Ad Area

सामीको प्रयासले आप्रवासीको परिवारमा जागेको आत्मविश्वास


घोराही, ११ चैत । आप्रवासी परिवारलाई सहभागी गराएर सामी कार्यक्रमले घोराही ३ भैसकुर्मामा २१ हप्ताको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ । नेपाल सरकार र स्विस सरकारबीचको दुई पक्षीय सम्झौताअनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र घोराही उपमहानगरपालिकाको पहलमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो ।

वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएर आएका र वैदेशिक रोजगारमा जान लागेका व्यक्तिका परिवारका सदस्यलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा साथै मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरिएको हो ।

सामी कार्यक्रमले घोराही ३ मा वैदेशिक रोजगारमा संलग्न भएकाहरुको ३४ परिवारका सदस्यहरुलाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको कार्यक्रम संयोजक बसन्ता पुनले जानकारी दिनुभयो । ‘वैदेशिक रोजगारीबाट आएको पैसालाई कसरी सही ठाउँमा सदुपयोग गर्ने, पैसाले पैसा कमाउन सिकाउने, आम्दानी र खर्चको लेखाजोखा राख्ने, अनावश्यक खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, व्यवस्थित परिवार निर्माण गरी भविष्यमा खुसी र सुखी रहन प्रोत्साहित गर्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो ‘वैदेशिक रोजगारीका कारणले निम्तिएका घरेलु हिंसा न्यून गर्ने, बालबालिकाको भविष्यबारे सचेत गराउने, महिलामाथि हुने विभिन्न खाल का लाञ्छना र भेदभाव अन्त्य गर्ने, परिवार व्यवस्थापनलगायतका विषय समेटिएको कक्षा सञ्चालन गरिएको छ ।’

वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षाको २१ हप्ता पुरा गरेका अधिकांश सहभागीको दिनचर्यामा परिवर्तन देखिन थालेको प्रशिक्षार्थीहरुले बताएका छन् । शनिबार २१ हप्ते तालिमको समापनका अवसरमा उनीहरुले पहिला अरुको घरमा सागसब्जी मागेर वा किनेर खाने स्थानीय तालिममा सहभागी भएपछि आफै तरकारी खेती गर्न थालेको अनुभव सुनाए ।

कतिपयले आफूले उत्पादन गरेका तरकारी बिक्री गरेर आम्दानी लिन थालेका छन् । गाउँघरमा विदेशबाट हात परेको पैसालाई बैंक तथा वित्तीय संस्थामा बचत गर्ने बानीको विकास भएको छ । श्रीमानले विदेशमा दुःख गरेर पठाएको पैसालाई घर सम्हालेर बस्नुभएकाहरु सानातिना व्यवसायमा लगानी गर्न थालेको बताउनुभयो ।

Blog Post Ad

वडा नम्बर ३ रनघराकी टोपला केसीले श्रीमानले पठाएको पैसाले जग्गा किनेको तथा अरु पैसालाई वचत गरेर भोलिको भविष्यका लागि राख्ने गरेको बताउनुभयो । उहाँले श्रीमानको कमाईको मात्रै भर नपरेर घरमै कुखुरा, बाख्रा पालन गरेको बताउनुभयो । ‘विदेशमा कमाएको पैसाको मात्रै भर परेको छैन । मैले त दैनिक खर्च र आम्दानीको हिसाब राख्न थालेछु, कुखुरा, बाख्रापालनबाट केही कमाई पनि हुने गरेको छ, यसलाई अझ धेरै बनाउने सोँचमा छु’, उहाँले भन्नुभयो ‘खर्चलाई कम गरी आम्दानी बढाउने बारेमा ध्यान गएको छ ।’

सहभागी प्रशिक्षार्थीहरुले हुन्डीमा कारोबार नगर्ने, सीप सिकेर मात्रै वैदेशिक राजगारीमा जानुपर्ने, विदेश जाँदा कागजात र कानुनी पक्षका बारेमा स्पष्ट हुनुपर्ने, फजुल खर्च कम गरेर आयआर्जनका काम गर्ने बारेमा शिक्षा लिएको हुँदा अबका दिनमा विदेशको कमाईको मात्रै भर नपरेर केही आय आर्जनको काम गर्नुपर्ने व्यावसायिक योजना बनाउने बताउनुभयो । वित्तीय साक्षरता कक्षा लिएर धेरै कुरा सिकेको घोराही ३ भैसकुरकी नमा जिसीले बताउनुभयो । उहाँले वैदेशिक रोजगारले निम्त्याउने विभिन्न हिंसा बारेमा जानकारी लिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

सहभागीहरुले विदेशबाट पठाएको पैसाको सही उपयोग कसरी गर्ने, व्यावसायिक योजनाका बारेमा सचेतीकरण गर्ने तथा वैदेशिक रोजगारका क्रममा परिवारमा हुन सक्ने तनावलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा परामर्शको काम पनि भएको छ । ३४ जना सहभागी रहेको कक्षाको प्रशिक्षकका रुपमा वित्तीय साक्षरता सहजकर्ता रमा शर्मा र मनोसामाजिक परामर्श सुशीला आचार्य रहनुभएको थियो ।

सो अवसरमा, उपप्रमुख हुमा डिसीले आयआर्जनमा जोडिन सिकेको सीप र ज्ञानलाई उपयोग गर्न अपिल गर्नुभयो । उहाँले जाँगर बल चल्दासम्म कमाएको पैसाको सही उपयोग नगर्ने पछि बुढेसकालमा पछुताउने अवस्था नहुने गरी फजुल खर्च कटाएर थोरै पैसाबाट भएपनि वचत गर्ने बानीको विकास गर्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो ‘विदेशमा मरी मरी काम गर्ने पछि फर्किदा घरमा नत कमाई, न त परिवर्तन, न त बुढेसकालमा धन । यसो हुनु भएन । समयलाई चिनेर थोरै थोर गरेर भोलिका लागि वचत गर्नुपर्छ । यसका लागि शुरुवात आजैबाट गर्नुपर्छ ।’

प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले विदेशबाट पठाएको पैसाले घर खर्च चलाउने मात्रै नभईत्यसको बहुउपयोगको योजना बनाउन तर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो । ‘विदेशबाट फर्केर आएको भोलि पल्ट यहाँ सबै चिज सजिलो हुन्छ भन्ने छैन’, उहाँले भन्नुभयो, ‘तपाईको आफन्त विदेशबाट फर्केर आएपछि पनि दैनिकी सहज बनाउने लक्ष्यका साथ वित्तीय साक्षरता संचालन गरिएको छ, यो ठाउँलाई नमूनायोग्य बनाउने गरी अघि बढ्नुहोस् । यसका लागि स्थानीय सकारले के गर्नुपर्छ त्यो सोच्नेछ ।’

विदेशमा देखिने कुरा र वास्तविकता फरक हुने बताउँदै उहाँले रगत पसिना बगाएर परिवारको सुखको लागि कमाएको पैसाको सही उपयोग गर्न र त्यसबाट अधिकतम फाईदा कसरी लिन सकिन्छ भन्ने बारेमा वित्तीय साक्षरता कक्षाबाट सिकेको ज्ञानलाई भरपूर उपयोगमा लाग्न सुझाव दिनुभयो ।

वैदेशिक रोजगारको अवस्था, यसका आयाम र गर्नुपर्ने कामका बारेमा शिक्षा लिएपछि अब उनीहरुले हरेक महिनामा आफ्ना प्रगतिका बारे बसेर छलफल गर्ने भएका छन् । वचतका लागि खुत्रुके किनेका आप्रवासी परिवारका सदस्यहरुले खुत्रुके वचत गर्ने र बैठकमा आउँदा अनिवार्य रुपमा सबैले देख्नेगरी आफुसँग भए अनुसारको पैसा त्यही खुत्रुकेमा राख्ने भएका छन् ।

वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यका साथ संचालित सामी कार्यक्रम जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा आप्रवासी श्रोत केन्द्र स्थापना गरी संचालनमा रहेको छ । अन्यपालिकाहरुबाट वैदेशिक रोजगारमा गएका तथा जान चाहेकाहरुले पनि यिनै श्रोत केन्द्र तथा उपकेन्द्रहरुबाट सेवा तथा परामर्श लिने गरेका छन् ।

सामी कार्यक्रमले जिल्लाका चार स्थानीय तहमा सुचनामा पहुँच पुर्याउन आप्रवासी श्रोत केन्द्र र उपकेन्द्रबाट सुचना तथा परामर्शको काम गर्दै आएको हुँदा न्यायमा पहुँच, स्वदेश फिर्ताको सहजीकरण, मनोसामाजिक परामर्श, सेवाको सहजीकरण, वित्तीय साक्षरता कक्षा संचालन, बोर्डको सचिवालयबाट प्राप्त हुने आर्थिक सहायता र शैक्षिक छात्रवृत्तिको लागि सहजीकरण गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad