Ad Area

घोराहीको शैक्षिक सुधारका लागि ‘एक वडा एक नमूना विद्यालय’


घोराही, २२ फागुन । घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारको अभियानलाई नवीन रुपमा अघि बढाउन नमूना विद्यालय पहिचान गरी ‘एक वडा एक नमूना विद्यालय’ कार्यान्वयनको रुपमा अघि बढाउन थालेको छ । उपमहानगरको सामाजिक विकास महाशाखाले पालिकाका १९ वटै वडाको शैक्षिक अवस्था सुधार गर्न नमूना विद्यालयको रुपमा अघि बढाउन थालेको हो ।

यसअघि केन्द्र सरकारले घोराही १५ स्थित पद्मोदय पब्लिक नमूना मावि र घोराही १८ श्री मावि रझेनालाई प्रदेश सरकारले नमूना विद्यालयको रुपमा घोषणा गरी कार्यान्वयन गरिरहेका बेला स्थानीय सरकारले पनि आफ्नै पहलमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि हरेक वडामा एक वटा नमूना विद्यालय बनाउन विद्यालय छनोट गरी कार्यान्वयनको प्रकृयामा अघि बढेको छ ।

सामाजिक विकास महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलका अनुसार, सामुदायिक विद्यालयको शैक्षिक स्तर तल्लो तहबाट सुधार गर्दै विद्यार्थीको पनि आकर्षण बढाउन यो कार्यक्रम अघि सारिएको हो । घोराहीमा ९४ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा ५३ वटा प्रावि, १५ वटा आधारभूत र २६ वटा मावि तहका रहेका छन् ।

जसअनुसार नमूना विद्यालयमा संस्थागत विद्यालय सरह नर्सरी, एलकेजी र युकेजी कक्षा अनिवार्य संचालन हुने भएको छ । यसका लागि विद्यार्थीको शैक्षिक तथा संवेगात्मक विकासका लागि बसाई व्यवस्थापन, खानेपानीको सहज उपलब्धता, पर्याप्त शैक्षिक सामग्री, शैक्षणिक कृयाकलापको निन्तरता लगायतका काम ती विद्यालयहरुमा हुनेछन् । अन्य सबै सामुदायिक विद्यालयमा पनि एलकेजी र युकेजी कक्षा पनि अनिवार्य रुपमा संचालन गरिनेछ भने नमूना विद्यालयको असल अभ्यास अरु विद्यालयले अनुशरण गर्नेछन् ।

बालबालिकाहरुको शैक्षिक कृयाकलाप र सिकाई अरु भाषामा पनि गर्न सकिने भएपनि पछिल्लो समय अभिभावकहरु आफ्ना सन्ततिले अंग्रेजी बोल्न र लेख्न सकून भन्ने चाहना राख्ने हुँदा तल्लो तहबाटै अंग्रेजीको बलियो जग बसाल्न पनि यो नीतिलाई अगाडि ल्याईएको शाखा अधिकृत पौडेलले बताउनुभयो ।

Blog Post Ad

‘सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन नमूना विद्यालयको रुपमा एक वडामा एक विद्यालय पहिचान गरी कार्यक्रम अघि बढाएका छौँ, संस्थागत विद्यालय सरह अभिभावकले चाहे जस्तो सहज र सुलभ रुपमा बालबालिकाका लागि गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्नेछन्’, उहाँले भन्नुभयो ‘यसले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने मात्रै नभई तल्लो तहमा विद्यार्थी संख्या बढ्ने विश्वास लिएका छौँ ।’

घोराही उपमहानगरको नगर शिक्षा समितिले गरेको अनुगमन, निरिक्षणपश्चात विद्यालय पहिचान गरि फागुन १७ गते कार्यपालिकामा गरेको प्रस्तावका आधारमा १९ वटै वडामा एक–एक वटा नमूना विद्यालय बनाउने गरी निर्णय भएको छ । नमूना विद्यालय बनाउन वडा नम्बर १ बाट आधारभूत विद्यालय सिमलतारा, वडा नम्बर २ बाट गौरीबबई निमुरिया, वडा नम्बर ३ बाट सरयु आधारभूत विद्यालय भैसकुर्मा, वडा नम्बर ४ बाट आधारभूत विद्यालय सुनपुर छनोट भएका छन् ।

यसैगरी, वडा नम्बर ५ बाट महेन्द्र आधारभूत विद्यालय दलजीतपुर, वडा नम्बर ६ बाट जनकल्याण प्रावि लखुवार, वडा नम्बर ७ बाट रात्रि प्रावि शुक्रवार, वडा नम्बर ८ बाट नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्रा छनोटमा परेको छ । नगर कार्यपालिकाले वडा नम्बर ९ बाट प्रावि मकुन्डाँडा अस्परी, वडा नम्बर १० बाट नवोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अम्राई, वडा नम्बर ११ बाट प्रावि शिवपुरलाई नमूना विद्यालय बनाउने गरी छनोट गरेको छ ।

यसैगरी, वडा नम्बर १२ बाट मावि हापुर रतनपुर, वडा नम्बर १३ बाट बराहक्षेत्र मावि सेवार बनगाउँ, वडा नम्बर १४ बाट बालविकास मावि घोराही, वडा नम्बर १५ बाट सरस्वती मावि काठेकोल पनि नमूना विद्यालय बनाउने गरी छनोट गरेको छ । पालिकाले वडा नम्बर १६ बाट प्रावि सानी अम्बापुर सर्रा, वडा नम्बर १७ बाट प्रावि भैसाही, वडा नम्बर १८ बाट अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारी र वडा नम्बर १९ बाट भगवती मावि होडवाङलाई छनोट गरी नमूना विद्यालयका रुपमा स्थापित गर्ने घोराही उपमहानगरपालिकाले लक्ष्य राखेको छ ।

पालिकामा संचालित सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपात हेर्दा शिक्षक संख्या धेरै देखिने तर शैक्षिक उपलब्धी चुनौतिपूर्ण बन्दै जाने अवस्था आउने तर्फ सचेत रहँदै शिक्षकको अनुपातमा विद्यार्थी संख्या बढाउन पनि यो अभियानले सफलता दिलाउने पालिकाले विश्वास लिएको छ ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले घोराही उपमहानगर बालमैत्री पालिका घोषणा भईसकेकाले बालबालिकाको शैक्षिक स्तर सुधार्दै सबैका लागि सहज रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी सुधारिएको शिक्षामा जोड दिएको बताउनुभयो । तल्लो तहबाटै शैक्षिक सुधारको प्रयास थालनी भएको हुँदा यसले आगामी दिनमा पालिकाको समग्र शिक्षाको स्तर अझ माथि उठ्ने उहाँको विश्वास छ ।

वर्षेनी शिक्षामा पालिकाले गर्दै आएको लगानीलाई उपलब्धीमुलक बनाउन एक वडा एक नमूना विद्यालयका रुपमा कार्यपालिकाबाट निर्णय गरी अभियानकै रुपमा अघि बढाईएको हुँदा नमूना विद्यालयबाट वडामा रहेका अरु विद्यालयले पनि सिकेर लागू गराउन प्रेरित गर्ने र समग्र पालिकाभरका सबै विद्यालयमा शैक्षिक सुधारको अभियानलाई निरन्तर रुपमा अघि बढाउने पालिकाले नीति बनाएको नगरप्रमुख चौधरीले बताउनुभयो । ‘अहिले शिक्षकको अनुपातमा विद्यार्थीको सेरियो मिल्दैन, धेरै फरक छ, यसो हुनुमा शिक्षामा हामीले अझै धेरै काम गर्नुछ भन्ने नै हो’, उहाँले भन्नुभयो, ‘त्यसका लागि सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न तल्लो तहबाटै शुरु गर्नुपर्छ भनेर हामीले नमूना विद्यालय बनाउन विद्यालय छनोट गरी सोही आधारमा शिक्षकहरुको क्षमता विकासमा पनि अघि बढेका छौँ ।’

विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा आकर्षण बढाउनका लागि पालिकाले शिक्षकहरुको क्षमता विकासका साथै शैक्षिक कृयाकलापका असल अभ्यासमा लाग्न प्रेरित गर्ने सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले बताउनुभयो । उहाँका अनुसार, विद्यालय आउने हाजिर गर्ने अनि जागीर बचाउने परिपाटीले विद्यार्थीको सिकाई उपलब्धी नहुने हुँदा संस्थागत विद्यालयको असल अभ्यासलाई आत्मसात गर्दै सामुदायिक विद्यालय पनि शैक्षिक गुणस्तर कायम गर्न हरेक दृष्टिकोणले कमजोर छैनन् भन्ने अवस्था निर्माणका लागि आवश्यक तयारीका साथ यो कार्यक्रम अघि सारिएको हो ।

घोराही उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक एवम् प्रवक्ता राममणि पाण्डेले पालिकामा रहेका संस्थागत विद्यालय सरह सामुदायिक विद्यालयको शैक्षिक स्तर समान बनाउन तथा नीतिगत रुपमा पनि सुधार ल्याउन यो कार्यक्रम ल्याएको बताउनुभयो । ‘पहिलो कुरा त, पालिकामा रहेका सामुदायिक विद्यालयको शिक्षा सुधार हुनुपर्छ भन्ने नै हो’, उहाँले भन्नुभयो ‘अर्को अभिभावकहरुको आम बुझाईलाई चिर्न पनि सामुदायिक विद्यालय देखा परेका समस्या पहिचान गरी गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता हो भन्ने कुरामा पालिका स्पष्ट हुँदै नमूना विद्यालय पहिचान गरी शिक्षाका असल अभ्यास कार्यान्वयन गर्ने र अरु विद्यालयलाई पनि सोही आधारमा अभ्यासमा उतार्ने गरी आवश्यक बजेटको व्यवस्था पनि गरेका छौँ, यसले घोराहीको शिक्षा क्षेत्रमा धेरै आयाम हुने अपेक्षा छ ।’

घोराहीका सामुदायिक विद्यालयमा ईसीडीदेखि कक्षा १२ सम्म हाल साढे ३१ हजार बढी विद्यार्थी अध्ययनरत छन् । जसका लागि १ हजार ६१ जना शिक्षक कार्यरत रहेको सामाजिक विकास महाशाखाको भनाई छ । आगामी शैक्षिक सत्रबाट शिक्षक अनुपातमा विद्यार्थीको चाप बढाउने गरी अन्य प्राविधिक काम पनि थालनी भईसकेको नगरप्रवक्ता पाण्डेले बताउनुभयो ।

यसैबीच, घोराही उपमहानगरपालिकामा रहेका संस्थागत र सामुदायिक विद्यालयको शैक्षिक कृयाकलापमा एकरुपता ल्याउन एकीकृत शैक्षिक पात्रो तयार गर्न लागेको छ । यसका लागि संस्थागत विद्यालय संगठनसँग आवश्यक छलफल गरी सकेका हुँदा संस्थागत र सामुदायिक विद्यालयको समन्वयमा वार्षिक शैक्षिक गतिविधि एक रुपताका साथ संचालन होऊन् भन्ने लक्ष्यका साथ २०८० सालको शैक्षिक पात्रो तयार हुन लागेको सामाजिक विकास महाशाखाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad