Ad Area

कवि क्षितिज मगरको एकल रचना बाचन


घोराही, २७ फागुन ।आख्यानकार तथा कवि क्षितिज मगरले नेपाली समुदायको विगत र वर्तमानको अवस्थालाई शब्द भावमा उतारेर एकल कविता वाचन गर्नुभएको छ ।

राप्ती साहित्य परिषदको नियमित कार्यक्रम एकल कविता वाचनको ७३औँ श्रृंखला अन्तरगत राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा शुक्रबार परिषदको सभाहल घोराहीमा उहाँले जीवनको यथार्थतासहितको बस्तुपरक तथा विचारोत्तेजक कविता वाचन गर्नुभयो ।

परिषद दाङ शाखा अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाअध्यक्ष प्राध्यापक डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा उहाँले देश बदल्न गरिएका क्रान्तिपछि अहिलेको परिवेशले जनताको अवस्थालाई बिम्बका रुपमा उतारेर व्यंग्यात्मकशैलीमा रचना गर्नुभएका दर्जन बढी कविता सुनाउनुभयो ।

पसिनाको मसीले हथौडाको सहारामा धर्तीमा पनि साहित्य लेख्न सकिन्छ भन्ने कुराको बोध गराउँदै साहित्यकार मगरले समयको चक्रव्युहमा जीवन सिएर जीउनुको यथार्थलाई कवितामा उतारेर तयार पार्नुभएका आफ्ना कविता सुनाउनुभएको हो ।

उहाँले भुई मान्छे, कान्छीको पसल, तिमीले छाडेपछि, कोईलाबास, किसानको छोरो, भूतपूर्व प्रेमिकाको नाउँमा, सहिद दिवस, भ्यालेन्टाईन डे, आभाष, पुल, शितलहरी, चप्पल, फूललगायत शीर्षकका कविता दर्जनौँ अग्रज साहित्यकारहरुको उपस्थितीमा सुनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा खतिवडाले नेपाली समाजको यथार्थतालाई शब्दभावमा उतारेर सरल सटिक रुपमा कवितामार्फत पोखिन सक्नु कविमा हुनुपर्ने गुण साहित्यकार मगरमा भेटिएको बताउनुभयो । उहाँले नेपालको राजनीतिक, सामाजिक, आर्थिकमा आएको विचलन, जीवनवादी चेतनाको अवस्थालाई रचनात्मक रुपमा व्यक्त गर्न सक्नु नै कवि मगरको सबल पक्ष रहेको बताउनुभयो ।

Blog Post Ad

युवाहरुको आवाजलाई कविताको माध्यमबाट प्रस्तुत गर्न सक्नु आफैमा सकारात्मक प्रयासका रुपमा लिनुपर्ने बताउनुभयो । साहित्य समाजको प्रतिबिम्ब रहेको हुँदा नेपाल र नेपाली समुदायको भावना र भोगाईलाई कवि मगरले निकै सजगतापूर्वक गद्यात्मक शैलीमा पोखेर साहित्यिक क्षेत्रमा चेतना दिने काम गरेको बताउनुभयो ।

कार्यक्रममा राप्ती साहित्य परिषदका सल्लाहकार एवम् पूर्व अध्यक्ष पुरुषोत्तम खनालले साहित्यकार मगरले इतिहासको काल खण्डलाई कविताका माध्यमबाट चित्रित गर्दै वर्तमान देखाउने प्रयास गरेको बताउनुभयो । सामाजिक यथार्थवादी कविका रुपमा उहाँलाई लिन सकिने हुुँदा कविताले समाजको चेतनाबोध गराउने काम गराउने तर्क गर्नुभयो ।

राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टीकाराम उदासीले वाचन गरिएका कविताहरुको टिप्पणी गर्दै अनुभव र स्वअध्ययनले खारिनुभएका कवि मगरका कविता नेपाल साहित्यमा आएको पछिल्लो नयाँपनको धारमा बगेको बताउनुभयो । नेपालको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थामा पछिल्लो समय देखा परेको विचलन र बिसंगतिलाई बिम्ब र प्रतिकको प्रयोग कवितामा भएको टिप्पणी गर्नुभयो ।शाखा कोषाध्यक्ष यम रेग्मीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश केसीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad