Ad Area

घोराही–तुलसीपुर फोरलेन सडक,ठेक्का तोड्न प्रक्रिया सुरु


दाङ, २५ फागुन । लामो समयदेखि अलपत्र अवस्थामा रहेको दाङको घोराही–तुलसीपुर फोरलेन सडक ठेक्का रद्द प्रक्रिया अघि बढेको छ । ठेक्का प्राप्त गरेको मुख्य निर्माण व्यवसायी नआउने र पेटी ठेकेदारलाई जिम्मा दिँदा काम नहुने अवस्था भएपछि फोरलेन परियोजना कार्यालय लमहीले ठेक्का रद्द गर्नु नपर्ने कारणसहित सम्बन्धित ठेकेदार कम्पनीलाई १४ दिनभित्र सम्पर्क गर्न सूचना जारी गरेको हो ।

१४ दिनभित्रमा निर्माण कम्पनी सम्पर्कमा नआए त्यही दिनदेखि नै ठेक्का रद्द हुने गरी सूचना प्रकाशित गरिएको परियोजनाका इन्जिनियर वीरबहादुर जिसीले बताए । जिल्लाको मुख्य सडकका रूपमा रहेको फोरलेन सडक निर्माणका लागि पटक–पटक गरी चार पटक म्याद थप भइकेको छ । जसअनुसार पछिल्लो पटक २०८० असार महिनासम्म म्याद थप गरिएको उनले बताए । ‘अहिले काम नै हुन नसकेको सडकमा २०८० असारसम्म काम हुने अवस्था नै छैन’, इन्जिनिययर जिसीले भने, ‘सडक विस्तारसँगै कालोपत्रेको काम हुनै नसकेपछि ठेक्का तोड्ने गरी सूचना प्रकाशन गरेका छौ ।’

घोराही–तुलसीपुर २८ किलोमिट फोरलेन सडकको निर्माणको जिम्मा भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्राले लिएको छ । यो सडकमा १० प्रतिशत मात्र काम भएको छ । लामो समयसम्म सडक निर्माणको काम नभएपछि नागरिकले भने सास्ती भोग्दै आएका छन् । पछिल्नो समयमा फोरलेन सडक मृत्युमार्गको रूपमा समेत परिचित भएको छ ।

सडक निर्माणमा खनेका खाल्टाखुल्टीमा परेर दर्जन बढीको ज्यान गएको छ । तथ्यले सडक निर्माणको काम पेटी ठेकेदारहरूलाई दिने गर्दै आएको छ । करिब पाँच वर्षको अवधिमा ८ जना पेटी ठेकेदार परिवर्तन भए पनि सडकको अवस्थामा भने सुधार हुनसकेको छैन । सडक पनि नबन्ने र जनताले दुःख पाउने अवस्था सिर्जना भएपछि स्थानीयबासी तथा संघसस्थाहरूले दबाबमूलक कार्यक्रम गर्दै आएका थिए ।

घोराही–तुलसीपुर फोरलेनको काम २०७५ माघ महिनादेखि सुरु भएको थियो । ३० महिनामा काम सक्ने गरी भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रासँग सम्झौता भएको थियो । २०७८ जेठ ६ गतेभित्र सक्नुपर्ने काम नसकिएपछि ०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलो पटक, २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक, तेश्रो पटक २०७९ बैशाख २९ गते काम सक्ने गरी म्याद थप भएको थियो । अहिलेसम्म सडकमा करिब १० प्रतिशत मात्रै काम भएको छ । परियोजनाका अनुसार सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डेले ठेक्का पाएका थिए ।

पाण्डेले काम नगरेपछि पेटी ठेकेदारका रूपमा सुवास श्रेष्ठ, जनक डाँगीले जिम्मा पाए तर पनि सडक विस्तारको काम हुन नसकेपछि पुनः अनुप पाण्डे पेटी ठेकेदारका रूपमा आएका थिए । त्यसपछि एकेन्द्र खड्का, विजय पाठक, रोशन श्रेष्ठ हुँदै अहिले सुनिलजंग रायमाझीले पेटी ठेकेदारको जिम्मा पाएका छन् तर सडकको काम भने अझै हुनसकेको छैन । पटक पटक म्याद थप हुँदा पनि काम हुन नसकेपछि फोरलेन सडक आयोजना ठेक्का प्रक्रिया तोड्ने गरी अघि बढेको इन्जिनियर जिसीले बताएका छन् ।

Blog Post Ad

भारतीय एक्जिम बैंकको सहयोगमा फोरलेन सडक नेपाली १ अर्ब २३ करोडको लागतमा निर्माण गर्ने गरी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले जिम्मा पाएको थियो । सडक निर्माणलाई यहाँका स्थानीयले पटक–पटक सरकारको ध्यानकर्षण गराउँदै आएका छन् । सडकदेखि प्रत्येक फोरमहरूमा समेत कुरा उठाए तर सडक निर्माणको काम नै भएको छैन । सांकेतिक स्वरूप तालाबन्दी र चक्काजामका कार्यक्रम समेत गरेर दबाब दिएका थिए भने सडकमा भएका खाल्टाखुल्टी समेत परेका थिए । सडक निर्माणमा भएका खाल्टाखुल्टी धेरैले अकालमा ज्यान समेत गुमाएका छन् । दाङको गौरवका आयोजनाको रूपमा हेरिएको सडक निर्माण नहुँदा नागरिकले भने सास्ती खाने गरेका छन् । गर्मी याममा धुलो र वर्षा याममा हिलोको समस्या समेत त्यत्तिकै भोगेका छन् ।

Blog Post Ad Blog Post Ad