Ad Area

दाङमा क्षयरोगको जोखिम उच्च, वर्षेनी थपिँदै बिरामी


घोराही, १३ चैत । राप्ती गाउँपालिका वडा नम्बर ६ की सुशीला नेपालीलाई दुई वर्षअघि क्षयरोग लाग्यो । शुरुमा अरु समस्या होला भन्ने लागेर स्थानीय मेडिकलमा उपचार गर्दा निको नभएपनि स्वास्थ्य परिक्षण गरेपछि क्षयरोग पुष्टि भयो । शरीर दुब्लाएर हाड र छाला मात्रै भईसकेको अवस्थामा उहाँलाई क्षयरोग लागेको पुष्टि भएपनि चिकित्सकको सल्लाहमा नियमित औषधी सेवन गर्नुभयो । अहिले उहाँको शरीर पहिले कै जस्तो फुर्तिलो भएको छ । ६ महिना लगातार चिकित्सकको निगरानीमा डट्स विधिबाट औषधी सेवन गरेपछि सन्चो हुनुभएको छ ।

तुलसीपुर १७ की मोतीकुमारी खड्काले धुम्रपान सेवन गरेको धेरै हुन थाल्यो । सानै उमेरबाट धुम्रपान सेवन गर्न थाल्नुभएकी उहाँ अहिले ६५ वर्षको हुनुभयो । लत बसीसकेपनि उहाँलाई चुरोट छाड्न अप्ठ्यारो भयो तर त्यही लत नै क्षयरोगको कारण बन्यो । ८ महिना अघि उहाँलाई खोकी लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने, शरीर कमजोर हुँदै जाने समस्या बढ्दै गयो ।

गर्दागर्दा खकारमा रगत पनि देखिएपछि उहाँले स्वास्थ्य परिक्षण गराउँदा क्षयरोग लागेको पुष्टि भयो । चिकित्सको सल्लाहमा ६ महिना डट्स विधि अर्थात चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधी सेवन गरेपछि निको हुनुभयो । अहिले उहाँले धुम्रपान सेवन गर्न छाड्नुभएको छ । नेपाल सरकारले टिबीको उपचार निःशुल्क गर्दै आएको छ ।

दाङमा उहाँहरु जस्तै, विभिन्न कारणले क्षयरोगको सिकार हुने क्रम बढ्दो छ । वर्षेनी क्षयरोगीहरु फेला पर्ने गरेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । समयमै उपचारका लागि अस्पताल पुगेको र चिकित्सकको निगरानीमा सही रुपमा औषधी सेवन गरेका कारण उहाँहरु निको हुनुभयो । तर, कतिपय क्षयरोगीहरु अस्पतालसम्म नपुग्ने, लापरवाही गर्ने बानीले ज्यानसमेत गुमाउने गरेका उदाहरण छन् ।

दाङमा वर्षेनि क्षयरोगका बिरामी बढ्दै गएको देखिएको छ । नयाँ संक्रमित भेटिने र मृत्यु दर पनि उल्लेख्य रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । चालु आर्थिक वर्ष २०७९–०८० को बितेको ६ महिनामा मात्रै दाङमा क्षयरोगबाट २१ जनाले मृत्युवरण गरीसकेका स्वास्थ्य कार्यालय दाङका क्षयरोग फोकलपर्सन देवीलाल डाँगीले जानकारी दिनुभयो ।

क्षयरोगका लक्षणहरुमा दुई वा सोभन्दा बढी खोकी लाग्ने, सँगसँगै ज्वरो आउने, रातिमा पसिना आउने, दुब्लाउँदै जाने, खान मन नलाग्ने, खकारमा रगत देखिने जस्ता हुन्छन् । दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण पनि देखिन्छन् । ग्रन्थीमा क्षयरोग भएमा ग्रन्थीमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन्छन् ।

Blog Post Ad

स्वास्थ्य कार्यालय दाङका क्षयरोग फोकलपर्सन डाँगीले भन्नुभयो ‘मस्तिष्कमा भए टाउको दुख्ने, बान्ता हुने, बेहोश हुने जस्ता लक्षण देखिन्छन् । मुटुमा टिबी भए सास फेर्न गाह्रो हुन्छ, थोरै हिँड्दा थकान महसुस हुन्छ । क्षयरोगको निदानका लागि औषधि नै विकल्प हो, यसको अरु उपाय छैन ।’

उहाँका अनुसार दंगीशरण र राप्ती गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित चार दशमलव आठ प्रतिशतको मृत्यु भएको छ । तुलसीपुरमा तीन दशमलव पाँच, बबईमा तीन दशमलव दुई, घोराहीमा तीन र लमहीमा दुई दशमलव एक प्रतिशत संक्रमितको मृत्यु भएको छ ।

क्षयरोगका कारण मृत्यु हुने तीन प्रतिशत

जिल्लामा क्षयरोगका कारण मृत्यु हुने तीन प्रतिशत छ । स्वास्थ्य कार्यालय दाङले तयार पारेको तथ्यांक नियाल्दा समुदायमा क्षयरोगको समस्या यथावत छ । आर्थिक वर्ष २०७४–७५ देखि २०७९–०८० माघसम्मको क्षयरोग संक्रमणको दर हेर्दा घटेको देखिदैन । आर्थिक वर्ष २०७४–०७५ मा दाङमा ९ सय ४४ जना नयाँ बिरामी फेला परेका थिए । आर्थिक वर्ष २०७५–०७६ मा ८ सय २८ जना नयाँ बिरामी फेला परेका तथ्यांक छ ।

