Ad Area

अर्गानिक उत्पादनः नीति कार्यक्रममा जोड, बजेटमा वेवास्ता


दाङ,२ चैत । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा रसायनिक विषादी घटाउने कार्यक्रमलाई प्राथमिकता दिएको थियो ।

रसायनहरुको प्रयोगबाट माटो तथा पानीमा परेको असर र अन्य बातावरणीय समस्यालाई घटाउने कुरा गरेको थियो । यसका लागि किसानलाई प्राविधिक ज्ञान दिई प्राङ्गारिक मल तथा प्राङ्गारिक विषादी प्रयोगमा जोड दिन खोजिएको थियो । तर यसका लागि बजेट छुट्याएन । २०७९÷०८० को बजेट कार्यक्रममा कृषि अनुदानका लागि ९४ लाख ९० हजार बजेट छ ।

कृषि यान्त्रिकीकरण, बिउ वितरण, कृषकलाई खेतिमा सहायता गर्ने, कृषि एप बनाउने कार्यक्रम राखिएका थिए । हाट बजार, कृषक परिचयपत्र वितरण गर्नका लागि पालिकाको एक करोड १२ लाख ४० हजार र संघ सरकारबाट ७१ लाख अनुदान गरी एक करोड ८३ लाख ४० हजार रुपैँया बजेट बिनियोजन गरेको छ । तर रसायनिक बिषादी न्युनिकरण कार्यक्रमका लागि भनेर प्रष्ट बजेट उल्लेख छैन् ।

घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले अर्गानिक उत्पादनलाई जोड दिइने बताए । व्यावसायिक तरकारी खेति हुने क्षेत्रमा जोखिम बढी छ । रोग किराहरु लाग्छन्, बिषादी नहाले खेती सखाप हुन्छ, किसानहरुलाई बाध्यता छ । अहिले यस बिषयमा नगरले केही काम गरेको छैन् । तर छिटै अर्गानिक उत्पादनमा जोड दिइने चौधरीले बताए । मेयरको योजना अनुसार प्राङ्गारिक मल उत्पादन कार्यक्रम ल्याइनेछ । प्राङ्गारिक विषादी प्रयोग गरिनेछ । निम, बकाईनो, रिठ्ठो, तितेपाती, असुरो, तुलसी, सुर्ति जस्ता वनस्पतिबाट प्रांगारिक बिषादी बनाउन सकिन्छ । ‘अहिले उपभोक्ताहरु स्वस्थ भन्दा पनि सस्तो खोज्छन् । उपभोक्ता तयार छैनन्, उत्पादन गरेर बजारमा लैजादा कसले किन्ने भन्ने समस्या हुन्छ’ । उनले भने–चालु वर्ष उपभोक्ता र उत्पादन गर्ने कृषकहरुलाई सचेत बनाउछौ र अर्गानिक उत्पादनका लागि तयार गर्छाे’ ।

तुलसीपुर उपमहानगरपालिकाले पनि आर्थिक वर्ष २०७९÷०८० को नीति कार्यक्रममा प्रांगारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उल्लेख गरेको छ । तर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले अहिले अर्गानिक उत्पादनको कार्यक्रम नभएको बताए । अहिले तुलसीपुरमा जैविक मल बनाउने योजना छ । तर प्रष्ट रुपमा देखिने कार्यक्रम छैनन् । आउने बर्षहरुमा नीति कार्यक्रममा समाबेश गर्ने र बजेट बिनियोजन गरिने उनले बताए ।

लमही नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा कृषिलाई प्राथमिकता दिदै २ करोड बजेट बिनियोजन गरेको छ । बगर खेती कार्यक्रम, कृषि औजार तथा उपकरण वितरण र विकासका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको हो । नीति कार्यक्रममा अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन, गुणस्तरीय प्रांगारिक मल उत्पादन कार्यक्रमलाई जोड दिइने उल्लेख थियो । गल्ने फोहोर र जैविक बस्तु प्रयोग गरि कम्पोष्ट मलको उत्पादन गरि विक्रि वितरणको व्यवस्था मिलाइने भनिएको थियो । तर यि बिषयमा बजेट बिनियोजन गरिएको छैन् । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले अहिले यि कार्यक्रमहरु पालिकामा नभएको बताए । ‘अहिले अरु कार्यक्रमहरुलाई प्राथमिकता दिनुप¥र्यो, त्यसैले नीति कार्यक्रममा समावेश भए अनुसारको काम गर्न पाएनौ’उनले भने ।

