Ad Area

बेमौसमी तरकारी खेती तालिम लिएपछि उत्साहित कृषक


घोराही, १० चैत । घोराही उपमहानगरपालिका वडा नम्बर २ चन्द्रावती टोलका रति वली कृषि कर्ममा रमाउन रुचाउनुहुन्छ । उहाँले कृषि पेशालाई आत्मसात गरेपनि व्यावसायिक तरकारी खेती कसरी गर्ने बारेमा तालिम लिने मौका पाउनुभएको थिएन ।

उहाँलाई व्यावसायिक तरकारी खेतीबारे तालिम लिन पाए हुन्थ्यो भन्ने लागेको थियो । तालिमको पर्खाईमा बस्नुभएका वलीलाई अवसर जुराई दियो, ग्रामीण महिला उत्थान केन्द्रले । सोही वडाको अखण्ड टोलका अर्का कृषक झबिन्द्र पुनलाई पनि कृषि कर्म गरेपनि व्यावसायिक तरकारी खेती कसरी गर्न सकिन्छ भन्ने बारेमा खास जानकारी थिएन ।

बेमौसमी तरकारी खेती गर्ने बारे तालिम लिने अवसर पाएपछि उहाँले निकै चासोका साथ ज्ञान सीपका बारेमा कुरा बुझ्न रुचीपूर्वक भाग लिनुभयो । अब उहाँलाई बेमौसममा पनि तरकारी फलाउने, तरकारी उत्पादन गरेर बिक्रि गर्ने आँट आएको छ । ‘तरकारी आफै उत्पादन गरेर बिक्री गर्ने हो, खेतबारी बाँझो राख्ने होईन’, बेमौसमी तरकारी खेतीबारे तालिम लिएपछि उहाँले भन्नुभयो ‘तरकारी किनेर खाने कुरा त सोँच्न पनि भएन, अब बाह्रै महिना तरकारी फलाएर बिक्री गर्ने सोँच बनाएको छु ।’

पुन र वली जस्तै वडा नम्बर २ का ४० जना कृषकहरुलाई एकै थलोमा राखेर बेमौसमी तरकारी खेती बारे तालिम दिएपछि सहभागी सबै निकै उत्साहित भएका छन् । सैद्धान्तिक ज्ञान लिएर अभ्यासपनि गर्न पाउँदा उनीहरू हौसिएका हुन् । ‘हिजोका दिमा जसरी तरकारी खेती गरियो, त्यो कुरालाई सुधार्ने मौका मिल्यो, अब सिकेको सीपलाई व्यवहारमा उतारेर बाह्रै महिना तरकारी फलाएर खाने र बेच्ने हौसला जागेको छ’, तालिममा सहभागी सुमित्रा अधिकारीले भन्नुभयो, ‘ग्रामीण महिला उत्थान केन्द्रले हामीलाई यति राम्रो कुरा सिकाएको छ, यसलाई खेर जान दिने छैनौँ ।’

यसैगरी, अर्का सहभागी दिलबहादुर खत्रीले बेमौसमी तरकारी खेतीका बारेमा धेरै कुरा सिक्न पाएको बताउनुभयो । सिकेको सीपलाई अब व्यवहारमा लागू गर्ने उहाँको भनाई थियो । वडा नम्बर २ को आर्थिक सहयोगमा ४० जनालाई दिईएको तालिममा बेमौसमी तरकारी गर्दा अपनाउनुपर्ने सावधानी, गर्नुपर्ने काम तथा सतर्कतालगायत प्राविधिक विषयमा प्रशिक्षण दिईएको छ । प्रशिक्षकका रुपमा ग्रामीण महिला उत्थान केन्द्रका श्रृष्टि शाह र हिमा पौडेल रहनुभएको थियो ।

ग्रामीण महिला उत्थान केन्द्रले यसअघि पारस्परिक जवाफदेहिता परियोजनामार्फत गठन गरेको स्थानीय सभामा आवद्ध कृषकले बेमौसमी तरकारी खेती तालिममा भाग लिने अवसर पाएका हुन् । रामपुर २ मा रहेका २० वटा टोलबाट एक टोल बराबर २ जना कृषकलाई तालिममा सहभागी गराईएको थियो । स्थानीय सभाको आयोजनामा आयोजित बेमौसमी तरकारी खेती सम्बन्धी तालिमबाट तरकारी खेती बारे सीप सिकाउने, उत्पादित तरकारी, बस्तुको महत्वका बारेमा जानकारी दिलाउने, कृषि ज्ञानका बारेमा बोध गराउने लक्ष्यका साथ कृषि कर्ममा जोड्न तालिम आयोजना गरिएको रामपुर स्थानीय सभाका संयोजक जयेन्द्र चौधरीले बताउनुभयो ।

Blog Post Ad

उहाँले तालिम पश्चात ४० जना कृषकसहित १८ सय घरधुरी किसानलाई पनि निशुल्क बीउबिजन वितरण गरिएको छ । २० वटै टोल विकास संस्थाका अध्यक्षहरुसँगको समन्वयमा तरकारीको बीउबिजन वितरण गरिएको उहाँले बताउनुभयो । तालिमको उदघाटनमा वडा नम्बर २ का अध्यक्ष चित्रबहादुर चौधरीले पारस्परिक जवाफदेहिता परियोजनामार्फत गठित स्थानीय सभाको काम कर्तव्य र अधिकार अनुसार स्थानीय सभाले थालनी गरेको काम निकै सराहनीय रहेको बताउनुभयो ।

उहाँले गाउँघरमा महिला दिदीबहिनी, दाजुभाइहरुलाई ज्ञान, सीपका कुरा सिकाउने, स्वास्थ्य उपचारदेखि बोल्न सिकाउने कुरा निकै आवश्यक रहेकाले आगामी दिनमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । समृद्ध वडा बनाउका लागि स्थानीय सभाको भुमिका महत्वपूर्ण रहेकाले आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । शुक्रबार तालिमको समापनका अवसरमा वडा नम्बर २ का वडा सदस्य शरद डिसीले ग्रामीण महिला उत्थान केन्द्रले हिजोका दिनमा गठन गरेको रामपुर स्थानीय सभाका सदस्यहरुलाई ज्ञान दिनुका साथै केही गर्नुपर्छ भन्ने भावनाका विकासमा हौसला दिने काम गरेको भन्दै वडाबासीहरुका लागि ठूलो अवसर भएको बताउनुभयो ।

तालिममा स्थानीय सभाका सदस्यहरु टोपेन्द्र डाँगी, खेमराज खनाललगायतले पनि विगतका अनुभव सुनाउँदै सिकेको सीप अब लागू गर्ने बताउनुभयो । तालिमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्रकी शिवा चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad