Ad Area

कामविहीन खाद्य कम्पनी : धान खरिदको परिपत्र आएन


अमरराज आचार्य
दाङ, १६ कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष जिल्लामा धान खरिद नगर्ने भएको छ । धान खरिदका लागि हालसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरलाई माथिल्लो निकायबाट कुनै पनि परिपत्र नआएकाले खाद्यले धान खरिद नगर्ने कम्पनीले जनाएको छ ।

‘हामीलाई यो बर्ष धान खरिदका लागि केन्द्रबाट कुनै पनि जानकारी वा परिपत्र आएको छैन’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरका निमित्त प्रमुख नकुल चौधरीले जानकारी दिए । यसअघि सो कम्पनीलाई धान खरिद गर्न माथिल्लो निकायले परिपत्र पठाउने गरेको थियो । तर किसानहरुले धान भित्र्याइरहेको अवस्थासम्म पनि माथिल्लो निकाय मौन रहेको छ । कम्पनीले धान खरिदमात्र होइन, यहीँ कुटानी गरेर चामल बिक्री गर्ने गरेको थियो । तर कुटानीमा पनि समस्या रहेको कार्यालय प्रमुखको भनाइ छ । ‘धान खरिद गर्न भन्दा पहिले मिलसँग कुराकानी गर्दा मिलवालाले कुटाउन नसक्ने भन्ने जवाफ दिने गर्नुहुुन्छ’, निमित्त प्रमुख चौधरीले भने ।

यहाँ खरिद गरेको धान जिल्ला बाहिर लगेर कुटाउनुपर्ने अवस्था रहेकाले पनि सो कम्पनी धान खरिदका लागि उत्साहित देखिएको छैन । यसअघि खरिद गरिएको धानलाई सबैभन्दा नजिकको नेपालगञ्ज लगेर कुटाएर ल्याउने गरिएको थियो । यो काम झन्झटिलो मात्र नभएर लागत मूल्य पनि बढ्ने अवस्था थियो । जिल्लामा रहेका धेरै मिलहरुसँग समन्वय भए पनि कुटाउन नमान्ने गरेको उनको भनाइ रहेको छ । ‘तपाईहरुको मापदण्डअनुसार कुटानी गर्न सक्दैनौँ भन्ने गर्नुहुन्छ’, उनले भने । कुटानी गर्न सहमत भए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी मापदण्डअनुसार कुटानी गर्न नसकिने मिल सञ्चालकहरुले बताएको उनको भनाइ रहेको छ ।

अन्य जिल्लामा खरिद गरेर कुटानी गरेको चामल आइरहेको निमित्त चौधरी बताउँछन् । ‘हामीसँग चामल राख्नका लागि मात्र स्थान रहेको छ, धान खरिद गरेर राख्न स्थान पनि छैन, त्यसैले पनि समस्या परेको हो’, उनले भने । कम्पनीले धान खरिद गर्ने आशामा रहेका कृषकहरुलाई कम्पनीले धान खरिद नगर्ने भएपछि निशारा बनाएको छ ।

व्यापारीले भन्दा कम्पनीले बढी मूल्यमा खरिद गर्न आशामा कृषकहरु रहेका थिए तर अब बाध्य भएर व्यापारीले भनेको मूल्यमा नै धान बेच्नुपर्ने बाध्यता भएको छ । पानीले धान खेतीमा क्षति पु¥याएका कृषकहरु सस्तो मूल्यमा धान बिक्री गर्नुपर्दा थप पीडामा रहेका छन् । कम्पनीले दिनेभन्दा व्यापारीले कम मूल्यमा धान खरिद गर्ने गरेको कृषकहरु बताउँछन् ।

सरकारले धानको समर्थन मूल्य निर्धारण गरिसकेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपंछी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम किसिमको धानको २ हजार ९ सय २ रूपैयाँ तोकिएको हो । गत वर्षको तुलनामा यस वर्ष प्रतिक्विन्टल १७ रुपैयाँले बढी हो ।

गत वर्ष असारमा धान लगाउनुपूर्व नै सरकारले धानको समर्थन मूल्य तोकेको थियो । गत वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ तोकिएको थियो । समयमा नै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्ने भन्दै सरकारले प्रत्येक वर्ष मोटा र मध्यम किसिमका धानको न्यूनतम समर्थन मूल्य तोक्दै आएको छ ।

कामविहीन बन्दै खाद्य

यसैबीच सडक यातायात सञ्जाल दुर्गम बस्ती फैलिइसकेको निजी क्षेत्रका व्यवसायीहरुले दुर्गम बस्तीसम्म पनि खाद्यान्न आपूर्ति गर्दै आएपछि केही बर्षयता खाद्य कार्यालय सुनसान जस्तै छ । दैनिकरुपमा सयौं क्वीन्टल चामल पहाडी जिल्लामा पठाउँदै आएको तुलसीपुर खाद्य डिपो अहिले सुनसान छ । दशैँमा खसी–बोका खरिद गर्ने र पर्व नजिकिँदै गर्दा सुपथ मूल्यको चामल पसल सञ्चालन गर्नुवाहेक कार्यालयमा दैनिक कुनै पनि कामकाजको चाप देखिँदैन ।

मुलुकमा सडक सञ्जाल दुर्गम बस्तीसम्म नपुगिरहेको अवस्थामा राप्ती अञ्चलका रोल्पा, रुकुम, सल्यान तथा विकट जाजरकोटसम्म चामल पुराउनका लागि नेपाल खाद्य संस्थानको अञ्चल डिपोका रुपमा तुलसीपुरमा खाद्य संस्थान सञ्चालनमा आएको थियो । हुम्ला, जुम्ला र डोल्पासम्म पनि यही डिपोबाट खाद्यान्न पुराउने गरिन्थ्यो । तर अब सबै जिल्लाका विकट गाउँहरुसम्म सडक पुगेपछि तराईमा उत्पादित अनाज सहजै व्यापारीका माध्यमबाट यी बस्तीहरुमा पुग्न थालेपछि खाद्य संस्थानको डिपो कामविहीन बन्दै आएको थियो ।

पछिल्लो सरकारले खाद्य संस्थानको डिपोलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीका रुपमा रुपान्तरण गरेको छ । तर नाम अनुसार कर्मचारीलाई पर्याप्त काम भने उपलव्ध गराउन सकिएको छैन । सूचना प्रविधिको विकाससँगै हुलाक कार्यालयहरुलाई थप जिम्मेवारीसहित काम दिएको सन्दर्भमा यो कम्पनीलाई पनि समय सुहाउँदो काम सिर्जना गर्न राज्य संयन्त्र लाग्नुपर्ने स्थानीयबासीहरुले बताएका छन् ।