Ad Area

‘जुवाडे र प्रहरीको भेट’ बढ्यो, साढे ३ महिनामै ७० जना कठघरमा


घोराही १६, कार्तिक

घटना १

साउन १ गते शुक्रबार अपरान्ह साढे ४ बजे घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँस्थित गनबहादुर घर्तीको घरमा जुवा खेलिरहेको अवस्थामा खालबाटै एक लाख २२ हजार पाँचसय १० रुपैँयासहित १० पक्राउ परे । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.१३ निवासी ५२ वर्षीय कमान पुन, सोही ठाउँका ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आईतबहादुर घर्ती, ३४ वर्षीय ज्ञान सिंह बुढा, ६८ बर्षीय गनबहादुर घर्ती थिए । यस्तै, घोराही १५ का २२ वर्षीय निमबहादुर रोका, सोही ठाउँका ३३ वर्षीय ढोका घर्ती, घोराही १४ का २६ वर्षीय त्रिपन बुढा, घोराही १२ का ४० वर्षीय तेजलाल पुन जुवाको खालबाट पक्राउ परे ।

घटना २

कार्तिक २ गते दाङको घोराहीबाट सात जुवाडे पक्राउ परे । पक्राउ पर्नेमा घोराही १५ निवासी २२ वर्षीय पूर्ण वली, सोही ठाउँकै ४४ वर्षीय मेघराज पौडेल, घोराही १६ का ३० वर्षीय शिव केसी, घोराही १२ का २० वर्षीय रविन थापा, घोराही १५ निवासी २७ वर्षीय संजय परियार, घोराही १२ निवासी ३१ वर्षीय अनिल गिरी र घोराही १७ निवासी ४३ वर्षीय भक्त केसी हुन् । उनीहरुको साथबाट १ लाख १३ हजार ५ सय नगद, ७ गड्डी तास मध्य ३ गड्डी खेलेको र बाँकी ४ गड्डी नयाँ तास पनि बरामद भयो । घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया पार्क नजिकै एक घरमा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले रंगेहात पक्राउ गर्यो ।

घटना ३

कार्तिक १३ गते शनिबार घोराही १६ खिरिट्टेबाट ८ जना जुवाडे पक्राउ परे । जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुको साथबाट नगद ७० हजार रुपैयाँ बरामद गर्यो । मनोरञ्जनका लागि म्यारिज खेलेको भन्दै प्रहरीले सामान्य नसिहत दिएर छाड्यो । उनीहरु अहिले पनि प्रहरीको उच्च निगरानीमा छन् । पक्राउ परेकाहरुमध्ये केही जुवामा संलग्न भई यस अघि नियन्त्रणमा परेका व्यक्ति भएपनि सो घटनाको अवस्था हेर्दा सामान्य रहेको भन्दै प्रहरीले मुद्दा नचलाई छाड्यो ।

घटना ४

कात्तिक १२ गते दिउँसो तुलसीपुर क्षेत्रबाट ८ जना जुवाडे पक्रउ परे । यद्यपि उनीहरु अहिले धरौटीमा रिहा भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौंराबाट शुक्रबार दिउँसो जुवा खालमा छापा हानेर प्रहरीले झन्डै दुई लाख नगदसहित आठ जनालाई नियन्त्रणमा लिएको थियो । सोही बराबरको बिगो माग गरी उनीहरुलाई आइतबार बेलुका छाडिएको छ । सरकारी वकिलको कार्यालयले ती जुवाडेलाई बिगो बराबरको धरौटीमा छोड्न आदेश दिएपछि प्रहरीले धरौटीमा छाडेको छ । प्रहरीले पक्राउ परेका मध्य केही पेशवर जुवाडे रहेको बताएको थियो । राजनीतिमा पहुँच भएका र हाइप्रोफाइलका जुवाडे पक्राउ परेका बेला प्रहरीले अब कसरी कारवाही अघि बढाउँछ भनेर सबैले चासोका साथ हेरिरहेका बेला धरौटीमा छाडेको हो ।

