Ad Area

बढ्दो परनिर्भरता घटाउन सीपसहित प्रविधि हस्तान्तरण


घोराही, ११ चैत ।  लघुउद्यम प्रवद्र्धन गर्न तथा कृषकलाई व्यावसायिक तरकारी खेतीमा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ कृषकहरुका लागि ५ दिने व्यावसायिक तरकारी खेती सीप तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम गरिएको छ ।

घोराही उपमहानगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आयोजना तथावडा नम्बर ६ को संयोजनमा शनिबार गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तरगत पक्वैका स्थानीय महिलाहरुका लागि व्यावसायिक तरकारी खेती बारे तालिम तथा प्रविधि हस्तान्तरण गरिएको हो ।

थारु नमुना टोल विकास संस्थाकि सचिव मनकुमारी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यमा तालिम समापनसँगै प्रविधि हस्तान्तरण गरिएको छ । सो अवसरमा उपप्रमुख डिसीले सीपमा आधारित ज्ञानलाई अधिकतम उपयोग गर्दै नमुना कृषक बन्न अपिल गर्नुभयो । ‘मानिसले सीप सिक्न नपाएर भौतारिहरेका छन् । काम गर्न नजानेर दुख पाएका छन् । यो सीप यहाँहरुका लागि भोलिको भविष्य बनाउने आधार पनि हो’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकारले दिएको अवसरलाई सही रुपमा उपयोग गरेर आयआर्जन अझ बलियो बनाउने तर्फ ध्यान दिनुहोला । तपाईहरु समृद्ध बन्नु भनेकै पालिका समृद्ध हुनु हो ।’

प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले गाउँघरमा साना उद्यमबाट आयआर्जनमा जोड्न र सीपको विकास गर्ने काममा स्थानीय सरकार लागि परेको बताउनुभयो । सिपसँग प्रविधि पनि दिएको हुँदा यसको अधिकतम उपयोगमा लाग्न उहाँको सुझाव थियो । ‘सीप सिकेर आफुमा निहित राख्ने होईन, दैनिक जीवनमा प्रयोग गर्न सक्नुपर्छ, यसले सिकेको कुरा उपयोग हुन्छ भने त्यसबाट आर्थिक कृयाकलाप पनि हुन्छ’, उहाँले भन्नुभयो ‘स्थानीय सरकारले दिएको अवसरलाई सदुपयोग गरेर भोलिका दिनमा व्यावसायिक रुपमा लाग्न सक्ने हुनुहोला ।’

प्रशासन महाशाखा प्रमुख बासुदेव आचार्यले तालिममा सिकेको सिपलाई व्यवहारमा उतारेर आर्थिक उपार्जनमा टेवा पुर्याउन अपिल गर्नुभयो । उहाँले आगामि दिनमा आवश्यकतामा आधारित थप क्षमता विकासका प्राविधिक तालिमलाई पालिकाले प्राथमिकता दिने बताउनुभयो ।

Blog Post Ad

सो अवसरमा, उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाका प्रमुख ईश्वरराज पाण्डेयले बढ्दो परनिर्भरता घटाउन सिपमुलक कार्यक्रमलाई प्राथमिकता दिँदै आयआर्जनमा जोड्न तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले सिकेको सीपलाई व्यवहारिक जीवनमा लागू गर्न, बाँझो खेतबारीको भरपूर उपयोगमा लाग्न अपिल गर्नुभयो ।

प्रशिक्षार्थी बसन्ता चौधरीले व्यावसायिक तरकारी खेतीका बारेमा धेरै कुराको ज्ञान लिन पाएको हुँदा सिकेको सीपलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पाँच दिनको अवधिमा तरकारी खेतीका बारेमा आफुहरुले साँचेभन्दा धेरै कुरा सिक्न पाएको बताउँदै पक्वैका कृषक महिलाका लागि निकै उपयोगी भएको बताउनुभयो ।

३५ जना सहभागीहरुलाई प्रविधि अन्तरगत भिटामिन, किटनाशक औषधि, स्प्रे टंकी, प्राङगारिक मल, विभिन्न प्रकारका बीउबिजन निशुल्क वितरण गरिएको छ । सामग्री पाएपटि उनीहरु निकै उत्साहित भएका छन् ।

तालिमको प्रशिक्षकका रुपमा सरस्वती सुवेदी, शिवकमार देवकोटा रहनु भएको थियो । समापन कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता चन्द्रबहादुर थापाले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad