Ad Area

‘आचारसंहिता उल्लङ्घनले प्रेस स्वतन्त्रता कमजोर’


दाङ, २० चैत । आचारसंहिताको उल्लङ्घनले प्रेस स्वतन्त्रता कमजोर बन्ने भएकाले पत्रकारसँगै सञ्चार माध्यमले आचारसंहिता पालना गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । उनीहरूले आचारसंहिताको पालनाले प्रेस स्वतन्त्रतालाई बलियो बनाउनुका साथै सञ्चार क्षेत्रको जनविश्वास समेत बढाउने बताएका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखाको व्यवस्थापनमा आइतवार घोराहीमा भएको सञ्चार माध्यममा आचारसंहिता पालना विषयक छलफल कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले प्रेस स्वतन्त्रता रक्षाका लागि आचारसंहिता पालनामा जोड दिनुपर्ने बताए । ‘प्रेस स्वतन्त्रता रक्षाका लागि पत्रकारसँगै मिडियाले अनिवार्य रूपमा आचारसंहिता पालना गर्न आवश्यक छ’, केन्द्रीय अध्यक्ष पोख्रेलले भने, ‘आचारसंहिताको उल्लङ्घनले प्रेस स्वतन्त्रतालाई कमजोर बनाउँछ, जसले गर्दा हरेक

पत्रकारले आचारसंहिता पालनामा जोड दिनुपर्छ ।’ आचारसंहिताका कार्यान्वयनका लागि स्वयम् पत्रकार सचेत रहन आवश्यक रहेको अध्यक्ष पोख्रेलको भनाइ थियो । राज्य र संसदरको प्राथमिकतामा मिडिया पर्न नसक्दा लामो समयदेखि बनेका ऐन, कानुन सही ढङ्गले कार्यान्वयन हुन नसकेको अध्यक्ष पोख्रेलले बताए । जसले गर्दा पछिल्लो समय सञ्चार संस्थाहरू कमजोर बन्नुका साथै बन्द हुने क्रम बढेको बताएका थिए ।

‘सरकार र संसद्को प्राथमिकतामा मिडिया पर्नसकेका छैनन् । जसले गर्दा धेरै पहिले बनेका ऐन र कानुन कार्यान्वयन हुनसकेका छैनन्’, महासंघका अध्यक्ष पोख्रेलले भने, ‘बनेका ऐन, नियमहरू कार्यान्वयन नहुँदा मिडिया क्षेत्रमा देखिएका समस्या समाधान हुनसकेका छैनन् ।’ उनले राज्यको उदासीनताका कारण सञ्चार क्षेत्रको अपेक्षाकृत रूपमा विकास हुन नसकेको बताए । सरकार बनेको कानुन कार्यान्वयन गर्न पनि डराउने गरेको भन्दै महासंघका अध्यक्ष पोख्रेलले सञ्चार क्षेत्र र पत्रकारहरूको दिगो विकासका लागि कार्यक्रमहरू ल्याउनुपर्ने बताएका थिए ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष संगीता खड्काले मिडियाको सवलीकरणमा राज्यको भूमिका हुनुपर्ने भए पनि विद्यमान ऐन कानुन बाधक भएको बताइन् । ‘मिडिया क्षेत्रको विकासका लागि जुन ढङ्गबाट पहल भएको छ, त्यो पर्याप्त छैन’, उनले भनिन्, ‘मिडियाको सवलीकरणसँगै विद्यमान ऐन कानुन परिमार्जन गरेर अघि बढ्न आवश्यक छ ।’ उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा आपूm आए पनि नियम कानुनको अभावका कारण श्रमजीवी पत्रकारले भोग्नु परेको समस्या समाधान गर्न नसक्ने अवस्था रहेको बताएकी थिइन् ।

‘समितिलाई सीमित अधिकार दिइएको छ, त्यसैले चाहेर पनि श्रमजीवी पत्रकारको पक्षमा काम गर्नसक्ने अवस्था छैन’, समितिका अध्यक्ष खड्काले भनिन्, ‘पुरानो सञ्चार ऐनले आफूहरूलाई अनुगमन गर्न अधिकार दिए पनि कारबाही गर्ने अधिकार छैन । त्यही कारण कामको प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ ।’ ऐन लागू भएको २८ वर्ष भइसक्दा पनि अझै पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै उनले परिवर्तित सन्दर्भमा समितिको नाम र अधिकार स्पष्ट खुलाउन अहिले संशोधनको प्रयास भइरहेको बताइन् ।

Blog Post Ad

प्रेस काउन्सिल सदस्य दीपक पाण्डेले आचारसंहिता कार्यान्वयनका लागि पत्रकारहरू सचेत हुनुपर्ने बताए । आचारसंहिताको पालनाले प्रेस स्वतन्त्रतासँगै पत्रकारिताप्रतिको विश्वास समेत बढ्ने बताए । उनले जथाभावी रूपमा लेख्ने प्रवृत्तिका कारण पछिल्लो समय सञ्चार क्षेत्र प्रतिको जनविश्वास घटेको भन्दै जनविश्वास कायम राख्न आचारसंहिता पालना अनिवार्य रहेको बताएका थिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले मिडिया क्षेत्रलाई भय र लोभबाट मुक्त नहुँदासम्म नैतिक स्खलन भइरहने र यसले सिङ्गो सञ्चार क्षेत्रलाई कमजोर बनाउने खतरा रहेको भन्दै त्यसतर्फ जिम्मेवार बन्न आवश्यक रहेको बताएका थिए । यसैगरी पत्रकारिता र मिडिया क्षेत्रको विकासका लागि राज्य उदार हुन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्र सेनानी सुशील गौतम, पूर्व अध्यक्ष केबी मसाल, पूर्व अध्यक्ष प्रताप रेग्मी, पूर्व अध्यक्ष एवम् सल्लाहकारहरू सुदीप गौतम, सविन प्रियासन, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् चलचित्र विकास बोर्डका सदस्य केएल पीडित, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मधुसूदन बैद्य, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेतलगायतले बोलेका थिए । नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।

Blog Post Ad Blog Post Ad