Ad Area

रिप्लान्टका सहजकर्तालाई कृषि सामग्री र बाली बिमा बारे प्रशिक्षण


घोराही, ५ चैत । कृषि बस्तु र फसलमा हुने क्षति कम गर्न प्रयोग गरिने हर्मेटिक झोलाको उपयोगिता तथा कृषि बिमामा कृषकहरुको पहुँच बढाउन समुदाय व्यवसाय सहजकर्ताहरुका लागि कृषि सामग्री र बाली बिमा बारे दुई दिने प्रशिक्षण शुरु भएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र र आइडीई नेपालसँगको साझेदारीमा दाङमा संचालित रिप्लान्ट परियोजना कार्यान्वयनका लागि समुदाय व्यवसाय सहजकर्ताका लागि आईतबारबाट घोराहीमा प्रशिक्षण शुरु भएको हो ।

ग्रामीण महिला उत्थान केन्द्र दाङकी संस्थापक अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यमा जिल्लाको घोराही, तुलसीपुर, दंगीशरण, लमही र राप्ती गरी पाँच पालिकाका २५ जना सहजकर्तालाई प्रशिक्षण शुरु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गिरीले सैद्धान्तिकसँगै व्यवहारिक पक्षका बारेमा उपभोक्तलाई ज्ञान दिने गरी काम हुन सकेमा हरेक कार्यक्रमले सफलता पाउने हुँदा हर्मेटिक झोलाको महत्व र उपयोगिताका बारेमा कृषकलाई बोध गराउने विषयमा सहजकर्ताले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सहजकर्ताहरुले परम्परागत रुपमा गरिँदै आएको कृषिजन्य बस्तुको स्याहारमा हुने क्षति कम गर्न प्रयोगमा ल्याउन लागिएको हर्मेटिक झोलाको उपयोगिताका बारेमा व्यवहारिक ज्ञान दिन सकेमा कृषि क्षेत्रको दीगो व्यवस्थापनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा घोराही १५ का वडा अध्यक्ष रमेश पाण्डेले कृषि क्षेत्र प्रवद्र्धनका लागि हर्मेटिक झोलाको उपयोगीताका साथै यसको आयाममा प्रयोगका लागि प्रयोग मात्रै नभई सही प्रयोग कसरी गर्नुपर्छ भन्ने बारेमा गम्भीर रुपमा काम गर्न र यसमा कृषकहरुको पहुँच बढाउन तर्फ ध्यान दिन सहजकर्तालाई अपिल गर्नुभयो ।

प्रशिक्षणमा सहभागीहरुलाई आपूर्ति श्रृङखलाको विकास, सुधार, वित्तमा पहुँच अभिवृद्धि, बाली बिमामा पहुँच अभिवृद्धि, प्रसार सेवाहरु परियोजनाको क्रियाकलापमा कृषकलाई जोड्न तथा यसको महत्वका बारेमा प्रशिक्षण दिने काम भईरहेको छ ।

Blog Post Ad

रिप्लान्टको फिल्ड व्यवस्थापक कल्पना धितालले व्यवसाय सहजकर्ताले लक्षित समुदाय र बिक्रेता बीच सम्बन्ध बलियो बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । परियोजनाको उद्देश्य बारे जानकारी गराउँदै उहाँले सकारात्मक सोँच, सही दृष्टिकोण र असल प्रयासबाट काममा दत्तचित्तका साथ लाग्नुपर्ने बताउनुभयो । आपूर्ति श्रृंखलाका पात्रहरुको औसत मासिक बिक्रीमा सतप्रतिशत वृद्धि हुने हुँदा हर्मेटिक भण्डारण प्रविधिहरु अपनाउने लक्षित किसानहरुको बालीको प्रति एकाई घाटामा औसत ८० प्रतिशत कमि हुने निकै उपयोगी सामग्री रहेको उहाँको भनाई छ ।

नयाँ प्रविधिको पहुँचमार्फत फसलपछिको घाटा कम गर्ने लक्ष्यका साथ शुरु भएको परियोजना सन् २०२४ फेब्रुअरीसम्म संचालन हुनेछ ।
कार्यक्रममा घोराही १७ का वडाअध्यक्ष रामलौटठन चौधरी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम, हर्मेटिक डिलरका रुपमा रहेको कृषि सोलुसनकी पार्वती गिरीलगायतले बोल्नुभएको थियो । परियोजना संयोजक एचबी थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सुपरभाइजर अरबिन्द चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad