Ad Area

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित


काठमाडौँ,२५ फागुन । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।

पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरेर राष्टपतिमा बिजयी भएका हुन । उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।

२००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मेका पौडेल आफ्नो ६३ वर्षे सक्रिय राजनीतिक यात्रा पार गर्दै अब राष्ट्रप्रमुख बनेका छन् । कांग्रेस पार्टीबाट छ दशक अनवरत प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहेका पौडेल अब संबैधानिक राष्ट्रप्रमुखको रुपमा सबैको साझा भएर काम गर्ने जिम्मेवारीमा आइपुगेका छन् ।

पौडेल ६ पटक सांसद, ५ पटक मन्त्री र एकपटक प्रतिनिधिसभाको सभामुख बने । २०६६ सालमा प्रधानमन्त्री बन्नका लागि संसदमा १७ पटकसम्म चुनावी प्रतिस्पर्धामा भाग लिएपनि जित हासिल गर्न नसकेका पौडेल नौ दलीय सत्ता गठबन्धनले साझा उम्मेदवार बनाएपछि पहिलो प्रयासमै राष्ट्रपति बन्न सफल भए ।

नवनिर्वाचित राष्ट्रपति पौडेल २०१६ सालमा हिमालयन छात्र संघको सदस्य बनेका थिए । २०१७ सालमा राजाले संसद् भङ्ग गरी वीपीलाई जेल हालेको विरोधमा उनी प्रजातान्त्रिक आन्दोलनमा सहभागी भए । र त्यसपछि सक्रिय राजनीतिमा अघि बढे ।

Blog Post Ad

२०२७ सालमा नेविसंघको संस्थापक सदस्य बनेका पौडेल २०३४ सालबाट आफ्नै जिल्ला तनहुँबाट जिल्ला सदस्य भएर मूल पार्टी नेपाली कांग्रेसमा सक्रिय भए । २०४३ सालमा केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हुँदै निरन्तर केन्द्रीय सदस्य रहेका पौडेल २०६२ सालमा केन्द्रीय महामन्त्री, २०६४ सालमा केन्द्रीय उपसभापति, २०७२ सालमा कार्यवहाक सभापति बनेका थिए।

प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार र १५ वर्ष जेल जीवन बिताएका पौडेल २०७९ फागुन २५ गते बिहीबार भएको चुनावबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भए । अब उनको काँधमा संविधानको संरक्षक भएर राष्ट्रको अभिभावकत्व गर्ने जिम्मेवारी आइपुगेको छ ।

Blog Post Ad Blog Post Ad