Ad Area

खाद्य परिषद गठन र कृषक परिचय पत्र उपलब्ध गराउन माग


घोराही, ९ चैत । जिल्ला खाद्य अधिकार संजाल दाङ र फियान नेपालले कृषि क्षेत्रको उत्थानका लागि विशेष ध्यान दिन आग्रह गर्दै घोराही उपमहानगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

फियान नेपालका सुरेश गौतम र जिल्ला खाद अधिकार संजाल दाङका सचिव सन्तोष दहितसहितको एक प्रतिनिधि टोलीले बिहीबार उपप्रमुख हुमा डिसी समक्ष कृषि क्षेत्र कमजोर बन्दै गएकाले खाद्य संकट निम्तिन नदिन कृषकलाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन अपिल गरेको छ । ध्यानाकर्षण पत्रमा पालिकामा रहेका वास्तविक किसानलाई किसान परिचय पत्र उपलब्ध गराउन माग गरिएको छ ।

यसैगरी, स्थानीय तहमा कृषि प्रवद्र्धनका लागि खाद्य परिषद चाँडोे गठन गर्न पनि ध्यानाकर्षण गराईएको संजालका जिल्ला सचिव दहितले जानकारी दिनुभयो । स्थानीय तहले कृषि क्षेत्रको उत्थानका लागि प्रयास गरेपनि सार्थक हुन नसकी रहेकाले खाद्य परिषदले उक्त कामलाई टेवा दिने विश्वास गरिएको बताईएको छ ।

घोराही १८ नयाँबस्ती टोलमा विगत २५ वर्षदेखि बस्दै आएको जानकारी गराउँदै सो ठाउँको जग्गा भोगचलन गर्दै आएको जग्गामा खानेपानी कार्यालय र स्थानीयबासीले जबरजस्ती तारबार गरेको घटनाले आफु अन्यायमा परेको भन्दै जुद्धबहादुर कुसुण्डाले न्यायका लागि ध्यानाकर्षण गराउनुभएको छ ।

आफुहरु लोपोन्मुख समुदायको नागरिक भएको तथा सम्पत्तिको नाममा त्यही जग्गा रहेको स्मरण गराउँदै न्यायका लागि अपिल गर्नुभएको छ । ध्यानाकर्षण पत्र बुझ्दै उपप्रमुख डिसीले विद्यमान समस्या समाधानका लागि आफु र पालिकाको तर्फबाट प्रयास रहने बताउनुभयो ।