Ad Area

जिल्लाभर ७६ प्रतिशतले खाए हात्तीपाइले रोग विरुद्धको औषधी


दाङ,२३ फागुन । जिल्लामा चलेको हात्तीपाइले रोग बिरूद्धको राष्ट्रिय आम औषधी सेवन अभियानले यो पटक पनि लक्ष्य भेट्नसकेको छैन । ८० प्रतिशतलाई औषधी सेवन गराउने लक्ष्य भए पनि जिल्लामा ७६ प्रतिशतले मात्र औषधी खाएका छन् । यो प्रतिशत केही बढ्न सक्नेछ । राष्ट्रिय अभियान सकिए पनि स्थानीय तहले आफै योजना बनाएर औषधी खुवाउन सक्नेछन् ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका दशवटै पालिकाहरूमा फागुन ११ देखि २१ गतेसम्म अभियान चलेको थियो । अभियानका क्रममा ७६ प्रतिशत अर्थात् ५ लाख २६ हजार ९९ जनाले औषधी सेवन गरेका छन् । अभियानका क्रममा ६ लाख ८७ हजार ७ सय ७६ जनसंख्यालाई औषधी खुवाउने लक्ष्य थियो । गत वर्ष जिल्लामा चलेको अभियानमा ६८ प्रतिशतले मात्र औषधी खाएका थिए ।

पटक–पटक जिल्लामा अभियान चले पनि लक्ष्य प्राप्त गर्नसकेको छैन । यो पटक पनि लक्ष्य प्राप्त भएन भने फेरि अर्को चरणमा अभियान चलाउनु पर्नेछ । जिल्लामा यो पटक चलेको अभियान १३औँ अभियान हो । विशेष गरेर जिल्लामा यो पटक लक्ष्य पूरा गर्नुपर्ने बाध्यता नै थियो । स्वास्थ्य कार्यालय, पालिकाहरूले अभियानलाई प्रभावकारी बनाउन पूर्वउद्घोष नै गरेका थिए तर अपेक्षा भने पूरा भएको छैन । अभियानका क्रममा जिल्लामा सबैभन्दा धेरै राप्ती गाउँपालिकामा ८२ प्रतिशत अर्थात ४३ हजार ७ सय ९९ जनाले औषधी सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्शन कमल चन्दले जानकारी दिएका छन् ।

राप्ती गाउँपलिकामा ५३ हजार ४ सय ७० जनसंख्या रहेको छ । फोकल पर्शन चन्दकाअनुसार त्यसपछि क्रमश घोराही उपमहानगरपालिकामा २ लाख ५ हजार ८ सय २७ जनसंख्यामध्य ७८ प्रतिशत अर्थात् १ लाख ६३ हजार ४ सय ९६ जना, गढवा गाउँपालिकामा ४७ हजार १ सय १४ मध्य ७९ प्रतिशत अर्थात ३७ हजार ४ सय ४६ जना, बंगलाचुली गाउँपालिकामा २३ हजार ४ सय ५८ जनसंख्यामध्ये ७८ प्रतिशत अर्थात १८ हजार दुई सय ५४ जना, शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकामा समान ७७÷७७ प्रतिशतले औषधी सेवन गरेका छन् ।

शान्तिनगरमा २८ हजार १ सय ६८ मध्य २१ हजार ६ सय ४७ जना र दंगशीरणमा २४ हजार ८० जनसंख्यामध्ये १ हजार ५ सय ९४ जनाले हात्तीपाइले बिरूद्धको औषधी सेवन छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा ७६÷७६ प्रतिशतले खाएका छन् । तुलसीपुरमा रहेको १ लाख ८४ हजार ५ सय ३१ मध्ये १ लाख ४० हजार एक सय एक जना र लमहीमा रहेको ६० हजार १ सय ६३ जनसंख्यामध्ये ४५ हजार ६ सय २६ जना, बबई गाउँपालिकामा रहेको ३१ हजार ९ सय २२ जनसंख्यामध्ये ६४ प्रतिशत अर्थात २० हजार ५ सय ६ जना र राजपुर गाउँपालिकामा रहेको २९ हजार ४३ जनसंख्यामध्ये ५७ प्रतिशत अर्थात् १६ हजार ६ सय ३० जनाले औषधी सेवन गरेका छन् ।

अभियानका क्रममा राप्ती गाउँपालिकालगायतका अन्य गाउँपालिका सफल उन्मुख रहे पनि राजपुर गाउँपालिका फेल भएको फोकल पर्शन चन्दले बताएका छन् । अभियानका क्रममा जिल्लामा गत वर्षको तुलनामा औषधी सेवन गर्नेको संख्या बढे पनि लक्ष्य भेट्न नसकेको बताए ।