दाङको राप्ती गाउँपालिका बाली तथा तरकारी उत्पादनको हिसावले उर्वर ठाउँ हो । आर्थिक वर्ष २०७९÷०८० नीति कार्यक्रममा प्रांगारिक खेतीसंगै खेर गैरहेको जग्गाको सदुपयोग गरि कृषि क्षेत्रको विस्तार गरिने, अर्गानिक खेतीमा जोड दिइ विषादी मुक्त क्षेत्र बनाइने योजना समावेश छ । चालु आर्थिक वर्षमा कृषिका लागि १ करोड ६६ लाख ७० हजार बजेट व्यवस्था गरिएको छ । तर नीति कार्यक्रममा समावेश गरिए अनुसार अर्गानिक उत्पादनको लागि बजेटको व्यवस्था गरेको छैन् । प्रांगारिक खेति कार्यक्रमलाई नीति कार्यक्रममा मात्र सिमित बनाएको छ । कृषकमा चेतना जगाउने, खेतिका लागि सहयोग गर्ने, वाली निरिक्षण गर्ने, अनुदान दिने कार्यक्रमलाई जोड दिएको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले व्यावसायिक तरकारी उत्पादन क्षेत्रमा धेरै विषादी प्रयोग हुने बताए । अहिले विषादीको असरका वारेमा किसानहरुलाई सचेत बनाउदैछौँ । यसलाई बिस्तारै अभियानका रुपमा लैजानेछौँ, उनले भने । “ अर्गानिक उत्पादन कसरी गर्न सकिन्छ भन्ने बारेमा किसानसँग छलफल भैरहेको छ, उनले भने ।

दाङमा विषादी खपत (आ.व.२०७८÷०७९

विषादीको किसिम झोल (लिटर) धुलो (किलो)  दाना
किटनाशक १२३५ ४०३७५ १३८२
रोगनाशक ५२७२ १५१८१
झार नाशक १७३०  १३१५
मुसानाशक १९६५
जम्मा ८२३७ ५८८३६ १३८२

स्रोत ः कृषि ज्ञान केन्द्र दाङ

के भन्छन् कृषकहरु ?

दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ की ४९ बर्षिया भिमा घर्ती तरकारी खेती गर्ने कृषक हुन् । उनी २० वर्ष यता मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेकी छिन् । तरकारी खेती सुरु गर्नेबेलामा तरकारीमा विषादी हाल्नुपर्देनथ्यो । तरकारी सप्रिएर उत्पादन हुन्थ्यो । तर अहिले तरकारीमा विषादी नहाल्दा फल्दैनन् । गोलभेडा रोप्दा देखि टिप्दा सम्म थरी–थरीका विषादी हाल्नुपर्छ । उनी घोराहीका एग्रोभेटबाट विषादी किनेर ल्याउछिन् र हाल्छिन् । कति मात्रामा कसरी तरकारीमा हाल्ने भन्ने एग्रोभेट संचालकले दिएको जानकारी बाहेक अरु तालिम लिएकी छैनिन् । अनुमानको भरमा विषादी छर्कने उनी बताउछिन् ।

घोराही १६ का महेश पौडेल सीजन अनुसारका तरकारी खेती गर्छन् । १५ वर्ष यता उनले व्यावसायिक तरकारी खेती गरेका हुन् । बारीमा रासायनिक मल र तरकारीमा विषादी अनिवार्य भएको उनी बताउछन् । अहिले प्रांगारिक मल उत्पादन हुँदैन । रासायनिक मल प्रयोग गर्न थालेदेखि विषादी हाल्नुपर्छ । बिषादी नहाले तरकारी राम्रो नफल्ने उनी बताउछन् ।

घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना गोलभेडा (टमाटर) उत्पादनको पकेट क्षेत्र हो । यहाँका सबैले टमाटर (गोलभेडा) खेती गर्छन् । टमाटर खेती बाटै यहाँका कृषकहरुको आम्दानी बढेको छ । उत्पादन भएको गोलभेडा काठमाडौँ, नेपालगञ्ज, बुटवल जान्छ । गोलभेडा टिप्दा विषादी सेताम्मे देखिन्छ ।
घोराही उपमहानगरपालिका कृषि शाखा प्रमुख चोपनारायण खनाल किसानहरुले तालिम नपाएकाले उनीहरु विना जानकारी विषादी प्रयोग गर्ने बताउछन् । अहिले कृषकहरुलाई अर्गानिक तरकारी उत्पादनको लागि आग्रह गर्ने बाहेकको औपचारिक कार्यक्रम नभएको उनी बताउछन् । विषादी प्रयोग गरिएको तरकारी खाँदा स्वास्थ्यमा असर गर्ने र दीर्घ रोग लाग्ने हुँदा विषादी प्रयोगलाई घटाउन आवश्यक भएको उनले बताए । यसका लागि केन्द्र सरकार देखिनै कार्यक्रम तयार गर्न पर्ने उनी बताउछन् ।

घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित तरकारी बजार केन्द्रमा अर्गानिक तरकारी स्टल राखिएको थियो । तरकारी उत्पादन गर्दा प्रांगारिक मल महंगो भएकाले तरकारीको उत्पादन लागत महंगो भयो । यही तरकारीलाई महंगो भएको भन्दै स्थानीयले भारतीय बजारबाट आउने तरकारी किन्न थाले । मण्डीमा ८० प्रतिशत तरकारी भारतीय बजारबाट आउने व्यावसायि गुलाम रसुल बताउछन् । यहाँ बाह्रैमास तरकारी उत्पादन हुँदैन् । त्यसैले पनि भारतीय बजार बाट तरकारी ल्याउनुपर्ने बाध्यता छ, जुन तरकारीहरु बिषादीले भरिएका हुन्छन् ।

तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख धनराज गौतमले व्यावसायिक कृषि खेतीमा विषादी प्रयोगको विकल्प नभएको बताए । तरकारीमा रोग किराहरु लाग्छन्, त्यसको लागि विषादी हाल्नुपर्ने बाध्यता छ उनले भने । घरको आवश्यकता पुरा गर्नका लागि मात्र गरिने परम्परागत खेतिमा विषादी नहालेको बताए । अहिले तुलसीपुर क्षेत्रमा आवश्यकताका आधारमा विषादी प्रयोग नभएको प्रमुख गौतमले बताए । विषादी प्रयोगलाई न्युनिकरण गर्न नसकेपनि ठीक मात्रामा प्रयोगका लागि सचेत बनाएको बताए । विषादी राखेको निश्चित समयमा मात्र बजारमा तरकारी पठाउने, विषादी हाल्दा सुरक्षित र ठीक मात्रामा हाल्न सिकाएको बताए ।

देउखुरीकी सीता चौधरी व्यावसायिक तरकारी खेतीमा विषादीको प्रयोग अनिवार्य भएको बताउछिन् । उनी भन्छिन्‘हामि मात्र होइन खेति गर्ने सबै कृषकले बाली तथा तरकारीमा विषादी प्रयोग नगरे उत्पादन हुदैँन्, सबैले प्रयोग गर्छन्” । गोलभेडाको सीजनमा रोप्दा बारीमा रासायनिक मल हाल्न सुरु गरिन्छ । पछि फुलाउने, फलाउने, लागेको फल टिकाउने देखि पकाउनेसम्मका काममा विषादी हाल्नुपर्छ । उनका अनुसार अझ चिसो मौसममा त हरेक तरकारीमा किरा लाग्ने समस्या हुन्छ । यसको रोकथामका लागि पनि विषादी हाल्नुपर्छ । उनी भन्छिन्, कतिपय किसानहरुले आज गोलभेडा पाक्ने विषादी छर्किएर एक, दुई दिनमै बेच्नका लागि बजारमा लैजान्छ्न् ।

लमही नगरपालिका कृषि शाखा नायब प्राबिधिक सहायक गंगा चौधरीले विषादी प्रयोगको अवस्था भयावह भएको बताइन् । कृषि शाखामा आउने कृषकहरुलाई ठीक मात्रामा विषादी हाल्न सुझाब दिने गरिएको छ । तरसबै किसान कृषि शाखामा नआउने भएकाले पनि सचेत बनाउन नसकिएको उनले बताइन् । ‘हामिले सचेत बनाउने कार्यक्रम सम्म गर्न सकेका छैनौ, उनले भनिन् ।

दाङमा ६९ हजार ९ सय ५० हेक्टर खेती योग्य जमिन मध्ये ६५ हजार ९ सय ८० हेक्टर जमिनमा खेति गरिन्छ । घोराही र तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकामा तरकारी खेति हुन्छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार पछिल्लो समयमा व्यावसायिक तरकारी खेति बढेपछि विषादी प्रयोग बढेको छ । ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बर्षेनी १० प्रतिशतका दरले विषादी प्रयोग बढेको बताए । यहाँका किसानहरुले एग्रोभेटबाट बिषादी किन्ने र आफुखुसी अव्यवस्थित प्रयोग गरेका छन् । नत सबै एग्रोभेटलाई व्यवस्थित गर्न सकिएको छ नत किसानलाई । अहिले जस्तो स्थित सधै भए केही बर्षमा भयावहको अवस्था आउने उनी बताउछन् ।

आर्थिक बर्ष २०७८÷७९ मा जिल्लामा ५८ हजार ८ ३६ किलो धुलो विषादी खपत भएको छ । ८ हजार २ सय ३७ लिटर झोल र १ हजार ३ सय ८२ दाना विषादी खपत भएको हो ।

विषादीले मानव स्वास्थ्य जोखिममा

कृषि ज्ञान केन्द्र दाङका वाली संरक्षण विज्ञ रुद्रमणी पौडेलले विषादी मानिसको स्वास्थ्य जोखिममा पार्ने बताउछन् । यहाँ विषादी मापन प्रयोगशाला छैन् । यसले गर्दा पनि कति बिषादी प्रयोग भैरहेको छ, भनेर थाहा पाउन नसकिएको उनी बताउँछन् । यहाँका कतिपय कृषकहरुले तालिम लिएर उचित तरिकाले विषादी प्रयोग गरेका छन् । कतिपय किसानले भने हचुवाको भरमा विषादी हालिरहेका छन् ।

आज विषादी हालेका तरकारीहरु भोली बजारमा आउँछन् । विज्ञ पौडेलका अनुसार बिषादीयुक्त तरकारी खानापछि शरीरमा विषादी पुगेर बोसोका रुपमा जम्मा भएर बस्छ ।

उनी भन्छन्–रातो, निलो, पहेलो, हरियो रंगको बिषादीमा पहिले हरियो रंगको विषादी बारिमा हाल्नुपर्ने हुन्छ । तर यहाँ ठीक उल्टो रातो रंगको विषादी पहिले हाल्ने गरिन्छ । उनका अनुसार बिषादीले टाउको दुख्ने, थकाई लाग्ने, शरिर काम्ने, पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने जस्ता तत्कालिन असरहरु गर्छ । अपांगता, पक्षघात दीर्धरोग जस्ता दीर्घकालिन असर गर्ने उनी बताउछन् ।

माटो स्वस्थ नहुँदा विषादी प्रयोग वाध्यता

माटो स्वस्थ भए र प्रांगारिक मलको प्रयोग भए वालीमा रोग किरा लाग्दैनन्, विषादी हाल्नुपर्देन् । माटो स्वस्थ छैन् भने रासायनिक मल हाल्नुपर्छ । रासायनिक मलको प्रयोगले माटोको उमार शक्ति कमजोर बनाएको छ ।
माटो परिक्षण विना खेती गर्नाले र असन्तुलित रुपमा रासायनिक मलको प्रयोग गर्नाले माटोको उर्वराशक्तिमा ह्रास हुँदै गएको कृषि विज्ञ बताउँछन् ।

रासायनिक मलको असन्तुलित प्रयोगले नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम हुने र उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्र घोराहीका कृषि अधिकृत देवा महरा बताउछिन् ।

तत्कालिन जिल्ला कृषि विकास कार्यालय हुँदा २०५७ सालमा दाङमा माटो परिक्षणका लागि मिनी ल्याव स्थापना भएको थियो । त्यसमा माटो विज्ञको दरवन्दी रहेको थियो । तर संघीयता लागु भएपछि कर्मचारी समायोजनका क्रममा माटो विज्ञको दरवन्दी कटौती गरियो । माटो परिक्षण घट्यो ।

महराका अनुसार पहिले सो कार्यालयमा माटो विज्ञको व्यवस्था हुँदा बार्षिक करिव १२ सयसम्मको माटो परिक्षण हुने गरेको थियो तर अहिले बार्षिक १ सय ५० वटासम्म नमूना माटो परिक्षण हुन्छ । ‘अहिलेपनि माटो परिक्षण गरेर कृषि व्यवसाय गर्नुपर्छ भन्ने ज्ञान किसानमा छैन’,उनले भनिन्,‘जसले गर्दा धेरै किसानहरुको बालीमा समस्या देखिने गरेको छ ।’ माटो परिक्षणका क्रममा रासायनिक मलको प्रयोगका कारण नाइट्रोजन, फस्फोरस र पोटास लगायतका तत्वमा ह्राउन आएको देखिने गरेको कृषि अधिकृत महराले बताइन् ।