Ad Area

कोइलाखानीको अध्यारो सुरुङमा ‘उज्यालो’ खोज्दै मजदुर


दाङ, २१ चैत । घोराही उपमहानगरपालिका–१३ संखेरी निवासी आशीष बुढा मगर कोइलाखानीको सुरुङभित्र काम गर्न लागेको १३ वर्ष बढी भइसकेको छ । पहाडका बीच–बीचमा खनिएका गहिरा सुरुङको अँध्यारोभित्र पसेर हरेक दिन कोइला खन्ने र निकाल्ने गर्छन् । हरेक दिनको बिहानीसँगै सुरुङभित्र पसेर कोइला खन्न लागेको पनि करिब आधादशक बढी भइसकेको आशीष बताउँछन् । उनकाअनुसार ४ सयदेखि ६ सय मिटर लम्बाई रहेका गहिरा सुरुङभित्र पसेर श्रम गर्ने उनको दैनिकी जस्तै छ । त्यहीँबाट कमाएको पैसाले घरव्यवहार चलाउने गरेका छन् । खानीभित्र पसेर कोइला खन्ने काम सहज नभए पनि घरव्यवहार चलाउन जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था छ ।

‘गैँती र हथौडाका भरमा सुरुङभित्र छिरेर ढुङ्गालाई पन्छाउँदै कोइला निकाल्ने हो’, आशीष भन्छन्, ‘सुरुङभित्र ठूलो र खुल्ला ठाउँ भए खन्न पनि सजिलै हुन्छ, होयन भने अँध्यारोमै कतै निहुरिनुपर्छ त कतै बसेर खन्नुपर्छ ।’ खन्दा सुरुङ भत्किने जोखिम समेत हुने भएकाले जोखिमपूर्ण ठाउँमा ढुङ्गा तथा काठको टेको समेत हाल्नुपर्ने उनी बताउँछन् । ‘सुरुङभित्रको बाटो साँघुरो, उकालो र ओरालो हुन्छ । कतै निहुरिएर हिड्नुपर्छ’, उनले भने, ‘भित्र अँध्यारो पनि हुन्छ, अँध्यारो ठाउँमा टर्च–लाइट बालेर कोइला खन्ने हो ।’ कोइलाखानीमा काम गर्नु जोखिमपूर्ण छ भन्ने कुरा थाहा भए पनि घरपरिवारका लागि खर्च जुटाउन काम गर्नुपर्ने बाध्यता रहेको आशीषले बताए ।

खानीभित्र पर्याप्त अक्सिजन नहुने र हावापानीभित्र नपस्ने समस्याले गर्दा सुरुङभित्र लामो हथौडा र गैतीले काम गर्दा उकुसमुकुस हुनुका साथै छिट्टै थकानको महसुस हुने गरेको घोराही उपमहानगरपालिका–१९ राम्चेको सुरुङमा कोइला खन्ने काम गर्दै आएका संगीत गुरुङ बताउँछन् । ‘सुरुङमा जो कोही मान्छे पस्नै सक्दैनन्, सुरुदेखि नै काम गर्दै आएका मानिसले नै भित्र पसेर खन्नेदेखि बोकेर बाहिर ल्याउने काम गर्ने गर्नुहुन्छ’, उनले भने, ‘हावा नछिर्दा सुरुङभित्र उकुसमुकुस हुन्छ । नयाँ मानिसहरू भित्र पस्नै डराउनुहुन्छ तर हामी त काम गर्दागर्दै बानी परिसकेका छौँ ।’ त्यसैमाथि कोइला खन्दाखन्दै कतिबेला सुरुङ भत्किन्छ पत्तो हुँदैन ।

सुरुङभित्र कहिलेकाहीँ भत्किने वा ढुङ्गा खस्ने समस्या हुने भएकाले मजदुरहरूले सावधानी अपनाएर काम गर्नुपर्ने अवस्था रहेको गुरुङ बताउँछन् । जोखिमपूर्ण काम भए पनि दैनिक १३ सयदेखि १५ सयसम्म कमाई हुने गरेको छ । ‘खानीमा काम गर्ने कामदारले आफ्नो सुरक्षा आफै अपनाएर काम गर्ने हो’, उनले भने, ‘कम्पनीले काम गर्दा लगाउने सुरक्षा सामग्री दिने गरेको छैन ।’ उनकाअनुसार कोइलाखानीको सुरुङभित्र पसेर काम गर्नु जीवन र मुत्युसँग खेल्नुजस्तै भएको बताउँछन् ।