Blog Post Ad

‘हात्तीपाइले रोग बिरूद्धको आम औषधी सेवन अभियानका क्रममा यस वर्ष औषधी सेवन गर्नेको संख्या बढे पनि लक्ष्य भेट्न सकेनौँ’, फोकल पर्शन चन्दले भने, ‘अभियान सकिए पनि जिल्लाका केही स्थानीय तहहरूले अहिले पनि अभियानकै क्रममा औषधी खुवाउने कार्यक्रमलाई जारी राखेकाले लक्ष्य भेट्ने आशामा छौँ ।’ साथै लक्ष्य भेट्नका लागि यस वर्षभरि नै जिल्लाका सबै स्वास्थ्यचौकीबाट हात्तीपाइले रोग बिरूद्धको औषधी खुवाइने समेत उनले बताए ।

दाङमा औषधी सेवनका लागि संघीय सरकारले ६ करोड बढी बजेट छुट्याएको थियो । जिल्लामा हात्तीपाइले रोग बिरूद्ध औषधी खुवाउनका लागि ६ सय ६१ स्वास्थ्यकर्मी र ९ सय ३२ महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिएका थिए । १२औँ पटकसम्म खुवाउँदा पनि सफल हुन नसकेको हात्तीपाइले बिरूद्धको औषधी खुवाउनका लागि यस वर्ष जिल्लामा स्थानीय तहअनुसार कुनै पालिकामा हात्तीपाइले औषधी खाने व्यक्तिलाई कार्ड, औषधी खाएका व्यक्तिहरूको नङमा मसी लगाउने, घरमा संकेत चिह्न, औषधी नखाने परिवारलाई वडाबाट हुने सेवा रोक्नेजस्ता अभियान चलाइएको थियो ।

औषधी खुवाउन राजपुरमा लापरबाही

हात्तीपाइले रोग बिरूद्धको औषधी सेवन अभियान जिल्लामा १२औँ पटकसम्म फेल भइसकेपछि यस वर्ष जसरी पनि सफल बनाउने अभियानमा जिल्ला स्वास्थ्य कार्यालय थियो । सोहीअनुसार जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुखलगायतसँग छलफल गरेको थियो । सोहीअनुसार पालिकाहरूले आ–आफ्ना योजना बनाएर औषधी खुवाउने काम गरेका थिए । तर, राजपुर गाउँपालिकामा भने लापरबाहीका कारण हात्तीपाइले औषधी सेवनको अभियानमा असफल भएको छ ।

राजपुरको २९ हजार ४३ जनसंख्यामध्ये अभियानका क्रममा १६ हजार ६ सय ३० जनाले मात्र औषधी सेवन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसको मुख्य कारण औषधी सेवनका क्रममा गाउँपालिका उपाध्यक्ष, स्वास्थ्य संयोजकलगायतका भ्रमणमा जानु मुख्य कारण रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘राजपुरमा हात्तीपाइले रोग बिरूद्धको औषधी सेवन गर्ने दर असाध्यै कमजोर रहेको छ ।

त्यो अभियानलाई सफल बनाउन जिल्लाबाटै हामी पनि लागेका थियौँ’, जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुँवरले भने, ‘तर उहाँहरू हात्तीपाइले रोग बिरूद्ध अभियानकै क्रममा भ्रमणमा जानुभयो । जसले गर्दा औषधी सेवन गर्नेमा सबैभन्दा पछाडि छ ।’ तर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले राजपुर गाउँपालिकामा हात्तीपाइले रोग बिरूद्ध कसैले पनि औषधी खान मन नगर्ने बताएका छन् ।

‘औषधी सेवनका लागि प्रचारप्रसारदेखि सचेतनामूलक कार्यक्रमहरू आयोजना ग¥यौँ तर औषधी सेवनमा नागरिकले इच्छा नै देखाएनन्’, अध्यक्ष बुढाथोकीले भने, ‘जसले गर्दा हामी औषधी सेवनमा पछाडि पर्न पुगेका छौ ।’ राजपुर पालिका मानव सूचकांकमा समेत कमजोर पालिकामा छ भने स्वास्थ्यका अन्य सूचक समेत कमजोर नै छ । भूगोलमा भने यो पालिका जिल्लाका अन्य गाउँपालिकाभन्दा ठूलो छ ।

Blog Post Ad Blog Post Ad