Ad Area

घोराहीको कृषि शाखाद्वारा विभिन्न जातका बिउ निशुल्क वितरण


घोराही, १ चैत । घोराही-२ की रामकुमारी चौधरी व्यावसायिक तरकारी खेती गर्नुहुन्छ । गाउँमा रहेको चेपे जलाशयको पानीले सिँचाइको सुविधा भएपछि उहाँले तरकारी खेती गर्नुहुन्छ । हिउँदे तरकारीको बिउ किन्न सधैं पैसा खोज्नु पर्थ्यो ।

उहाँसंंग प्रसस्त पैसा पनि थिएन । बेमौसमी तरकारीको बिउ महंगो हुने भएकाले पैसा सापटी माग्नु पर्ने उहाँको बाध्यता थियो । यसपाली घोराही उपमहानगरपालिका भित्रका किसानलाई सहयोग पुगोस भन्ने उद्देश्यले कृषि शाखाले निशुल्क बिउ वितरण गरेपछि रामकुमारीको खुशीको सीमा छैन ।

घोराही उपमहानगरपालिका कृषि शाखाले रामकुमारी जस्तै थुप्रै किसानलाई विभिन्न जातका बिउ निशुल्क वितरण गरेको छ । घोराही उपमहानगरपालिका भित्रका मुक्त कमैया र कमलरीलाई हिउँदे तरकारीका बिउ निशुल्क वितरण गरेको हो । चार सय ३३ जना किसानलाई मकै, तरकारी अदुवा, लौका, काक्रा, करेला, फर्सी, सिमी, भिन्डी, बोडि, घिरौलालगायतका बिउ वितरण गरिएको कृषि शाखा प्रमुख चोपनारायण खनालले जानकारी दिनुभयो । मुक्त कमलरी विकास मन्चकाे समन्वयमा हिउँदे तरकारीको बीउ वितरण गरिएको उहाँले बताउनुभयो ।

घोराही २ रामपुरमा रहेको जैविक विविधता कृषक सहकारी संस्थालाई मकैको बिउ वितरण गरिएको छ । सो समुहले मूल बिउ उत्पादन गर्ने भएकाले रामपुर कम्पोजिट १ सय ५० किलो र मनकामना–३ दुई क्वीन्टल मकै वितरण गरिएको प्रमुख खनालले बताउनुभयो ।

शाखाले अदुवामा दाङलाई आत्मनिर्भर बनाउने उद्देश्यले बिउ उत्पादनका लागि अदुवाको मूल बिउ वितरण गरेको छ । घोराही उपमहानगरपालिका भित्रका वडा नम्वर १, १३ र १९ का चार वटा समुहलाई मूल बिउ निशुल्क वितरण गरिएको शाखा प्रमुख खनालले जानकारी दिनुभयो । छिमेकी जिल्ला सल्यान कपुरकोटबाट ल्याएको साढे ६ क्वीन्टल अदुवाको बिउ पनि निशुल्क वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad