेटको समय पनि थिएन । त्यसैले मैले बिहानै उठेर दाइहरू खेल्न आएपछि कतै नगएर व्याडमिन्टन खेल खेलेको हरिरहन्थे । हेर्दै गर्दा कहिलेकाहीँ कक् आफ्नो छेउमा आउँथ्यो । त्यो कक् छुन पाउँदा मन दङ्ग हन्थ्यो ।’
प्रायः सधैँ खेल हेर्न जानथालेपछि खेल्ने दाइहरूले राम्रो मानेर बोलाउन थाले र पछि नजिक हुने अवसर मिलेको उनी बताउँछन् । यसरी करिब ६ महिना खेल हेरेपछि खेलका बारेमा जानकारी लिए । खेलले आफ्नो ध्यान तानेपछि उनी दैनिक रूपमा उक्त ठाउँमा जाने र खेल हेर्न थाले । उनी दिनहु खेल मैदानमा पुग्न थालेपछि उक्त कोर्टमा खेल खेल्ने अग्रज खेलाडीले उनलाई बाहिर गएको बल पु¥याउन पठाउने र सिक्नका लागि पुराना, भाँचिएका ब्याटमिन्टन र कक् दिन थाले ।
सुरजले साथीहरूसँग त्यही ब्याट र कक् लिएर सडकमै खेल्न थाले र सिक्दै गए । उनको खेलप्रतिको त्यो लगाव र भाँचिएकै ब्याटबाट पनि राम्रो खेल्नसक्ने हुनथालेपछि काहिलेकाहीँ कोर्टमा कुनै खेलाडी थकित भएको समयमा वा खेलको अन्तिमतिर मौका पाउन थाले । त्यही मौकाले उनलाई कोर्डमा आफ्नो खेल देखाउने अवसर दिने गरेको उनी बताउँछन् । कोर्डमा निरन्तर रूपमा खेल्ने खेलाडीहरूसँग खेल्न पाउँदा उनी खुसी हुँदै आफ्नो मिहिनेतले खेल्ने गर्थे । जसले गर्दा सुरजको छोटो समयमै गरेको प्रगति र खेलप्रतिको लगावको अग्रजहरूले प्रशांस गर्दथे ।
व्याडमिन्टन खेल हेर्ने अवसर पाएका सुरज अहिले नेपाल व्याडमिन्टन संघले गरेको खेलाडी वर्गीकरणमा अण्डर एज गु्रपमा राष्ट्रिय खेलाडीका रूपमा छैठौँ नम्बरमा परेका थिए । व्याडमिन्टन खेलसँग जोडिएको लामो अनुभव उनीसँग नभए पनि खेल क्षेत्रको प्रगति भने प्रशंसनीय छ । करिब आधादशक अघिसम्म ब्याटमिन्टन खेल भनेको कस्तो खेल हो भन्नेसम्म थाहा नपाएका सुरज व्याडमिन्टनमा आफ्नो नाम चिनाउन सफल भएका छन् ।
उनमा राम्रो सम्भावना देखेपछि अग्रजहरूले नै उनलाई घोराही कर्भडहलमा थप सिक्नका लागि पठाए । त्यहाँ खेल्ने र सिक्ने अवसर पाएपछि उनको खेलमा थप सुधार हुँदै गयो । खेलसँगै उनले व्याटमिन्टनसम्बन्धी थप ज्ञान समेत हासिल गर्ने अवसर पाए । त्यसले उनलाई निर्खादै लग्यो । जसको परिणाम अभ्यास खेलमा राम्रो गर्दै गए । त्यसपछि पहिलो पटक दाङमा भएको जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भए तर उनले सफलता भने प्राप्त गर्न सकेनन् । उनले त्यसपछि खेलमा थप सुधार गरे । उनलाई अग्रज खेलाडीहरुले अघि बढ्न हौसला दिए । त्यो हौसलाले उनलाई खेलमा अघि बढ्न उर्जा दिएको उनी बताउँछन् । त्यसपछि उनले जिल्ला, क्षेत्र, प्रदेश हुँदै राष्ट्रिय तथा केही अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा समेत सहभागी भइसकेका छन् ।
उनी पुष्पलाल स्मृति राष्ट्रिय प्रतियोगिता, २०७७ सालमा नेपालगञ्जमा भएको प्रदेशस्तरीय ओपन व्याडमिन्टन प्रतियोगितामा डबलतर्फ शिव थापासँग जोडीमा प्रथम, २०७८ बुटवलमा भएको प्रदेशस्तरीय म्यान्स सिङ्गल प्रतियोगितामा प्रथमसँगै दाङ जिल्लासँगै विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने गर्दछन् । त्यसका साथै पल्छिलो समय छिमेकी देश भारतको गोहाटीमा भएको ‘व्याडमिन्टन एसिया साउथ एसियन जुनियर क्षेत्र च्याम्पियन–२०२२ मा समेत उत्कृष्ट खेल प्रदर्शन गर्दै कास्य पदक जित्न सफल भएका थिए । प्रतियोगितामा नेपालबाट सहभागी भएका खेलाडीहरू कविर केसी, सहिल चन्द, रोजी राई र रिहाना शेरचनाले अण्डर–१५ र सुरज गुप्ता, डेविड थापा मगर, रोम पाण्डे र सहिल चन्दले अण्डर–१७ मा प्रतिष्पर्धा गरेका थिए ।
उनले २०७५मा बिराटनगरमा भएको व्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएपनि सफलता प्राप्त गर्न सकेनन् । ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका घोराही उपमहानगरपालिका–१४ शिवमन्दिर टोल निवासी १९ वर्षीय खेलाडी सुरजलाई सबैले व्याडमिन्टका लडडु भनेर चिन्छन् । करिब चार–पाँच वर्षको अवधिमा ४० बढी खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिसकेका छन् । पछिल्लो समय उनी घोराही १५ भरतपुरस्थीत नारायण सल्याणी स्मृति भवनमा खेल सिक्दै र आफुभन्दा सानालाई भाईबहिनीहरुलाई सिकाउँदै आएको बताउँछन ।