आर्थिक वर्ष २०७६–०७७ मा यो संख्या बढेर नयाँ संक्रमित ९ सय १५ पुगेको थियो । यसैगरी, आर्थिक वर्ष २०७७–०७८ मा ९ सय दुई जना नयाँ बिरामी फेला परेको तथ्यांक छ भने आर्थिक वर्ष २०७८–०७९ मा यो संख्या अस्वाभाविक रुपमा बढेर १ हजार ४ सय ५३ जना पुगेको थियो । यो वर्षको बितेको ६ महिनामा ६ सय ७५ जना नयाँ क्षयरोगका विरामी फेला परिसकेका छन् ।

नयाँ विरामी फेला परेसँगै पुरानैलाई दोहोरिने समस्या

नयाँ विरामी फेला परेसँगै पुरानैलाई दोहोरिने पनि देखिएका छन् । गत आर्थिक वर्षमा मात्रै दाङमा ७३ जनामा पुनः क्षयरोग देखिएको थियो । नयाँ संक्रमणको हिसावले लुम्बिनीमै दाङ दोस्रो धेरै क्षयरोगका विरामी रहेको जिल्ला हो । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको रेकर्ड हेर्दा जिल्लामा पाँच सय ९९ जना नयाँ क्षयरोगका बिरामी फेला परिसकेका छन् । जसमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा दुई सय १६ जना, तुलसीपुर उपमहानगरपालिकामा एक सय ६७ जना, बंगलाचुली गाउँपालिकामा २३ जना, शान्तिनगर र बबई गाउँपालिकामा समान २४–२४ जना, दंगीशरणमा २५ जना, लमही नगरपालिकामा ३८ जना, राप्ती गाउँपालिकामा ३७ जना, गढवामा ३५ जना र राजपुरमा १० जनामा क्षयरोग पुष्टि भएको छ ।

दाङमा क्षयरोगीहरुको उपचारका लागि ५० वटा डट्स केन्द्र, ३२ माईक्रोस्कोपी केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा जीन एक्सपर्ट केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डिआर केन्द्र, लमही अस्पताल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डिआर सव केन्द्र रहेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा मात्रै जीनएक्सपर्ट केन्द्र रहेकोमा प्रादेशिक अस्पताल तुलसीपुरमा समेत जीन एक्सपर्ट केन्द स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार, छोटो समयका लागि निगरानीमा डट्स ६ महिना खाए पुग्छ तर पूरा निगरानीमा खुवाउनुपर्छ । ‘यसका साईड इफेक्ट हुनेभएकाले निगरानी अनिवार्य छ । प्रकृया नपुगेमा विरामीको मृत्युपनि हुनसक्ने सम्भावना हुन्छ’ उहाँले भन्नुभयो ‘औषधी एक दिन नछोडुन् भन्ने हुन्छ, त्यसमा घरमा लगेर खान नदिने गरिएको छ । यसरी उपचार गर्दा निकै सचेत हुनुपर्छ किनभने औषधि २ देखि ३ महिना सम्म खाएपछि निको भएको जस्तो लाग्न सक्छ तर त्यसबेला औषधि खान छोड्नु हुदैन ।’

लामो अवधिको औषधी सेवन नगरिएको उहाँले बताउनुभयो । ‘कुनै कारणवश डट्सले काम गरेर वा अरु शारिरीक समस्या भए मात्रै १ वर्ष देखि २४ महिनासम्म खुवाउनुपर्ने हुन्छ’ उहाँले भन्नुभयो ‘क्षयरोग अति सूक्ष्म तथा आखाँले देख्न नसकिने किटाणुबाट हुने सरुवा रोग हो । क्षयरोग औषधि उपचारबाट पूर्ण निको हुन्छ ।’

क्षयरोगको लक्षण भएका तर माइक्रोस्कोपी केन्द्रमा नदेखिएको, क्षयरोगीले सेवन गर्ने रिफाम्पिसीन नामक औषधिले काम गरे नगरेको अवस्थाको जॉँच जीन एक्सपर्ट केन्द्रमा हुन्छ । अहिले जिल्लाको घोराही, तुलसीपुर, राप्ती, शान्तिनगर र राजपुरमा स्वास्थ्य संस्था भन्दा पैदल एक घण्टा टाढा भएका बिरामीलाई समुदायमै टिबीको औषधि खुवाउने कार्यक्रम लागु भएको छ । तर अब चाँडै नै जिल्लाका सबै पालिकामा लागु गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय दाङको भनाई छ ।

सरकारी तथ्यांकअनुसार नेपालमा हरेक वर्ष नयाँ पुराना गरी एक लाख १७ हजार क्षयरोगका बिरामी हुनेमा ६९ हजार नयाँ बिरामी थपिने गरेका छन् ।
जसमा हरेक वर्ष १७ हजारको क्षयरोगका कारण मृत्यु हुने गरेको अनुमानित तथ्यांक छ । मृत्यु भएका मध्येमा धेरैजसो ढिला उपचारमा पुग्नु र औषधि प्रतिरोधी क्षयरोगको समस्याका कारणले भएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

Blog Post Ad Blog Post Ad