लम्पी स्किनले चिन्तित किसान, पशुमा फैलिँदै प्रकोप

घोराही, १५ चैत । दाङमा पशुमा लाग्ने लम्पी स्किन रोगको प्रकोप बढ्दै गएको छ । भाइरसबाट सर्ने रोग लम्पी स्किनका कारण जिल्लाका विभिन्न पालिकाका स्थानीय किसान निकै चिन्तामा परेका छन् । गाई–भैंसीलाई लाग्ने लम्पी स्किन रोग नेपाल भित्रिएको धेरै भएको छैन । खासगरी अहिले जिल्लाको बंगलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका केही वडालगायत पालिकामा रोगको प्रकोप बढेको पशुशाखाहरुको भनाई छ । भारत र बंगलादेशमा देखिएको यो रोग कृषि मन्त्रालयको हेलचेक्रयाइँले नेपालमा फैलिएको हो ।
लम्पी स्किन संक्रमणको उपचार हालसम्म पत्ता लागेको छैन । यसको रोकथामका लागि अरु पशुमा सर्नबाट रोक्नु नै हो । अहिले यो रोग जिल्लाको बंगलाचुली गाउँपालिकाको वडा नम्बर ४, ५, ६, ७ र ८ मा बढी मात्रामा देखा परेको छ । रोगका कारण बंगलाचुली ७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नम्बर ८ पाँचपोखरीका तिलकराम घर्ती मगर, गोठीवनका गुमानसिंह घर्ती मगरका गाई र गोरु बिरामी परेका छन् । उहाँहरुको जस्तै पालिकाका करीव २ सय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन् ।
पालिकाको वडा नम्बर ५ मुर्कुटीका नरबहादुर महरा, डम्मरबहादुर खत्री, यमबहादुर खत्रीलगायत स्थानीय दर्जनौँ किसानको गोठमा रोगले पशुलाई ग्रस्त पारेको छ । रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुने गरेको छ । उपचारमा खटिनुभएका पालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले प्राविधिकसहितको टोलीले उपचार गरिरहेको हूँदा अहिले प्रकोप कम हुँदै गएको बताउनुभयो ।
जिल्लास्थित पशु सेवा विज्ञ केन्द्रसँगको समन्वयमा बिरामी पशुको नमूना संकलन गरी क्षेत्रीय प्रयोग शाला सुर्खेत पठाएकोमा त्यहाँबाट लम्पी स्किन रोग पुष्टि भएको विज्ञ केन्द्रका भेटनरी अधिकृत भरत देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार, यसकोथप अनुसन्धानका लागि काठमाडौँ नमूना पठाईएको जानकारी आफुलाई आएको बताउनुभयो । उता, राप्ती गाउँपालिकाको वडा नम्बर ५, ७, ८ र ९ का विभिन्न बस्तीहरुमा लम्पी स्किन रोगले पशु थलिएका छन् । यहाँ ३ सय ५० भन्दा बढी गाईगोरु बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताउनुभयो ।
उहाँका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नम्बर ५ को करंगेकोट, थकरीकोट, वडा नम्बर ९ को घोसखोला, देवीकोटलगायत स्थानमा एक साताभन्दा बढी समय लगाएर उपचार गरेको छ । वडा नम्बर ५ थकरीकोटका मोहनलाल थापा, करंगेका कमानसिंह बुढा, वडा नम्बर ९ घोसखोलाको घुमाउनेका बालाराम हिस्की मगर, मनबहादुर हिस्की मगर, देवीकोटका मानबहादुर बिसीका गाई गोरु बिरामी परेका छन् । उहाँहरु जस्तै सयौँ किसानका पशु अहिले लम्पी स्किन रोगका कारण थलिएका छन् ।
अहिलेसम्म राप्ती गाउँपालिकाको रुपाकोट, घोसखोला लगायत स्थानमा ५ वटा पशु मरेका पशु सेवा शाखा प्रमुख पौडेलले बताउनुभयो । लम्पी स्किनका कारण राजपुर, लमहीलगायत ठाउँमा पनि समस्या बढ्दै गएको छ । ‘पहिले पहाडी क्षेत्रमा समस्या देखियो अब बिस्तारै तराई तिर सर्दै गएको छ,’ पशु सेवा विज्ञ केन्द्र प्रमुख सुदाम भट्टले भन्नुभयो, लम्पी स्किन एक प्रकारको बिफर जस्तै रोग हो ।
भाईरसका कारण रोग लाग्ने भएकाले उपचार छैन । रोकथामको प्रयास गर्ने हो । सबैभन्दा महत्वपूर्ण कुरा सावाधानी अपनाउनु नै हो ।’ दाङमा पशुबस्तुमा समस्या देखिएपछि के भएको हो भन्ने बारेमा पहिचान गर्न पनि समस्या रहेको उहाँले बताउनुभयो । ‘दाङ ल्याव छैन । सुर्खेत पठाउनुपर्छ, अहिलेसम्म त्यसैले हेरेको छ । उसले पनि नभ्याउने भए पछि केन्द्रमा पठाउने गरेको छ । यसले गर्दा पनि उपचारमा समस्या हुने गरेको छ’ उहाँले भन्नुभयो ‘यहाँ रोगले ग्रस्त बनाई सकेको हुन्छ, उता के भएको हो भन्ने थाहा पाउन कुर्नु परिरहेको हुन्छ ।’
घोराही उपमहानगरपालिका वडा नम्बर १९ का पहाडी क्षेत्रमा पनि लम्पी स्किन रोगका कारण किसान मारमा परेका छन् भने पशुलाई सास्ती भएको छ । रोगको प्रकोप बढ्दै गएका बेलामा स्थानीय सरकारले भने पशुको स्वास्थ्य सुरक्षाका बारेमा खासै चासो लिएका छैनन् । रोग लागेपछि पशुलाई निकै दुख हुने भएकाले रोग लाग्नबाट बचाउन बेलैमा सतर्कता अपनाउन, रोकथामका उपाय अपनाउन, सचेतना फैलाउन काम गर्नुपर्ने भएपनि चासो नलिएको राप्ती गाउँपालिका वडा नम्बर ५ करंगेकोटका कृषक थमन गाहाको गुनासो छ ।
‘रोग लागेर गोठका सबै गाईगोरु ढलेका छन्, बिरामी पशुको कसरी उपचार गर्ने होला भन्ने अन्यौल भएको बेलामा सहयोग गर्नुपर्ने हो’ उहाँले भन्नुभयो ‘बिरामी गाईबस्तुलाई सकेजति स्याहारेका छौँ ।’ राप्तीको पहाडी क्षेत्रमा देखिएको लम्पी स्किनको संक्रमण २, ३ र ४ मा पनि देखा परेको पशु सेवा शाखा प्रमुख पौडेलले बताउनुभयो ।