Ad Area

हिंसा विरुद्धको आवाज उठाउन आत्मविश्वास जगाउँदै दाङ महिला जेसीज


घोराही, ५ चैत । दाङ महिला जेसीजले घोराही उपमहानगरपालिका वडा नम्बर १ मा महिला हिंसा विरुद्धको दुई दिने अभिमुखीकरण कार्यक्रम आईतबार सम्पन्न गरेको छ । जेसीजकी अध्यक्ष नारायणी भण्डारीको अध्यक्षता तथा वडा नम्बर १ का अध्यक्ष एवम् नगरप्रवक्ता राममणि पाण्डेको प्रमुख आतिथ्यमा भएको सचेतनामूलक अभिभमुखीकरणमा हिंसा, हिंसाका प्रकार, यसले व्यक्ति परिवार र समाजमा पार्ने असर तथा र कानूनी पक्षका बारेमा सहभागी महिलाहरुलाई अभिमुखीकरण गरिएको हो ।

वडा नम्बर १ को आर्थिक सहयोगमा हिंसारहित समाज निर्माणका लागि गाउँ केन्द्रित महिला हिंसा विरुद्धको सचेतनामुलक अभिमुखीकरण अन्तरगत पहिलो दिन अट्ठाईसेमा सचेतना प्रदान गरिएको थियो भने दोश्रो दिन वडा नम्बर १ कै नयाँ गाउँका ४० बढी महिलाहरुलाई सचेतना प्रदान गरिएको छ ।

दाङ महिला जेसीजले समाजका दूरदराजका महिलाहरुलाई सचेतना प्रदान गर्दै अग्रसर गराउन तथा हिंसामुक्त समाजको परिकल्पनालाई सार्थक बनाउन गरेको प्रयास सराहनीय रहेको वडा अध्यक्ष पाण्डेले बताउनुभयो । ‘स्थानीय सरकारको प्रयासमा सरोकार संघसंस्थाहरुले खेलेको भुमिकाले लक्ष्य प्राप्तिमा सहयोग पुगेको छ’, उहाँले भन्नुभयो, ‘समाजमा हुने सबै खालका हिंसा अन्त्य गर्न चुनौति हुने गरेको छ, मानिसमा सचेतना फैलाउने, कानूनका बारेमा ज्ञान दिँदै सजग गराउने काममा दाङ महिला जेसीजको ठूलो सहयोग छ ।’

सूचना र ज्ञानको पहुँचमा पुग्न नसकेका गाउँघरका महिला दिदीबहिनीहरुलाई एकै थलोमा राखेर हिंसा विरुद्धको आवाज उठाउन सक्ने लक्ष्यका साथ गरिएको सचेतनामूलक अभिमुखीकरण फलदायी भएको अध्यक्ष पाण्डेको विश्वास छ । भौतिक विकासले मात्रैसम्भव नहुने बताउँदै उहाँले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सचेतनामूलक कार्यक्रम निकै प्रभावकारी हुने उहाँको भनाई थियो ।

कार्यक्रममा वडा सदस्य कमला परियारले चुलोचौका, घाँस दाउरा, मेलापातमा सिमित गाउँघरका महिलाहरुलाई ज्ञान, सिपका बारेमा जानकारी दिँदै हिंसा सहेर बस्नु हुँदैन भन्ने बारेमा जागरण फैलाउन सहयोग पुगेको बताउनुभयो । समाजमा विभिन्न बहानामा महिला माथि भईरहेको हिंसा रोक्न र अपराध गर्नेलाई कानूनी दायरामा ल्याउन गरिएको अभिमुखीकरणले महिलाहरुमा आत्मविश्वास जगाएको बताउनुभयो । मनाहाकोट टोल विकास संस्थाकी अध्यक्ष सुशीला पाण्डेले दुई दिनको अवधिमा थुप्रै ज्ञान लिन पाएको बताउँदै हिंसा अन्त्यका लागि भूमिका हुने बताउनुभयो । दूरदराजका नागरिकहरुका लागि यस प्रकारका सेचतनामूलक कार्यक्रम हुन सकेको अवस्थामा पछि परेका महिला दिदीबहिनीहरुको आत्मविश्वास बढ्ने र आफ्नो अस्तित्वको वकालत गर्न सक्ने बताउनुभयो ।

समापन कार्यक्रममा दाङ महिला जेसीजकी पूर्व अध्यक्ष रेखा शर्माले व्यक्तित्व र नेतृत्व विकासमा जेसीजको भुमिका रहेको बताउँदै हरेक महिलाहरु सक्षम हुन सकून् भन्ने अभियानका साथ अभिमुखीकरण गरिएको बताउनुभयो ।

अभिमुखीकरणबाट महिलाहरुको मानसिक, सामाजिक, आर्थिक पक्षमा धारणागत विकाससँगै आफ्नो अधिकार र दायित्वका बारेमा बोध गराउन गरिएको प्रयासले हिंसारहित समाज बनाउन सहज हुने प्रशिक्षकहरुको धारणा छ ।

प्रशिक्षकमा दाङ महिला जेसीजका पूर्वअध्यक्षहरु सुशीला पौडेल र विन्दु गिरी  रहनुभएको थियो । अभिमुखीकरण हुनुअघि जेसीज आस्थापाठ अर्चना शर्माले गराउनुभएको थियो । अभिमुखीकरणको पहिलो दिनपनि ४० जना महिलाको सहभागीता रहेको थियो । कार्यक्रम संयोजक संगीता रोकायको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण महासचिव अर्चना शर्माले गर्नुभएको थियो ।