घटना ५

घोराहीको रझेनास्थित एक जुवा खालबाट प्रहरीले आईतबार राति साढे चार लाख बढी नगदसहित २० जुवाडे पक्राउ गरेको छ । यो पछिल्लो घटना हो । घोराही उपमहानगरपालिका वडा नं. १८ रझेनामा आइतबार राति ९ स्थानीय यज्ञ खड्काको घरमा कौडा खेलीरहेका २० जुवाडेको साथबाट प्रहरीले चार लाख ६४ हजार आठ सय ८१ रुपैंया नगद पनि बरामद गरेको छ । प्रहरी निरिक्षक रामनारायण गुप्ताको कमाण्डमा खटिएको १६ जनाको प्रहरीले २० जुवाडेलाई जुवाको खालबाट पक्राउ गर्न सफल भयो । प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङको घोराही १८ बस्ने वर्ष २४ का यज्ञबहादुर खड्का, वडा नम्बर १४ बस्ने वर्ष २९ का लालबहादुर हमाल, वडा नम्बर १५ बस्ने वर्ष ५१ को रामप्रसाद गिरी भनिने जित बहादुर गिरी, सोही वडाका वर्ष ५० का रबिन श्रेष्ठ, सोही वडा बस्ने वर्ष २८ का मान बहादुर बुढा रहेका छन् ।

यसैगरी, वडा नम्बर १४ बस्ने वर्ष ४२ का प्रमोद गौतम, तुलसीपुर १५ घरभई हाल घोराही १५ बस्ने वर्ष ४६ का शुभाष धिताल, सोही वडा बस्ने वर्ष ४२ का यज्ञ प्रताप बस्नेत, वर्ष ५२ का कुलराज वली, घोराही १६ बस्ने वर्ष २४ का हरि रावत भनिने छबि गिरी, घोराही १५ बस्ने वर्ष ५७ का सरद लामिछाने, सोही वडामा बस्ने वर्ष ४२ का गिरीराज खत्री भनिने ध्रुव केसी रहेका छन् । यसैगरी, प्रहरीले घोराही १९ बस्ने वर्ष ५६ का ईश्वर रायमाझी भनिने ईन्द्र बहादुर रायमाझी, घोराही १४ बस्ने वर्ष ३६ का कमल घर्ती मगर, घोराही ४ बस्ने वर्ष ६२ का श्रीधर अधिकारी भनिने पूर्ण अधिकारी, घोराही ५ बस्ने वर्ष ५६ का रबिन पछाई भनिने केशव बहादुर पछाईलाई पक्राउ गरेको छ ।

यसैगरी सोही घटनामा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ बस्ने वर्ष ५२ का चेतनाथ धिताल, जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २४ का रुपलाल बिक, सर्लाही लालवन्दी नगरपालिका वडा नं. १२ बस्ने वर्ष ४८ को समिर लामा र दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ बस्ने बर्ष ५७ को महाबिर वलीलाई प्रहरी हिरासतमा राखेको छ । उनीहरुमाथि वृहत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

माथि उल्लिखित घटना र पक्राउ परेकोहरु प्रहरीको नजरमा परेका र अनुसन्धानको दायरामा परेको घटना मात्रै हो । जिल्लामा मनोरञ्जनका लागि जुवातास खेल्नेको संख्या अनगिन्ती छ । तर, पेशेवरहरुले जुवातासलाई समाजमा नराम्रो गरी भित्र्याएका छन् । जसले गर्दा धेरैको पारिवारिक र सामाजिक जीवन धर्मराएको छ, घरबार उठेको छ । प्रहरीको सक्रियताले समाजमा भईरहेको गलत कामलाई निरुत्साहित गर्न थालेको काममा यि त प्रतिनिधिमूलक घटनामात्र हुन् ।

गत वर्ष जुवातासका २४ मुद्धा दर्ता, १६० जना पक्राउ

जिल्लामा बितेको आर्थिक वर्ष २०७७–०७८ को एक वर्षको अवधिमा जुवातासका २४ वटा मुद्दा दर्ता गरी कारवाही प्रकृया अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बितेको आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानबाट पक्राउ परेकाहरु विरुद्ध २४ वटा मुद्धा दर्ता गरी कारवाही गरिएको जानकारी दिए ।

