Ad Area

डगमगाउँदै अर्थतन्त्र, व्यवसायीमा निराशा


घोराही, ११ चैत । यति बेला चालु आर्थिक वर्षकोे वित्तीय प्रगति पचास प्रतिशतभन्दा माथि हुनुपर्ने हो । तर, ८ महिना बितिसक्दा पनि दाङको पुँजीगत खर्च निकै कमजोर देखिएको छ । यो अवधिमा संघ सरकारबाट प्राप्त रकमको ३३ दशमलव ३१ र प्रदेश सरकारबाट आएको २६ दशमलव ९० प्रतिशत रकम मात्रै खर्च भएको छ ।

देशभरको पूँजीगत खर्चको अवस्था पनि उस्तै कमजोर छ । सम्झौता भएका योजनाहरुको प्रभावकारी रूपमा काम गराउन नसक्दा विकास बजेट खर्च निकै निराशाजनक देखिएको छ । बजेट समयमा खर्च हुन नसक्दा यसको प्रभाव वित्तीय क्षेत्रमा पर्ने गरेको छ । बजेट खर्च हुन नसक्दा धेरै ठाउँमा पैसा विनिमय नहुने, अर्थतन्त्र चलायमान हुन नपाउने, तरलता हुने, रोजगारीको सिर्जना नहुने जसले गर्दा बेरोजगारीलगायत कारणले समग्र अर्थतन्त्रमा असर गर्ने गरेको छ ।

पुँजीगत बजेट खर्च हुन नसक्दा राजस्व संकलनमा कमी, आर्थिक तरलता, नागरिकको दैनिकीमा असर, उद्योग धन्दा समेत धरासयी, व्यापार व्यवसायमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ । यी र यस्तै कारणले अहिले देशमा अर्थतन्त्र निकै कमजोर बन्दै गएको छ । दाङकै हकमा कुरा गर्ने हो भने चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वर्षात्, चाडपर्व, नदीजन्य वस्तुको ठेक्का नलाग्दा उत्खनन् हुन नपाउनु, नयाँ योजनाको ठेक्कामा ढिलाई हुनु कारणले कम खर्च भएको तर्क गरिएको थियो । तर, ८ महिना बिति सक्दा पनि अवस्थामा सुधार आउन नसक्नु भनेको अर्थ व्यवस्थाको चक्रमा नै समस्या भएको हुन सक्ने आँकलन गरिएको छ ।

नागरिकको चुलोदेखि उद्योगी व्यवसायीको दैनिक कारोबारमा ७० प्रतिशतले घटेको बताईएको छ । निकै चहलपहल हुने बजारहरुमा ग्राहकको चाप घटेको छ । अत्यावश्यक सामग्री खरीदमा पनि कमी हुँदै गएको छ । बैंकको चर्को ब्याज, आर्थिक मन्दी लगायत विभिन्न कारणले बजारमा अत्यधिक महंगी हुँदा उपभोक्ताको क्रय क्षमता घट्दै गएको अवस्थामा व्यापार ठप्प प्राय छ ।

बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हुनु र अर्कोतर्फ मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदै जानुले व्यापारमा मन्दी आएको छ । ‘कसैको मुख हसिलो छैन, पसल बेची दिनु पर्यो भन्दै गुहार माग्न आउँछन्’, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीले भन्नुभयो, ‘व्यवसाय चलाउन सक्ने अवस्था कमजोर बन्दै गएपछि धेरै सटरखाली भएका छन्, केही हुने क्रममा छन् ।’

गहिरिँदो आर्थिक संकटका कारण व्यवसाय क्षेत्र धरासयी बन्दै गएको स्पष्ट हुन्छ । बजार क्षेत्रमा सटर भाडामा पाउन निकै गाह्रो हुने यहाँ पछिल्लो समय धेरै सटरहरु खाली हुँदै गएका छन् । सटर खाली भएसँगै घर भाडामा दिएका कोठासमेत खाली हुन थालेका छन् । जिल्लाको सबै ठाउँमा समस्या देखा परेको छ ।

देशको अर्थतन्त्रलाई चलायमान बनाई राख्न सरकारले दीर्घकालीन रुपमा सही कार्ययोजना बनाउन नसक्दा अनुत्पादक क्षेत्रमा फसेको लगानीले अहिले वित्तिय क्षेत्र कमजोर बनेको धेरैको बुझाई छ । कमजोर अर्थतन्त्र र व्यवसायीमैत्री वातारण बन्न नसक्दा धेरै व्यवसायीहरु व्यवसाय गर्न सक्ने अवस्थामा नरहेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको भनाई छ । पछिल्लो समय थुप्रै व्यवसायीहरुले आफ्नो व्यापार बन्द गरिरहेको उहाँले बताउनुभयो । ‘चर्को ब्याज, महंगो भाडा अनि व्यापारमा आएको मन्दीले कसरी व्यवसाय धान्न सकिएला र रु यसरी समस्या थपिँदै जाने हो भने सबै सटर बन्द हुने अवस्था नआउला भन्न सकिन्न’, उहाँले भन्नुभयो ।

अर्थतन्त्रमा आएको मन्दीले बैंकलाई किस्ता व्याज बुझाउन र कोठा भाडा तिर्न पनि नसक्ने अवस्था आएको व्यवसायीहरुको दुखेसो छ । अल्लोबाट निर्मित बस्तु निर्माण गरी लामो समयदेखि बिक्रि गर्दै आउनुभएकी घोराहीकी प्रेमकुमारी पुनले सबै तिर मन्दी बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले त सटरभाडा तिर्न पनि नसक्ने अवस्था हुन थालेको छ । कारोबार पूरै घटेको छ । व्यवसाय धान्न पनि नसक्ने होकी भन्ने लाग्न थाल्यो ।’

घोराही सिमेन्ट इन्डष्ट्रिज प्रालिका जनसम्पर्क अधिकारी अमर सुवेदीले पनि उद्योगले ८० प्रतिशत उत्पादन घटाएको बताउनुभयो । ‘बजारमा सबै क्षेत्रठप्प प्राय छ, माग भए पो उत्पादन हुन्छ, माग नै छैन’, उहाँले भन्नुभयो, ‘उता १४ महिनादेखि चुनढुंगा उत्खनन् हुन पाएको छैन, यसले चौतर्फी असर गरेको छ ।’

लगानीमैत्री वातावरण नहुँदा व्यवसायीले दैनिक धमाधम व्यापार छोड्न थालेका छन् । कोरोना महामारीको असर र त्यसपछि व्यापारमा देखिएको मन्दीका बीच चर्को बैंक ब्याजले यतिबेला व्यवसायमा निकै गिरावट आएको छ । घोराहीमा विगत ३० वर्षदेखि खाद्यान्नको व्यवसाय गर्दै आउनुभएका प्रेमप्रकाश जोशीलाई बजारमा यति कमजोर अवस्था आएको महसुस भएन । उहाँका अनुसार, ३० वर्षयता सबैभन्दा कमजोर व्यापार हुने गरेको छ । ‘आम्दानी हुन छाडेपछि उपभोक्तामा क्रय शक्ति घटेको छ ।

अहिलेको जस्तो मन्दी कहिले पनि भएको थिएन । तरलताको अभावले उधारो उठाउन पनि चुनौति थपिँदै गएको छ’, उहाँले भन्नुभयो, ‘अर्थतन्त्र सही बाटोमा छैन, खै कहिले सुधार हुने होला ।’

दाङको उद्योग व्यवसायमा साढे २ खर्ब बढी लगानी रहेको अनुमान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयमा २४ हजार, स्थानीय सरकारमा दर्ता भएका साना उद्योगको संख्या ५० हजारभन्दा बढी छ भने ठूला उद्योगको संख्यामा दर्जन बढी छ । गहिरिँदो आर्थिक संकटका कारण उद्योग व्यवसाय धरासयी बन्ने मात्रै होईन यसमा आश्रित जनशक्ति र उनीहरुका परिवार पनि संकटमा पर्ने अवस्था आएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बुढाथोकीले गहिरिँदो समस्या समाधानका लागि राज्यले बैंक ब्याजदर घटाउने तथा उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अर्थतन्त्रमा आएको मन्दीले उद्योगी व्यवसायी विस्थापित हुने क्रम बढेको उहाँको भनाई छ । ‘पछिल्लो समय अस्वाभाविक रुपमा व्यवसायीहरु विस्थापित हुने क्रम बढदै गएको छ, व्यवसाय धान्न धौ भएपछि पेशाबाट हात उठाउने गरेका छन्’ अध्यक्ष बुढाथोकीले भन्नुभयोे ‘मलाई लाग्छ कोरोनापछिको असर बजारमा बल्ल देखा परेको छ । त्यसैमा घरभाडा र बैक ब्याजदर वृद्धिले झन समस्या थपेको छ ।’

लमही, भालुवाङ, घोराही, तुलसीपुर, हापुरे, सिसहनियाँ, गढवालगायतका बजारमा आर्थिक कारोबार घटेको छ । धेरै जसो सटर बन्द भईसकेका छन् । घोराहीमा मात्र करिव २ सय पचास बढी सटर खाली भइसकेका छन् । तुलसीपुर क्षेत्रमा पनि व्यवसायीहरु विस्थापित हुने क्रम बढेको छ । देउखुरी क्षेत्रमा करिव उद्योगी तथा व्यवसायीहरु विस्थापित हुने क्रम बढेको देउखुरी उद्योग वाणिज्य संघको भनाई छ ।

घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार, चालु आर्थिक वर्ष २०७९–०८० को फागुन मसान्तसम्म २ सय ७३ वटा उद्योग तथा वाणिज्य फर्महरु वन्द भएका छन् । औपचारिक रुपमा व्यवसाय बन्द गराएकाहरुको सङख्या यो भए पनि वास्तविक बन्द हुने संख्या अझ धेरै नै हुन सक्ने घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख लालबहादुर गुरुङले जानकारी दिनुभयो ।

देशमा गहिरिँदो आर्थिक संकटलाई लिएर नागरिक समाजले अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुबाट भए गरेका आर्थिक कृयाकलापमा जनसमुदायबाट व्यापक जनगुनासो आएको प्रति पनि ध्यानाकर्षण गराएको छ । नियमनकारी निकायले संघीय सरकारको स्वीकृति लिई नयँ मौद्रिक नीति तथा वित्तीय नीति तर्जुमा गरी जनपक्षीय कार्यलाई प्राथमिकता प्रदान गर्न पनि सम्वद्ध निकायलाई अपिल गरेको छ ।

समस्याका रुपमा धेरै सूचकले देखाई रहँदा पनि सरोकार निकाय र राज्य गम्भीर बन्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष नारायणप्रसाद भुसालले बताउनुभयो । यही अवस्था रहे नेपालको अर्थतन्त्र नराम्ररी दल दलमा फस्ने बताउनुभयो ।

‘चर्को व्याज दर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्ततालगायतका सूचकका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ता रहेको प्रष्ट हुन्छ’ नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष नारायणप्रसाद भुसालले भन्नुभयो अर्थतन्त्र गम्भीर संकटमा हुनुमा विशेष त सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीति बीच तादात्म्य नहुनु नै हो, जसको परिणाम संकटउन्मुख छ ।’

कोभिड लगत्तै धेरै प्रभाव भएको अर्थतन्त्रको सही विश्लेषण गरेर नीति लिनु पर्नेमा त्यसमा विचार नगरी अधिक तरलता छोड्दा अहिलेको समस्या आएको उहाँको भनाई छ ।