Blog Post Ad

‘पहाडका बीच–बीच भागमा खनिएका लामा र गहिरा सुरुङभित्र पसेर कोइला खन्नु भनेको जीवन र मृत्युसँग खेल्नुजस्तै हो’, गुरुङले भने, ‘यो अत्यन्त जोखिमपूर्ण काम हो तर परिवार पाल्न गर्नैपर्ने बाध्यता छ ।’ उनकाअनुसार सुुरुङभित्र विभिन्न बाटा भए पनि मजदुरहरू पस्ने र फर्कने मूलबाटो एउटै हुन्छ । कहीँकतै ठूलै माटो वा ढुङ्गा खसेर बाटो बन्द भए जीवनको बाँकी बाटो पनि बन्द हुने खतरा रहेको घोराही उपमहानगरपालिका–१२ निवासी अर्का कामदार नरेन्द्र रानामगर बताउँछन् ।

जोखिमपूर्ण काम भए पनि घरपरिवार पाल्नका लागि विगत १४–१५ वर्षदेखि नै नियमित रूपमा विभिन्न खानीमा काम गर्दै आएको उनी बताउँछन् । ‘यहाँ मात्रै होइन, मैले पाल्पादेखि दाङकै बंगलाचलीमा रहेका अन्य खानीमा समेत काम गरेको छु’, नरेन्द्रले भने, ‘खानीमा कोइला खन्ने र बोक्ने काम जोखिमपूर्ण भए पनि हामी बानी परिसकेका छौँ ।’ उनकाअनुसार खानीभित्र खन्नु मात्रै नभएर खनेको कोइला पिठ्यूँमा बोकेर बाहिर पु¥याउनु पनि उत्तिकै कठिन काम भएको बताउँछन् ।

‘सुरुङभित्र खन्ने काम मात्रै होइन, पिठ्यूँमा ५० केजीको कोइलाको भारी बोकेर बाहिर निकाल्न पनि कठिन हुन्छ’, उनले भने, ‘सुरुमा त काम गर्न असाध्यै गाह्रो हुन्छ तर विस्तारै बानी पर्दै गइन्छ ।’ जिल्लाको उत्तरी क्षेत्रमा अग्ला–अग्ला पहाडले आशीषलाई मात्रै होइन घोराही उपमहानगरपालिका वडा नं. १९ का राम्चे, तिर्साङ, तोस, सैघा, बोल्दी, छिपन, बोक्सिनी भीर, ठाडा, ज्यामिरे, भुल्केलगायत वडा नं. १२ र १३ का स्थानीयका लागि समेत रोजगारीको अवसर बन्ने गरेका छन् तर कोइलाखानीमा काम गर्न सुरक्षाका कुनै उपाय नअपनाउँदा ज्यान नै जाने खतरा रहेको कामदार बताउँछन् ।

उनीहरू त प्रतिनिधिमूलक पात्र मात्रै हुन । उनीहरूजस्तै धेरै कामदारहरू पहाडका सुरुङभित्र पसेर कोइला खन्नेदेखि खनेको कोइला बोक्ने काम गर्दै आएका छन् । २०५२ सालदेखि उत्खनन् सुरु गरिएका यी पहाडमा अहिले १२ ठाउँबाट कोइला उत्खनन् भइरहेका छन् । वडा नं. १९ को तोस र राम्चेमा रहेका कोइलाखानी सबैभन्दा पुराना र गहिरा खानी रहेको कामदार बताउँछन् । तोसमा ३५ देखि ५ सय मिटर र राम्चेमा चार सयदेखि पाँच सय मिटरसम्म गहिरो खानी छन् । केही सुरुङ बन्द भए पनि धेरै जसो खानी सञ्चालनमै रहेका छन् ।

कोइलाखानी यी गाउँका रोजगारी र आम्दानीको स्रोत त बनेको छ तर यसले थुप्र्रै परिवार उजाडेको पनि छ । कोइलाखानीमा काम गर्ने अधिकांश स्थानीय र केही रोल्पाको सीमा क्षेत्रका मजदुर छन् । गाउँका स्थानीय पुरुषदेखि महिला र बालबालिकाले कोइलाखानीमा काम गर्ने गरेको स्थानीय देवीबहादुर घर्ती मगर बताउँछन् । ‘गाउँमा गरिबी छ, रोजगारी छैन’, स्थानीय बुद्धिजीवी घर्तीले भने, ‘परिवार पाल्न, घर चलाउन पुरुषदेखि महिलाहरू खानीमै काम गर्नुहुन्छ ।’

पहाडी क्षेत्र भएकाले अन्नपात उत्पादन नहुने र परिवार पाल्नका लागि खानीकै काममा भर पर्नुपर्ने बाध्यता रहेको बताउँछन् । बितेको ११ वर्षमा जिल्लाका विभिन्न कोइलाखानीमा ६ जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका विभिन्न स्थानमा कोइलाखानीको काम हुँदै आएको छ ।

Blog Post Ad Blog Post Ad