Ad Area

गरिवका लागि बनेका घर खाली


घोराही, १८ चैत । पाँच बर्षअघि दाङको बंगलाचुली गाउँपालिका–८ हाँसीपुरस्थीत जंगलको डाँडामा गरिव तथा बिपन्न परिवारका लागि ६ वटा घरहरु निर्माण गरिए । वडामा घर तथा जग्गा नभएका गरिव तथा विपन्न परिवार पहिचान गरेर राख्ने गरि दुई कोठे ६ वटा घरहरु निर्माण गरिएपनि ती घरहरुमा अझैसम्म कोही बस्न सकेका छैनन् ।

निर्माण गरेको लामो समयसम्म पनि घरहरू प्रयोग नहुँदा जीर्ण बन्नका साथै भत्किन थालेका बंगलाचुली गाउँपालिका–८ का वडा अध्यक्ष झविन्द्र गाहामगर बताउँनुहुन्छ । ‘वडा नं. ८ को हासीपुरमा बनाइएका सबै घर रित्तै छन्’, वडा अध्यक्ष गाहामगरले भन्नुभयो,‘बस्नका लागि उपयुक्त ठाउँ र घर नभएको भन्दै कोही पनि बस्न मान्नुहुन्न ।’ घर निर्माणका क्रममा उपयुक्त ठाउँको छनोट नहुँदा करोडौं रुपैया खर्च गरेर निर्माण गरिएका घरहरु अलपत्र परेको उहाँले बताउनुभयो । गाउँपालिकाले वडा कार्यालयलाई गरिब र असहाय पहिचान गरी बसाल्ने जिम्मेवारी दिएको थियो तर जंगलमा बनाइएका घरमा कसैले पनि बस्न नमान्ने गरेको वडा अध्यक्ष गाहामगर बताउनुहुन्छ ।

‘गरिव परिवारको पहिचान गरी बसाउने कोसिस गरेका थियौँ तर कोही पनि बस्न मान्नुभएन’, उहाँले भन्नुभयो,‘त्यसपछि ती घरहरु माध्यामिक विद्यालय हासीपुरमा अध्ययनरत विद्यार्थीका लागि होस्टेलका रुपमा प्रयोग ग¥र्यौ तर विद्यार्थी केही विद्यार्थी बिरामी भएपछि बस्न छोडे । कोही पनि बस्न नमानेपछि लामो समयदेखि घरहरु खाली नै रहेका छन् । उहाँले घरहरुको संरक्षण गर्ने समेत मान्छे नहुँदा एउटा घरको जग भासिनुका साथै अर्काे घरको पल्ला नै झरेको बताउनुहुन्छ । ‘एउटा घर कामै नलाग्ने गरि भत्एिको छ । अन्य घरका झ्याल र ढोकाका सीसा फुटेका छन्’,उहाँले भन्नुभयो,‘संरक्षण नहुने हो भने ती घरहरु काम नै नलाग्ने गरि विग्रिने अवस्था आउन सक्छ ।’

वडा नं. ८ मात्रै होइन वडा नं. २ मा पनि गरिवका लागि निर्माण गरिएका घरहरुको अवस्था उस्तै छ । वडा नं. २ को बढीपोखरामा पनि ६ वटा घरहरु अहिलेसम्म रित्तै छन् । घरहरु निर्माणसँगै गरिब तथा असहाय परिवार पहिचान गरिएपनि बस्न नमानेको वडाध्यक्ष मैते पुन बताउनुहुन्छ । ‘हाम्रो वडामा पनि ६ वटा घरहरु बनेका छन्, तर कोही पनि बस्न मान्नु भएको छैन्’, वडा अध्यक्ष पुनमगरले भन्नुभयोे, ‘कोही पनि नबसेका कारण घर जीर्ण बन्दै गइरहेका छन् ।’

उहाँका अनुसार सुरुमा स्थानीय दुई÷तीन परिवार बस्न थालेपनि पछि उहाँहरु पनि बस्न छोडेको बताउनुहुनछ । वडा नं. २ र ८ मा बनेका यी प्रतिनिधिमुलक घरहरु हुन । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा नमुना बस्ती निर्माण योजनाअन्तर्गत् बंगलाचुली गाउँपालिकाका चार स्थानमा दुई–दुई कोठे ३० वटा भूकम्प प्रतिरोधी प्रिफ्याव घरहरू निर्माण गरिएको थियो ।

संघीय सरकारको दुई करोड र बंगलाचुली गाउँपालिकाको एक करोड गरी तीन करोडको लागतमा निर्माण गरिएका अधिकांश घरहरू अहिले खाली अवस्थामा रहेका छन् । बस्नका लागि घरहरू उपयुक्त नभएको र बस्तीदेखि टाढा एकान्त ठाउँहरूमा घरहरू निर्माण गरिएका कारण अधिकांश घरहरु खाली रहेको स्थानीय बताउँनुहुन्छ । मानिसहरू नबस्दा कतिपय घरहरू भत्किन थालेका छन् ।

Blog Post Ad

बंगलाचुली गाउँपालिकाले पाँच बर्षअघि वडा नं. ५ मा १२, वडा नं. २, ६ र ८ मा ६–६ वटा घरहरू निर्माण गरेको थियो । निर्माण भएका ३० वटा घरमध्य ११ वटा घरहरूमा गरिब र असहाय परिवार मात्रै बसेको बंगलाचुली गाउँपालिकाका तुलसीराम पुनले बताउनुभएको छ ।

‘गाउँपालिकाको अघिल्लो नेतृत्वले बनाएका घरमा बस्नका लागि अहिलेको नेतृत्वले पनि गरिब परिवारलाई आह्वान गरिरहेको छ तर कोही पनि बस्न इच्छुक हुनुहुन्न’,गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो,‘जसको कारण बस्तीदेखि टाढा घरहरुसँगै पिउने पानीको अभाव र साघुरा कोठा भन्नुहुन्छ ।’ गाउँपालिका अध्यक्ष पुनका अनुसार खाली रहेका घरमा आर्थिक रुपमा विपन्न, घर जग्गा नभएका मानिसहरुलाई ल्याएर बसाल्ने प्रयत्न गाउँपालिकाले गरिरहेको बताउनुहुन्छ । उहाँका अनुसार तीन करोड लागत ३० वटा घर र १५ वटा शौचालय बनाइएको थियो ।

Blog Post Ad Blog Post Ad