Ad Area

घर नक्सा बनाउने नाममा ठगी


घोराही, २१ चैत । उपमहानगरपालिका क्षेत्रभित्र निर्माण भएका भवनहरूको नक्सापास अभिलेखिकरण तथा कैफियत निर्माण सम्पन्न गर्नेबारे घोराही उपमहानगरले गत फागुन २८ गते सूचना जारी गर्यो ।

सूचनामा घोराही उपमहानगरपालिकामा समावेश भएका साविकका गाउँ विकास समिति तथा नगरपालिकामा घर नक्सा पास प्रावधान नभएको तत्कालिन अवस्थामा निर्माण भएका तथा सो भन्दापछि सम्पूर्ण घोराही उपमहानगरपालिकाभित्र नक्सा पास नगरी वा स्वीकृत नक्सा भन्दा फरक रुपमा निर्माण भएका भवनहरुको घर नक्सा अभिलेखिकरण तथा कैफियत निर्माण सम्पन्न दिइ करको दायरामा ल्याउन पालिकाको नगर सभाबाट घोराही उपमहानगरपालिकाको भवन निर्माण अनुमति तथा इजाजत सम्बन्धी कार्यविधि, २०७५ संसोधन भई नक्सा पास नगरी वा स्वीकृत नक्सा भन्दा फरक रुपमा निर्माण भएका भवनहरुको घर नक्सा अभिलेखिकरण तथा कैफियत निर्माण सम्पन्न दिने व्यवस्था गरे बमोजिम निर्माण भएका घरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ९० दिन अर्थात आगामी जेठ २६ गतेसम्म कागजातसहित दरखास्त दिई असार मसान्तसम्म प्रमाणपत्र लिइसक्न अनुरोध गर्यो ।

सोही सूचनालाई आधार बनाएर पालिकामा केही कन्सल्टेन्सीले पालिका र वडासँगको समन्वय बिनानै घरघरमा पुगेर आफु पालिकाले खटाएको व्यक्ति भन्दै सस्तोमा घरनक्सा बनाई दिने र पास गर्न सहजीकरण गरिदिने प्रलोभन दिएर पैसा उठाएको पाईएको छ । एक समुहले सुचनाको गलत प्रयोग गर्दै गाउँगाउँमा आफ्ना कर्मचारी खटाएर घर नक्सा बनाउनुभएको छ की छैन ? बनाउनुभएको छैन भने हामी पालिकामा गएर बनाउने खर्चभन्दा यही सस्तोमा काम गरिदिन्छौँ भन्दै पचास हजार रुपैयाँसम्मको बार्गेनिङ गर्ने गरेको तथ्य बाहिरिएको छ ।

घोराही ३ भानपुरका कृष्ण चौधरीलाई आफुहरु घोराही उपमहानगरपालिकाबाट खटिएर आएको कर्मचारी भन्दै अफरका रुपमा सस्तोमा घरनक्सा बनाई दिने लोभ देखाएर केही पैसा समेत लिएका छन् । पुष्पा दमाई, शान्तराम चौधरीको अवस्था पनि कृष्ण चौधरीको जस्तै छ । शुरुमा घरमा आएर सस्तोमा घरनक्सा बनाएर पास गराई दिने आश्वासन पाएपछि काम गराउन आफुहरु तयार भएको उनीहरुको भनाई छ । ‘पालिकाले खटाएको होकी होईन भन्ने ध्यान दिएनौँ, काम राम्रैका लागि हुन लागेको होला भन्ने लाग्यो विश्वास गरेर पैसा पनि दियौँ’, अग्रिम पैसा दिएका एक स्थानीयले भन्नुभयो, ‘हामीले घोराही उपमहानगरपालिकाले नै खटाएका कर्मचारी होलान् भनेर विश्वास गरेका हौँ तर कुरा अर्कै पो रहेछ ।’ घोराही १८ की सपना सुनारलाई आफुहरु पालिकाबाट खटाईएको कर्मचारी भन्दै घरनक्सा बनाई दिने आश्वासन लिएर केही व्यक्ति घरमै पुगे । आफुले नक्सा पास गर्न पाईने भयो, काम सजिलै सेवा पाईने भयो भन्दै उत्साहित हुनुभएकी सपनालाई पनि पालिकाले नै खटाएका कर्मचारी होलान् भन्ने लाग्यो ।

