Ad Area

स्ववियु निर्वाचनका लागि आज उम्मेदारी दर्ता


दाङ, २७ फागुन । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । त्रिभुवन विश्वविद्यालय तथा नेपाल सस्कृत विश्वविद्यालयसहित आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरूमा आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । स्ववियु निर्वाचनका लागि शुक्रवार त्रिुभवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसहरूमा उम्मेदवारहरूलाई मनोनयनपत्र वितरण गरिएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार विद्यार्थी संघसंगठनहरूलाई शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि समय निर्धारत गरिएको छ । स्ववियु निर्वाचनका लागि दाङमा विभिन्न राजनीतिक दल सम्वद्ध विद्यार्थी संघसंगठन तथा स्वतन्त्र रूपमा समेत विद्यार्थीहरूले उम्मेदवारी दिने तयारी गरेछन् । क्याम्पसहरूमा विद्यार्थीहरूको हकहितसँगै नेतृत्व विकासका लागि महत्वपूर्ण मानिने स्ववियु निर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि कतिपय विद्यार्थीहरू संगठनहरूले जिल्लामा तालमेल समेत गरेका छन् ।

जसले गर्दा उम्मेदवार चयनमा ढिलाई भएको नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेलले बताए । ‘लामो समयपछि हुन थालेको स्ववियु निर्वाचनमा धेरै विद्यार्थीहरूको चाहना छ । त्यसमा पनि अन्य संगठनहरूसँग तालमेलका लागि छलफल पनि भैरहेको छ’,नेविसंघ दाङका अध्यक्ष पोख्रेलले भने,‘तालमेलको टुंगो लगाएर उम्मेदवारको घोषणा गर्न खोज्दा केही ढिलाई भएको छ ।’ अध्यक्ष पोख्रेलका अनुसार नेविसंघले महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विद्यार्थी नेता मनोज डिसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य पदहरूमा अन्य संगठनहरूसँग तालमेलको प्रयास भैरहेकाले अझै नटुंग्याएको बताए ।

महेन्द्र क्याम्पसमै स्ववियु सभापतिका लागि अखिल (क्रान्तिकारी)बाट हिमाल महरा, बिप्लव निकट विद्यार्थी संगठनबाट खुमबहादुर केसी (खुमन) र स्वतन्त्र विद्यार्थी समुहबाट अभिषेक विष्टले उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसैगरी लमहीस्थीत देउखुरी बहुमुखी क्याम्पसमा नेविसंघले शिशिर वलीलाई सभापतिमा उम्मेदवार बताउने निर्णय गरेको छ । अन्य क्याम्पसहरूमा पनि स्ववियु सभापतिलगायतका उम्मेदवारहरू टुंगो लगाउनका लागि छलफल भैरहेको अध्यक्ष पोख्रेलले जनाएका छन् ।

दाङमा त्रिभुवन विश्वविद्यालयको आंगीक महेन्द्र बहुमुखी क्याम्पस, सम्बन्धन प्राप्त राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुर, देउखुरी बहुमुखी क्याम्पस लमही र ऐरावती आदर्श बहुमुखी क्याम्पस भालुवाङलगायतका अन्य क्याम्पससँगै नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठ बिजौरी, जनता विद्यापीठ क्याम्पस बिजौरी र केन्द्रीय आयुर्वेद क्याम्पस बेलझुण्डीलगायतका निजी १७ वटा अन्य क्यापसहरूमा स्ववियु निर्वाचन हुन थालेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad