Ad Area

दाङमा ह्याचरी उद्योग, आधा बढी बन्द


अमरराज आचार्य
दाङ, २१ चैत । लमही नगरपालिका वडा नम्बर १ नर्तीमा रहेको खनाल पोल्ट्री एण्ड फिड इन्डस्ट्रिज करिब ३ महिनादेखि बन्द छ । आर्थिक तरलता तथा बैंकले गरेको व्याज वृद्धिका कारण ह्याचरी उद्योग बन्द भएको सञ्चालक खगेश्वर खनालले जानकारी दिए । जिल्लाका अन्य ह्याचरी पनि बन्द अवस्थामा रहेका छन् भने सञ्चालनमा रहेकाले पनि थोरै परिमाणमा मात्रै उत्पादन गर्दै आएका छन् ।

‘सञ्चालन गर्न नसक्ने अवस्था आएकाले उद्योग बन्द गरिएको हो’, सञ्चालक खनालले भने । उद्योग सञ्चालन गर्ने स्थिति नभएकाले बाध्य भएर ह्याचरी उद्योग बन्द गर्नुपरेको उनको भनाइ छ । समस्याको समाधान नहुँदासम्म सञ्चालनमा ल्याउन नसकिने उनी बताउँछन् । ‘सहज वातावरण नहुँदासम्म सञ्चालनमा ल्याउन सकिने अवस्था छैन’, उनले भने । उद्योग बन्द हुँदा आफू मात्र नभइ उद्योगमा काम गर्नेहरू समेत बेरोजगार हुन पुगेको उनले बताए । ‘उद्योगलाई कसरी सञ्चालनमा ल्याउने भन्ने चिन्ता छ’, उनले भने । सञ्चालनमा ल्याइने इच्छा मात्र भएर नहुने भएकाले समस्या भएको उनको भनाइ छ ।

‘उद्योग सञ्चालनमा ल्याउन पैसाले गर्दा समस्या भएको छ’, उनले भने । राज्यले ध्यान दिएर उद्योगहरू सञ्चालनमा ल्याउने वातावरण मिलाउनुपर्ने उनले बताए । अहिले आफनो मात्र नभइ जिल्लामा धेरै ह्याचरी उद्योगहरू बन्द भएको र सञ्चालनमा रहेकाले पनि थोरै मात्रामा उत्पादन गरिरहेको उनले बताए । लामो समयसम्म उद्योग बन्द हुँदा काम गर्ने मजदुर समेत रोजगारीका लागि विदेशिने हुँदा उद्योग सञ्चालन गर्दा आवश्यक मजदुर समेत नपाउने अवस्था आउन थालेको उनले बताए । ‘रोजगारका लागि धेरै मानिस विदेशिने गरेका छन्, अब पछि काम गर्ने मानिस नपाउने हो कि भन्ने चिन्ता पनि छ’, उनले भने ।

उद्योगमा १४ जनालाई रोजगार दिइएको थियो तर उनीहरू अहिले बेरोजार भएका छन् । उद्योगबाट हप्तामा २८ हजार चल्ला उत्पादन हुने गरेको थियो । खनालले पोल्ट्री क्षेत्रमा करिब २० करोड बढीको लगानी लगाएको बताउँछन् । विसं २०६८ सालदेखि पोल्ट्री व्यवसायमा संलग्लनता हुँदै आएका छन् । खुल्ला सिमानाका कारण भारतबाट सहज रूपमा कुखुरा भित्रिने भएकाले यहाँका पोल्ट्री व्यवसायी समस्यामा पर्ने गरेको खनालको भनाइ रहेको छ ।

जिल्लामा रहेका ह्याचरी उद्योगहरूले उत्पादन घटाएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङले जनाएको छ । जिल्लामा १८ वटा ह्याचरी उद्योगहरू रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दाङका सूचना अधिकारी कृष्णकुमार न्यौपानेले जानकारी दिए । जिल्लामा रहेका १८ वटा ह्याचरी उद्योगमध्ये ४÷५ वटा उद्योगले मात्र चल्ला उत्पादन गरेको उनको भनाइ छ । उनीहरूले पनि कोभिडपछि उत्पादन घटाएको सूचना अधिकारी न्यौपानेले बताए । ‘ह्याचरीहरूले चल्ला उत्पादन घटाउँदै लगेका छन्’, सूचना अधिकारी न्यौपानेले भने । पहिले एउटा ह्याचरीले हप्तामा ४० देखि ४५ हजारसम्म चल्ला उत्पादन गर्ने गरेको उनी बताउँछन् । यहाँको उत्पादन जिल्लामा मात्र नभइ जिल्ला बाहिर समेत पठाउने गरिएको थियो । ‘जिल्लामा पोल्ट्रीको राम्रो विकास हुँदै गएको थियो तर अहिले विभिन्न समस्याका कारण उत्पादन घट्दै गएको देखिएको छ’, सुचना अधिकारी न्यौपानेले भने ।

जिल्लामा पोल्ट्रीमा अर्ब बढी लगानी समेत भएको छ । पछिल्लो समय फस्टाउँदै गएको पोल्ट्री व्यवसायमा कोभिडपछि समस्या थपिँदै गएको यस क्षेत्रका जानकारहरू बताउँछन् । जसले गर्दा यस क्षेत्रमा काम गर्दै आएका व्यवसायीले समेत छोड्दै जानथालेका छन् । दाङ पोल्ट्रीका लागि देशकै चितवनपछिको दोस्रो जिल्लाको रूपमा आफ्नो पहिचान बनाएको थियो । मासु र अण्डामा आत्मनिर्भर समेत बन्न पुगेको थियो । यहाँ उत्पादन भएका ब्रोइलर कुखुरा तथा अण्डा जिल्ला बाहिर समेत पठाउने गरिएको थियो ।

Blog Post Ad

Blog Post Ad Blog Post Ad