उनका अनुसार एक वर्षको अवधिमा २४ वटा जुवातासका मुद्धा दर्ता गर्दा १ सय ६० जना जुवाडे पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले ३५ लाख ४९ हजार ३ रुपैयाँ नगद पनि बरामद गर्न सफल भएको थियो । जिल्लामा जुवातास नियन्त्रणका लागि प्रहरीले थालेको अभियानमा सार्वजनिक उच्च पदमा रहेका, जग्गा कारोबारी, व्यापारी तथा राजनीतिक दलका पदाधिकारीसमेत संलग्न रहेको पाइएको छ ।

यस्तै, चालु आर्थिक वर्ष २०७८–०७९ को साढे ३ महिनाको अवधिमा पनि प्रहरीले ठूलो मात्रामा जुवाडेलाई नगदसहित पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले साउन १ गतेदेखि कार्तिक १५ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी कमाण्डले जुवाडेलाई नगदसहित खालबाटै नियन्त्रण गर्न सफल भएको बताए ।

उनका अनुसार साउन १ गतेदेखि कार्तिक १५ गतेसम्म ७ वटा जुवातासका मुद्धा दर्ता गरिएको छ । उक्त मुद्धामा ७० जना पक्राउ परेका छन् । पक्राउ परेका जुवाडेहरुको साथबाट यो वर्ष १२ लाख ३८ हजार १ सय ७१ रुपैयाँ बरामद गरिएको छ । यो वर्ष घोराही क्षेत्रबाट ४ र तुलसीपुर क्षेत्रबाट ३ वटा गरी ७ वटा जुवातासका मुद्धा प्रहरीले दर्ता गरेको छ । आईतबार राति घोराहीको रझेनाबाट पक्राउ परेकाहरुमध्ये केही राजनीतिक प्रोफाइलका व्यक्ति हुन् भने केही जग्गा कारोबारी हुन् । केही व्यापार व्यवसाय गर्दै आएका रहेका प्रहरी उपरीक्षक रिजालले बताए । ‘घटना स्थलबाट हामीले नियन्त्रणमा लिएका व्यक्ति र नगदको अवस्था हेर्दा ठूलो रकमको हेराफेरी हुने गरेको हामीलाई आशंका छ । हरेक घटनाको गहिराईमा पुगेर हामीले अनुस्नधान अघि बढाएका छौँ, यसको नागरिकको सहयोग आवश्यक छ,’ प्रहरी नायव उपरीक्षक रिजालले भने ।

जिल्लामा केही समययता जुवातास खेल्नेले शैली परिवर्तन गर्दै लगेपनि उनीहरु प्रहरीको फन्दामा पर्ने गरेका छन् । प्रहरीका अनुसार जुवाडेहरुले अहिले आफ्नो साथमा नगद कम बोक्ने गरेकाले बरामद हुने रकम केही कम देखिएको हो । पेशेवर रुपमा जुवा खेल्नेहरुले अहिले मोबाईलबाटै रकम ट्रान्सफर गर्ने, अरु विकल्प अपनाउने गरेकाले जुवाको खालबाट रकम थोरै मात्रामा बरामद हुने गरेको छ । प्रहरी श्रोतका अनुसार अहिले पनि जिल्लाका विभिन्न स्थानमा ठूलो धनराशीको जुवाको कारोबार हुने गरेको छ । उनीहरुसम्म पुग्न प्रहरीले आन्तरिक रुपमा प्रयास जारी राखेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

पछिल्लो समय प्रहरीले जुवा विरुद्धको कारबाही तीब्र पार्दै लगेको छ । तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले पछिल्लो समय दिनहुँ जसो जुवा खालहरुमा छापा मारेर जुवाडेहरु पक्राउ गर्दै आएको छ । चाडपर्वका बेलामा बाहेक अरु समयमा पनि जुवाडेहरु धमाधम पक्राउ पर्नुले समाजमा विकृति बढ्दै गएको प्रहरीको विश्लेषण छ । पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन अन्तरगत मुद्दा दायर गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ । तर, धेरैजसो राजनीतिक प्रभाव र दवावमा छुट्ने गरेका छन् । जसले प्रहरी अनुसन्धानमा बाधा पुग्ने गरेको स्वयं प्रहरी अधिकारीको दुखेसो छ ।