Ad Area

व्यावसायिक अधिकार प्राप्तिका लागि नीजि क्षेत्र एकजुट हुनुपर्ने


घोराही, ११ चैत । नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले व्यावसायिक अधिकार प्राप्तिका लागि नीजि क्षेत्र एकजुट हुनुपर्ने बेला आएको बताउनुभएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको १८औँ साधारण सभा तथा ५३औँ स्थापना दिवसका अवसरमा शनिबार घोराहीमा आयोजित समारोहमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले पछिल्लो समय देशको अर्थतन्त्र झनपछि झन कमजोर बन्दै गएको बेलामा सरकारले आर्थिक संकट गहिरिनबाट बचाउन गम्भीरतापूर्वक काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको अर्थतन्त्र बलियो नभएसम्म राज्यका कुनै पनि निकाय सही ढंगले चल्न सक्दैन, अहिलेको परिवेशमा देशको अर्थतन्त्रले लिक छाड्न लागेको छ । सन्तोष गर्ने अवस्था छैन । यसको असर उद्योगी व्यवसायीले भोग्न बाध्य भएका छन् ।’

smart

अहिलेपनि राज्यले व्यवासायीमैत्री वातावरण बनाउन नसक्दा नीजि क्षेत्रमा लगानी कमजोर बन्दै गएको, आर्थिक चलायमान दिनानुदिन खस्किदै गएको तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘नीजि क्षेत्रको योगदानलाई राज्यले गम्भीरतापूर्वक कहिले पनि लिएन । यद्यपि, सरकारलाई  राजश्व बुझाउने प्रमुख क्षेत्र भनेकै नीजि क्षेत्र हो’ उहाँले भन्नुभयो ‘सरकारको गलत नीति र राष्ट्र बैंकको कारण देशको अर्थतन्त्र दैनिक रुपमा खस्किरहेको बेला राज्य संचालकको चेत खुल्नुपर्छ, हेरौँ, कहिले खुल्ने हो ।’

उहाँले व्यावसायिक सुरक्षा हुन नसक्दा अहिले थुुप्रै उद्योग, कलकारखाना बन्द हुने क्रम बढेको र व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको हुँदा सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । ‘व्यावसायिक चुनौति थपिनु त छदैछ, त्यसमाथि चर्को बैंक ब्याजदरले उद्योगी व्यवसायीहरु उठ्नै नसक्ने गरी थलिन लागेका छन्, यही अवस्था रही रहे नीजि क्षेत्र नराम्ररी धरासयी हुनेछ’, उहाँले भन्नुभयो, ‘राज्यले अबिलम्ब व्यावसायिक सुरक्षाको बारेमा ध्यान दिनुपर्छ, लगानीको वातावरण सिर्जना गरिनुपर्छ । लगानीमैत्री वातावरण बने मात्रै अर्थतन्त्रमा सुधार आउनेछ ।’

कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठले हिजोका दिनमा भन्दा अहिले व्यावसायिक चुनौति थपिँदै गएकाले सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । व्यवसायीलाई परेको समस्यामा व्यवसायीहरुबीच नै  गम्भीर बन्न सकेमा कोही कसैले हस्तक्षेप गर्न नसक्ने बताउँदै उहाँले अहिले मुलुकमा देखा परेको आर्थिक संकट समाधानका लागि नीजि क्षेत्रको बलियो आवाज उठ्न जरुरी रहेको जिकिर गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले व्यवसायीहरुको साझा समस्याका बारेमा आफु जानकार रहेको र हिजोका दिनमा आफुमार्फत सरोकार निकायमा गरिएको ध्यानाकर्षण पठाउने काममा सहजीकरण गरेको बताउनुभयो । जिल्लाको प्रशासकका रुपमा आफुले व्यवसायीहरुले उठाउँदै आएका समस्या जिल्ला तहबाट समाधान सम्भव नभएकाले केन्द्रमा जानकारी गराउँदै आएको बताउनुभयो ।

Blog Post Ad

यसैगरी, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत राजेन्द्र भण्डारीले पछिल्लो समय अर्थतन्त्रमा देखा परेको वित्तीय समस्याका कारण राजश्व संकलनदेखि करदाताको संख्यामा पनि असर गरेको बताउनुभयो । अहिलेको समस्या समाधानका लागि नीजि क्षेत्रले उठाउँदै आएका मुद्धाहरुका बारेमा वृहत बहस आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी, लुम्बिनी प्रदेश उपाध्यक्ष बालकृष्ण सुवेदी, वाग्मति प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य जमशेर अली मियाँ, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, देउखुरी उद्योगा वाािण्ज्य संघका अध्यक्ष खगेश्वर खनाल, निवर्तमान केन्द्रीय सदस्य ध्रुवराज श्रेष्ठ भारी, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टीकाराम खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरे पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी, स्थानीय राजनीतिक दल प्रमुख तथा प्रतिनिधिलगायतले बोल्नुभएको थियो ।

संघका अध्यक्ष टंकसिंह बुढाथोकीको अध्यक्षता तथा विषय प्रवेशबाट शुरुभएको कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले दिनुभएको थियो भने सहजीकरण महासचिव महेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।

यसैबीच, कार्यक्रममा अवसरमा व्यवसायीहरुबाट वाणिज्यतर्फ उत्कृष्ट व्यवसायीका रुपमा शोबीराम महतारा र उद्योगतर्फ हीरालाल विश्वकर्मा सम्मानित हुनुभएको छ । संघले यो वर्ष उत्कृष्ट कर्मचारीका रुपमा धनेश्वर शर्मालाई र संघको गतिविधिलाई मिडियामार्फत भुमिका खेलेको भन्दै पत्रकार नारायण नेपाललाई पुरस्कृत गरेको छ  । संघले स्थापना दिवसका अवसरमा यसअघि आयोजना गरेको विभिन्न मैत्रीपूर्ण कार्यक्रममा सहभागी भएकाहरुलाई पनि प्रमाण पत्रसहित सम्मान गरेको छ ।

Blog Post Ad Blog Post Ad