Ad Area

विद्यार्थीलाई एसईईको चटारो, पढाई सक्न विद्यालयलाई हतारो


घोराही, ६ चैत । यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई शुरु हुन अब १२ दिन मात्रै बाँकी छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु परीक्षा नजिकिँदै गर्दा पठनपाठनमा व्यस्त छन् । कोरोना र स्थानीय तहको निर्वाचनका कारण यो वर्षको शैक्षिक सत्र जेठबाट शुरु भएपछि जिल्लाका केही विद्यालयहरुमा अहिलेसम्म पठनपाठन पूरा भएको छैन ।

पठनपाठन नसकिए पनि एसईई अगावै धेरैजसो विद्यालयमा वार्षिक परीक्षाको तयारी भईरहेको छ भने केही ठाउँका संस्थागत विद्यालयले परीक्षा शुरु गरिसकेका छन् । पाठ्यक्रम विकास केन्द्रले वार्षिक शैक्षिक कार्ययोजना २ सय २० दिन तोकेको छ । तर, यो वर्ष २ सय २० दिन पढाई नै हुन सकेको छैन ।

पठनपाठन पूरा गरेको बताउने कतिपय विद्यालयहरुमा पनि अतिरिक्त कक्षा लिएर पाठ सकाउने काम भएको छ । यसले गर्दा विद्यार्थीहरुमा पढाईको चाप परेको छ भने समय अभावका कारण दोहोर्याएर पढ्ने मौका पनि पाएका छैनन् । समयमा कोर्ष नसकिए पछि अतिरिक्त कक्षाको नाममा बिहानदेखि साँझ अबेरसम्म भईरहेको पढाईको चापले विद्यार्थीहरुमा मनोवैज्ञानिक असर परेको छ ।

परीक्षाका कारण केही स्थानीय तहले विद्यार्थीहरुलाई छात्राबासमा राखेर अतिरिक्त कक्षा संचालन गरेका छन् भने बजारमा रहेको विद्यालयहरुले साँझ बिहान अतिरिक्त कक्षा संचालन गरेर हतार हतार कोर्ष सकाउने काम गरेका छन् । कोर्ष सकाउने नाममा दिनरात नभनी पढाउँदा विद्यार्थी पढाएको नबुझ्ने अनि पढाईमा भार थोपरिँदा मनोवैज्ञानिक रुपमा असर गरिरहेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

घोराहीमा रहेको पद्मोदय पब्लिक नमूना माविमा कक्षा १० मा गणित विषय पढाउँदै आउनुभएकी शिक्षक नारायणी भण्डारीले जेठ ७ गतेबाट विद्यालयमा पढाई शुरु भएपछि यो पटक धेरै विदा परेको र समय निकै कम भएका कारण कोर्ष सकाउन हम्मे–हम्मे परेको बताउनुभयो ।यद्यपि, अतिरिक्त कक्षा लिएर भएपनि फागुनको तेश्रो हप्तामा कोर्ष सकाएर टेस्ट परीक्षा लिईएको जानकारी दिनुभयो । ‘समय अभावका कारण कोर्ष सक्ने काम त भयो तर विद्यार्थीहरुलाई सहज रुपमा पढ्ने वातावरण बन्न नसकेकै हो’ उहाँले भन्नुभयो, ‘परीक्षा तालिका सार्वजनिक भएपछि सोही अनुसार पढाउनु पर्ने हामीलाई बाध्यता भयो, विद्यार्थीहरु पनि कोर्ष सकिदैन की भन्ने तनावमा भए, पढाउने काम त भयो विद्यार्थीले कति बुझे त्यो नतिजाले भन्नेछ ।’

शान्तिनगर गाउँपालिकामा रहेको जनकल्याण मावि सिमसुन्दरपुरका प्रधानाध्यापक निमबहादुर केसीले यो वर्ष समयमा कोर्ष सकिने अवस्था नरहेपछि विद्यार्थीहरुलाई मंसीरबाटै विद्यालयमा छात्राबासको व्यवस्था गरेर पढाउने काम गरेको बताउनुभयो । उहाँले जसरी पनि कोर्ष सक्नुपर्छ भनेरै विद्यार्थीहरुलाई अतिरिक्त खर्च लागत लाग्ने भएपनि पढाउने काम गरेको बताउनुभयो । जनकल्याण माविबाट यो पटक ९६ जना विद्यार्थीले परीक्षा दिन लागेका छन् ।

Blog Post Ad

घोराही १ हर्नोकमा रहेको अम्बिका माविमा भने अझै कक्षा १० को पाठ पढाएर सकिएको छैन । ५५ जना विद्यार्थी कक्षा १० मा पढ्छन् । परीक्षा मुखैमा आएको बेलामा पनि कोर्ष नसकिएपछि आफुहरु तनावमा रहेको एक छात्राले बताउनुभयो । ‘पढाई सकाएर दोहोर्याउनु पर्ने बेलामा सरहरुले पढाएर सकाउनु भएको छैन’, छात्राले भन्नुभयो, ‘अब कसरी पढ्ने भन्ने अन्यौल भएको छ, परीक्षा मुखैमा आईसक्यो ।’

विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले कक्षा १० को पठनपाठन भईरहेको बताउँदै अब थोरै पाठहरु सकाउन बाँकी रहेको जानकारी दिनुभयो । ‘परीक्षा आईसक्यो । हामी कोर्ष सकाउने तिर नै लागेका छौँ’ उहाँले भन्नुभयो ‘कोर्ष नसकी परीक्षामा पठाउनु पनि भएन ।’

