Ad Area

घोराहीको महेन्द्र आधारभुत विद्यालय दलजीतपुरमा आर्थिक अपचलन !


घोराही, २३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको महेन्द्र आधारभुत विद्यालय दलजीतपुरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा आर्थिक अपचलन भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जुद्धबहादुर केसी र प्रधानाध्यापक दामोदर लामिछानेले गत असोजमा विद्यालयको नाममा रहेको खाताबाट २ लाख रकम निकासा गरी लामो समय अपलचन गरेको तथ्य भेटिएको हो । जानकारीमा आए अनुसार विद्यालय व्यवस्थापन समिति अध्यक्ष केसीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि विद्यालयको नाममा रहेको सार्वजनिक पैसा चेक काट्न लगाई दुरुपयोग गरेका हुन् । ‘दशै अघि विद्यालयको खाताबाट पैसा झिकेको तथ्य छ, २ लाख अपचलन भएको देखिन्छ’, स्थानीय घनश्याम केसीले भन्नुभयो ‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा आर्थिक चलखेल भएको रहेछ, हामीले ढिलो थाहा पायोँ ।’
वडा नम्बर ५ का वडा अध्यक्ष विवेक बुढाथोकीले विद्यालयको अवस्था बारे चासो लिएपछि घटना बाहिरिएको हो । ‘वडा अध्यक्ष बुढाथोकीले विद्यालयको जिन्सी, नगदलगायत भौतिक अवस्थाका बारेमा चासो राखेर सोधेपछि आर्थिक चलखेल भएको तथ्य बाहिरियो’, एक स्थानीयले भन्नुभयो, ‘प्रधानाध्यापक लामिछानेसँग विद्यालयको खातामा कति पैसा छ, अवस्था के छ भन्ने बारेमा सोध्दा जवाफ नदिएपछि शंका पैदा भयो, त्यसपछि पैसा मिलेमतोमा निकालिएको कुरा आयो ।’

उहाँका अनुसार, बैंक खातामा पैसाको अवस्था बारे प्रधानाध्यापक लामिछानेले जवाफ नदिएपछि खाता नम्बर माग्दा पनि दिन आनाकानी गरेपछि भोलि पल्ट विद्यालयको सबै अवस्था बारे जानकारी गराउन समय दिएपछि प्रधानाध्यापकले विव्यस अध्यक्षलाई खातामा रहेको पैसा निकालेको बताउनुभयो ।

श्रोतका अनुसार, विद्यालय व्यवस्थापन समितिले कुनै पनि निर्णय नगरी आफु खुशी एकलौटी ढंगले प्रधानाध्यापक लामिछाने र विद्यालयका लेखा हेर्दै आएका शिक्षक चुडामणि केसीले चेक काटेर विव्यस अध्यक्षलाई रकम बुझाएका हुन् । लेखापालसमेत रहनुभएका शिक्षक केसीसमेतको मिलेमतोमा प्रधानाध्यापक लामिछानेले २ लाख हिनामिना गरेको भेटिएको हो ।

सो रकम विद्यालयको कुनै पनि प्रयोजनमा खर्च भएको देखिएको छैन भने रकम निकासा गर्दा माईन्युट पनि भएको छैन । चेक काट्ने शिक्षक चुडामणिले प्रधानाध्यापकले केही फरक पर्दैन, विव्यस अध्यक्षले आफ्नो व्यक्तिगत खर्चका लागि पैसा चाहिएको हुँदा आवश्यक परेर मागेकाले दिने हो, कुरा गुपचुप राख्नु पछि मिलाउँला भनेपछि आफुले चेक काटेको वडा अध्यक्ष बुढाथोकीलाई बताउनुभएको थियो । विद्यालयको सार्वजनिक रकमलाई अपचलन गर्दा पनि विद्यालय प्रशासनले लामो समय कुरा गोप्य राखेर लुकाउन खोजेपनि तथ्य बाहिरिएपछि घोराही उपमहानगरपालिकाले पनि परिस्थितीलाई गुपचुपमै मिलाउन खोजेको पाइएको छ ।

पुस २० गते पाँचौँ संस्करणको मेयरकप उदघाटनका बेलामा महेन्द्र आधारभूत विद्यालयको खातामा रहेको पैसा विव्यस अध्यक्षले अपचलन गरेपछि कानून अनुसार कारवाही हुनुपर्ने माग राख्दै निवेदन परेपनि पालिकाको सामाजिक विकास शाखाले यसको औपचारिक सोधीखोजी गरेको छैन ।

Blog Post Ad

मौखिक रुपमा के कति कारणले यस्तो भएको हो भन्ने बाहेक अरु केही पनि नसोधेको सामाजिक विकास महाशाखाका शाखा अधिकृत घनश्याम वलीले बताउनुभयो । ‘हामी कहाँ लिखित उजुरी पनि आएको छैन, बाहिर बाहिर सुनेको भरमा के भएको हो भनेर सोधेका हौँ, विद्यालयले पनि केही जवाफ फर्काएको छैन’, उहाँले भन्नुभयो, ‘विद्यालयको खातामा रहेको पैसा निकासा भएको भए विव्यसको बैठकले निर्णय गरेको हुनुपर्छ, के प्रयोजनका लागि निकाल्न लागेको हो, त्यो पनि खुल्नुपर्छ, तर यहाँ केही पनि देखिएको छैन ।’

सामाजिक विकास महाशाखाका अर्का अधिकृत नारायणप्रसाद पौडेलले विव्यस अध्यक्ष र प्रधानाध्यापकले विधि र प्रकृया मिचेर काम गरेको बताउनुभयो । ‘हरेक कुराको विधि प्रकृया हुन्छ, विद्यालयको खातामा रहेको पैसा यसरी आफु खुशी निकासा गरेर मनलाग्दी काम गरेपछि समस्या हुन्छ नै, त्यसमा पनि यसरी काम गरेर गुपचुपमा राखेर लामो समय व्यक्तिगत प्रयोजनमा पैसा चलाउनु हुदैनथ्यो । किन यसो गरे उनीहरुनै जानुन्’ उहाँले भन्नुभयो, हामी कहाँ लिखित उजुरी परेको भए सोही अनुसार कारवाही अघि बढ्थ्यो होला ।’ महाशाखा प्रमुख विनोद गौतमले भने आफुलाई यो विषयमा जानकारी नै नभएको बताउनुभयो । कुन विद्यालयमा के भएको हो भन्ने बारेमा आफु अनभिज्ञ रहेको उहाँको भनाई छ ।

सामाजिक विकास महाशाखाका अनुसार घटना बारे पालिकाले पनि चासो लिएपछि प्रधानाध्यापक लामिछानेले पुसको अन्तिममा २ लाख रकम विद्यालयको बैंक खातामा फिर्ता गर्नुभएको छ । सो रकम उजुरी परेको भनेको तीन दिनपछि अर्थात चार महिनापछि बैंक खातामा पैसा फिर्ता आएको हो । यद्यपि, सो रकम विव्यस अध्यक्षले दिएको हो या प्रधानाध्यापक आफैले दवाब परेपछि बैंकमा दाखिला गर्नुभएको हो, सो बारेमा खुलाईएको छैन ।

जानकारीमा आए अनुसार पालिकाको नगर शिक्षामा लिखित उजुरी परेको हो तर उजुरी कता हरायो, यो अर्को अनुसन्धानको विषय बनेको छ । सामाजिक विकास समिति संयोजक राममणि पाण्डेले घटनाको बारेमा सोधखोज गरेर आन्तरिक रुपमा कारवाही गरिएको बताउनुभयो । उहाँले महेन्द्र आधारभूत विद्यालयमा विव्यस अध्यक्ष र प्रधानाध्यापकबाट कमजोरी भएको बताउँदै आवश्यक कारवाही नगर शिक्षाले गरिसकेको जानकारी दिनुभयो ।

उहाँको भनाई अनुसार, सो विद्यालयबाट प्रधानाध्यापक लामिछानेलाई नजिकैको अर्को विद्यालयमा सरुवाको प्रकृया अघि बढाईएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्षको हकमा भने अझै ठोस प्रकृया अघि बढेको छैन । घटनाबारे भित्रभित्रै गाइँगुइँ चलेपछि ढाकछोप गर्न पालिकाका केही कर्मचारी र जनप्रतिनिधि नै सक्रिय भई लागेको बताईएको छ । जसका कारण घटना भएको लामो समय भईसक्दा पनि विद्यालयको बेथिति बाहिरिएको थिएन ।

नगर शिक्षा समितिको फागुन पहिलो साताको बैठकले १९ वटै वडामा एक–एक वटा नमूना विद्यालय बनाउने गरी विद्यालय छनौट गरेकोमा सो विद्यालय पनि वडा नम्बरबाट नमूना विद्यालय बनाउनेमा परेको छ । सोही आधारमा नयाँ संरचना अनुरुप विद्यालय व्यवस्थापन समितिको चयन प्रकृया अघि बढाउने तयारी भएको छ । तर, काम भएको छैन । जसका कारण हाल सोही विद्यालय व्यवस्थापन समितिले काम गर्दै आएको छ ।

विद्यालयको सार्वजनिक सम्पत्तिको सही उपयोग गर्न, शैक्षिक गुणस्तर बढाउन तथा प्रशासनिक सुधारमा ध्यान दिन विद्यालय व्यवस्थापन समितिको भूमिका हुनुपर्नेमा व्यक्तिगत स्वार्थमा लिप्त हुन थालेपछि विद्यालयको सुधार त परैको कुरा भएका उपलब्धी पनि जोखिममा पर्ने वडा अध्यक्ष विवेक बुढाथोकीले बताउनुभयो ।

नमूना विद्यालय बनाउने गरी पालिकाको नगर शिक्षाले काम अघि बढाउन लागेको बेलामा विव्यसको कार्यशैली, प्रधानाध्यापकको भूमिका प्रति प्रसस्त आशंका उब्जिएको स्थानीयको भनाई छ । स्थानीयबासी भन्छन्, ‘घटना भएको लामो समय भईसक्दा पनि खोई कसैलाई कारवाही भएको थाहा भएन, यसरी सरकारी पैसा निकालेर आफु खुशी पैसा चलाउनेलाई किन कारवाही नगरेको ?’ घटनालाई ढाकछोप नगरी अथार्थ बस्तुस्थितीका बारेमा सार्वजनिक गर्न र आवश्यक कानूनी कारवाही प्रकृया अघि बढाउन स्थानीयले माग गरेका छन् ।

Blog Post Ad Blog Post Ad