Ad Area

नेकपा घोराहीले बुझायो नगर प्रमुखलाई ज्ञापनपत्र


दाङ,२५ फागुन । घोराही, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी घोराही नगर कमिटीले स्थानीय जनताको जनगुनासो र बर्तमान समाजमा देखिएका संकटलगायतका समसामयिक विषयको समाधान गर्नुपर्ने माग राख्दै घोराही उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

नगर कमिटीले बिहीबार घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीलाई उक्त मागको समाधान गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएको हो । नेपाल कम्युनिस्ट पार्टी घोराही नगरका सेक्रेटरी महान सीले जनताका जनजीविकासँग जोडिएका कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र यातायात,विद्युत, खानेपानी, उद्योग, व्यापार र वित्तीय लगायतका समसामयिक विषयमा रहेका माग सम्बोधन गर्नुपर्ने भन्दै ज्ञापनपत्र नगरप्रमुख नरुलाल चौधरीलाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख नरुलाल चौधरीले नेपाल कम्युनिस्ट पार्टीले जनतासँग सरोकार राख्ने धेरै विषयको माग राखेको भन्दै त्यसमा कतिपय आफूहरूले गरिरहेको कामहरुमा सुधार ल्याउनुपर्ने र कतिपय कुरा केन्द्र सरकार, प्रदेश सरकार सम्बोधन गर्नुपर्ने भएको भन्दै यी मागहरुलाई सम्वोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।

मागहरुलाई आफूहरूको स्रोत, साधन र जनशक्तिले भ्याएसम्म नगरको तर्फबाट काम गर्दै अगाडि बढ्ने र संघ, प्रदेशले गर्नुपर्ने कामहरुलाई पनि नगरबाटै सिफारिस र सम्बन्धित निकायलाई झकझक्याउने बताएका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, पार्टी पूर्वी दाङ जिल्लाको सेक्रेटरी जनक सीलगायत पार्टीका जनवर्गीय संगठन अध्यक्ष तथा संयोजक लगायतको उपस्थिति रहेको थियो ।

Blog Post Ad Blog Post Ad