राप्ती गाउँपालिका वडा नम्बर ६ स्थित ज्ञानोदय मावि पत्थरगढवाले पनि कोष भर्खरै सकाएको बताएको छ । पढाई शुरुभएपछि पटक–पटक सार्वजनिक विदा अनि पर्याप्त समय नहुँदा कोष सकाउन निकै धौ परेको प्रधानाध्यापक ईन्द्रदेव चौधरीले बताउनुभयो । जिल्लामा रहेका संस्थागत विद्यालयहरुले भने शुरुदेखि नै पठनपाठनलाई निरन्तरता दिँदै अतिरिक्त कक्षा लिएर भएपनि कोर्ष सकाएको जनाएका छन् ।

जिल्लाका २ सय ३६ वटा विद्यालयले यो वर्ष एसईईमा विद्यार्थीहरुलाई सामेल गराउँदैछन् । परीक्षा निजिकएका बेलामा पनि केहीले कोर्ष सकाएर अतिरिक्त कक्षा लिने काम गरिरहँदा अधिकांश विद्यालयहरुमा कोर्ष नसकिएपछि विद्यार्थीहरुमा पढाईको चाप परेको छ । स्थानीय सरकारले शिक्षाको जिम्मेवारी लिएपछि केही पालिकाका शिक्षा शाखा प्रमुखहरुलाई आफ्नो पालिकामा रहेका कति विद्यालयले एसईईमा भाग लिँदैछन् । कोर्ष सकियो की सकिएन भन्ने हेक्का छैन । आईतबार शिक्षा शाखाका प्रमुखलाई एसईई परीक्षाका बारेमा जानकारी लिन खोज्दा केही शाखा प्रमुखले स्पष्ट जवाफ नै दिन सकेनन् ।

एसईईमा साढे १३ हजार विद्यार्थी सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईईमा दाङबाट करीव साढे १३ हजार विद्यार्थी सहभागी हुँदैछन् । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका अनुसार, यही चैत्र १७ गतेदेखि हुन लागेको यस वर्षको एसईईमा सहभागी हुने कुल परिक्षार्थीको संख्या १३ हजार ४ सय ५२ रहेको छ । जसमा छात्रभन्दा छात्राको संख्या धेरै छ । यो पटकको एसईईमा ७ हजार १ सय ६ जना छात्रा छन् भने ६ हजार ७ सय ४६ जना छात्र रहेका छन् ।

परिक्षाका लागि साधारण धार तर्फ ६ हजार ७ सय ६६ छात्रा रहेका छन् भने ६ हजार ६२ जना छात्र गरी १२ हजार ८ सय २८ जना रहेका छन् । प्राविधिक धारतर्फ १ सय ७४ छात्र र १ सय ६६ जना छात्रा गरी ३ सय ४० जनाले परिक्षा दिँदैछन् ।

ग्रेड वृद्धितर्फ पनि १ सय ७४ जना छात्रा र १ सय १० जना छात्र गरी २सय ८४ जना विद्यार्थीले परिक्षा दिन लागेका समन्वय एकाई प्रमुखका अनुसार, जिल्लाका १० वटै पालिकाबाट कुल २ सय ३६ विद्यालयबाट यो वर्ष एसईईमा परीक्षार्थीले आवेदन दिएका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिकाबाट सबैभन्दा बढी विद्यालय यो वर्षको एसईईमा सहभागी हुन लागेका छन् ।

समन्वय एकाईकी प्राविधिक सहायक प्रमिला शर्माका अनुसार, तुलसीपुरबाट ८० विद्यालय, घोराही उपमहानगरपालिकाबाट ७० विद्यालय, लमही नगरपालिकाबाट १८ विद्यालय, राप्ती गाउँपालिकाबाट १५ विद्यालय, शान्तिनगरबाट १२ विद्यालय, बबई गाउँपालिकाबाट ११ विद्यालय, गढवा गाउँपालिकाबाट ९ विद्यालय, राजपुर गाउँपालिकाबाट ८ विद्यालय, दंगीशरण गाउँपालिकाबाट ७ विद्यालय र बंगलाचुली गाउँपालिकाबाट ६ विद्यालयका विद्यार्थी एसईईमा सामेल हुन लागेका हुन् ।

विगत वर्षहरुमा प्राविधिक धारका परीक्षार्थीहरुलाई जिल्ला सदरमुकाममा गएर परीक्षा दिनुपर्ने बाध्यता यो वर्षबाट हटार्ईएको छ । यो पटकबाट जुन विद्यालयबाट प्राविधिक धारको पढाई गरेको त्यहीका साधारण धारका विद्यार्थी सरह एकै परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाईएको छ । एकाई प्रमुख चौधरीले भन्नुभयो, ‘प्राविधिक धारलाई जिल्ला सदरमुकाममा केन्द्र तोक्ने व्यवस्था हटाईएको छ । यो पटक जुन विद्यालयमा पढेको छ, साधारण धारको जस्तै सोही केन्द्रबाट प्राविधिक धारका परीक्षार्थीले परीक्षा दिनेछन् । यो केन्द्रको निर्देशन अनुसार व्यवस्था गरिएको छ ।’

उहाँका अनुसार जिल्लाभर ४५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा संचालनका लागि केन्द्रबाट आवश्यक उत्तरपुस्तिकालगायत सामग्री जिल्लामा आई पुगेको छ । अरु आन्तरिक तयारी पनि करीव पूरा भईसकेको उहाँले जानकारी दिनुभयो ।

गत वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दाङबाट १२ हजार ७ सय ८ जना परीक्षार्थी पास भएका थिए । बोर्डले सार्वजनिक गरेको नतिजामा जिल्लाका २ सय ६२ जना परीक्षामा अनुपस्थित बाहेक सबैजना पास भएका थिए । त्यो बेलामा १३ हजार १ सय ५१ जनाले परीक्षाको आवेदन भरेका थिए ।

Blog Post Ad Blog Post Ad