नक्सापास गर्न धेरै पैसा लाग्ने तर आफुहरुले सस्तोमा काम गरिदिने बताएपछि आफन्तीसँग सल्लाह लिँदा उनीहरु पालिकाले खटाएको व्यक्ति नभएको चाल पाएपछि प्रहरीलाई खबर गर्नुभयो । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले ३ जना महिलालाई आईतबार नियन्त्रणमा लियो । उनीहरुको साथबाट केही प्रमाण पनि बरामद भएको छ । रजिष्टरमा विभिन्न व्यक्तिबाट ५५ हजार रुपैयाँ लिईसकेको देखिन्छ । खोज अनुसन्धान गर्दै जाँदा उनीहरुले कुन कन्सल्टेन्सीका लागि काम गर्दै थिए भन्ने बताउन सकेनन् । आफुलाई काममा लगाउने व्यक्तिको बारेमा नियन्त्रणमा परेका महिलाहरुले प्रहरीलाई जानकारी गराए ।

घोराही उपमहानगरपालिकालाई घटनाको बारेमा जानकारी गराएपछि कन्सल्टेन्सीका बारेमा यकिन अवस्था खुल्न सकेन । तर, फिल्डमा खटाउनेको बारेमा सोधखोज गर्दै जाँदा प्यूठानका अर्जुन बस्नेतले खटाएको भन्ने पत्ता लाग्यो । अर्जुनले घोराही उपमहानगरपालिकाबाट आकाभ ईन्जिनियरिङ कन्सल्टेन्सीका नाममा २०७६ मंसीर १७ गते व्यापार व्यवसायको इजाजत लिएको देखिएको छ । जसमा सिभिल इन्जिनियरिङ, निर्माण कार्य, सम्भाव्यता अध्ययन आदिको इजाजत दिईएको पत्रमा राजश्व शाखा प्रमुख कृष्णकुमार केसीले दस्तखत गरेर जारी गर्नुभएको छ ।

Blog Post Ad

भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखा, पूर्वाधार विकास महाशाखाका अनुसार कुनै पनि कन्सल्टेन्सीलाई पालिकाको वडा वडामा खटाउने काम भएको छैन । तर, अर्जुन बस्नेतले २०७६ मा लिएको इजाजतका आधारमा नवीकरण नगरी आफु खुशी बिना प्रमाणका जनशक्तिलाई फिल्डमा खटाएको पाईएको हो । पूर्वाधार महाशाखाका प्रमुख युवराज पौडेलले २०७६ जेठ ५ देखि २०७६ असोज ५ सम्म अभिलेखीकरणको काम भएपनि त्यसयता नभएको बताउनुभयो । ‘जनगुनासो आएपनि अवस्था बुझ्दा समस्या रहेको पाईएको उहाँको भनाई छ । पालिकाले कोही कसैलाई खटाएर काम गर्नुस् भनेको छैन, होईन’, उहाँले भन्नुभयो, ‘के कति कारणले गाउँगाउँमा गएर पालिकामा गएर काम गर्ने हो भने महंगो शुल्क लाग्छ, हामी घरमै आएर सस्तोमा घरनक्साको काम गर्छौँ भन्दै काम गर्न थालेछन्, पालिकाको सूचनालाई गलत व्याख्या गरियो । यसो गरिनु हुँदैन ।’

जिल्ला प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार, अर्जुन बस्नेतले पालिकामा यसरी काम गर्न पाउने वा नपाउने भन्ने बारेमा सोधखोज भईरहेको छ । ‘फिल्डमा खटिएकाहरुले आफुहरु पालिकाले खटाएको कर्मचारी भनेकाले यसको आधारसहितको राय माग गरेका छौँ, कागजले सबै कुरा बोल्दैन’, उहाँले भन्नुभयो ‘फिल्डमा नियम संगत काम गरेको जस्तो देखिएको छैन, सही रुपमा काम गरेको भए गुनासो आउने थिएन, ३ जनालाई नियन्त्रणमा लिनुपर्ने पनि थिएन ।’ सबै धारणासहितको राय मागेको हुँदा आज मंगलबार सबै पक्षलाई कार्यालयमा बोलाईएको उहाँले बताउनुभयो ।

घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले नागरिकले आफ्नो भौतिक सम्पत्तिको प्रयोग गर्न संस्थागत काममा समस्या भएको गुनासो गरेपछि टेबल दस्तुर लिएर भएपनि घर अभिलेखीकरण गर्न खोज्दा गलत सूचना प्रवाह गर्ने काम भएको बताउनुभयो । ‘पालिकामा कति घर छन् । कस्ता घर छन् भनेर हामीले यो अभियान चलाएको हो’, उहाँले भन्नुभयो ‘राम्रो काम गर्न खोज्दा गाउँ गाउँ टोलटोलमा पुगेर सूचनाको गलत व्याख्या गरेर सस्तोमा घरनक्सा बनाई दिन्छु भन्दै भ्रम फैलाएर पैसा असुल्ने काम गर्न थालिएछ, यो तरीका गलत हो ।’

उहाँका अनुसार, इजाजत जारी भएयता उक्त कन्सल्टेन्सीले व्यवसाय नवीकरण पनि गरेको छैन । ५० हजारसम्म मागे भन्ने गुनासो आएको उहाँले बताउनुभयो । अब समस्या नहोस् भन्नका लागि वडालाई सचेत गराउने काम भएको उहाँको भनाई छ । हरेक काम वडाको सिफारिस बिना नहुने भएपनि गिरोह लगाएर गलत काम गर्न थालेपछि पालिकाले यसबारेमा चासो लिएको नगरप्रमुख चौधरीले बताउनुभयो । उता, आकाभ कन्सल्टेन्सीका संचालक अर्जुन बस्नेतले आफुले इजाजत लिएर काम गरेको दावी गर्नुभएको छ ।

कुनै पनि कामका लागि इजाजत लिएपछि कोही कसैलाई जानकारी गराउनु आवश्यक नठानेर कर्मचारीलाई गाउँगाउँमा पठाएर काम थालनी गरेको बेलामा आफुलाई दोषी देखाएर अरु कन्सल्टेन्सीले फाईदा उठाउन खोजेको आरोप लगाउनुभयो । पालिकाले पनि ९० दिनको सूचना जारी गरेर बाँकी एक महिनामा घरनक्साको प्रमाण पत्र लिन भनेर भ्रम छरेको बताउँदै आफ्ना इन्जिनियर र कन्सल्टेन्सीलाई कमिशनको लोभमा काम दिन खोज्दा आफुले गरेको कामलाई अवैध देखाउन यस्तो गरिएकोतर्क गर्नुभयो ।

‘कमिसनको जालो छ, यहाँ भित्रभित्रै इन्जिनियरहरु एक अर्कासँग मिलेका छन्, घोराहीमा ३५–४० वटा कन्सल्टेन्सी छ, घरनक्सा बनाउने काम हामीले नै गर्ने हो तर, कमिशनको चक्करमा कसले मोलमोलाई गर्न सक्छ भन्ने मात्रै हो’, उहाँले भन्नुभयो, ‘पालिकाको घर नक्साको काममा ५–६ वटा कन्सल्टेन्सीको सिण्डिकेट छ, उनीहरु अरुले काम पाओस् गरोस् भन्ने चाहन्नन् ।’ फागुन २८ गतेको सुचनापछि पालिकामा ३ सय ४८ जना अभिलेखिकरणका लागि दर्ता भएका छन् । साविक घोराही नगरपालिकामा रहेका घरहरुको दस्तुर तेब्बर छ भने पालिकामा गाभिन आएका पालिकाहरुको दस्तुर चलनचल्तीमा लिने गरेको छ । यसैगरी, घोराहीमा साउनदेखि हालसम्म २ सय २० घरनक्सा पास भएको छ । अघिल्लो वर्ष ३ सय ९६ नक्सापास भएका थिए ।

Blog Post Ad Blog Post Ad