Ad Area

क्षमता बढाउन खोजमुलक पत्रकारिता तालिम


घोराही, २७ माघ । पत्रकार महिलाहरुको क्षमता बढाउनका लागि घोराहीमा खोजमुलक पत्रकारिता तालिम संचालन गरिएको छ । सञ्चारिका समुह लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको सहयोगमा तालिम संचालन गरिएको हो ।

सनिवार देखि सुरु तालिममा सञ्चारिका समुह लुम्विनी प्रदेश अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाहरुको क्षमता बढाई पत्रकारिता क्षेत्रमा टिकाउन तालिमले भूमिका खेल्ने बताइन् । पछिल्लो समयमा महिलाहरु पत्रकारिता क्षेत्रबाट पलायन हुने क्रम बढेको भन्दै उनिहरुलाई व्यावसायिक बनाउन तालिम आवश्यक भएको बताइन् । क्षमता विना पत्रकारितामा टिक्न नसकिने उनको भनाई थियो ।

तालिमका प्रशिक्षक नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पत्रकारितामा खोज र लगनशिलता आवश्यक भएको बताए । खोज र अध्ययन विना पत्रकारिता सम्भवन नभएको उनको भनाई थियो । ‘सामान्य जानकारी सामाजिक संजालमा जसले पनि दिएको हुन्छ, जसले गहन तरिकाले खोजेर रोचक तरिकाले लेख्न सक्छ त्यो हो पत्रकारिता;–उनले भने । तालिममा दाङ, रोल्पा र प्युठानका २५ जना पत्रकार महिलाहरुको सहभागिता छ ।

तालिममा सञ्चारिका समुह लुम्विनी प्रदेश सल्लाहकार नारायणी रजौरेले जिल्लामा समाचार लेखनका लागि थुप्रै बिषयहरु भएको जानकारी गराइन् । उनले पत्रकारिता गर्दाका अनुभवहरु सुनाएकी थिइन् । कार्यक्रमको सहजीकरण प्रदेश सदस्य रञ्जिता अधिकारीले गरेकी थिइन् । तालिम आइतबार समापन गरिने छ ।

Blog Post Ad Blog Post Ad